काठमाडौँ, १ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाईसमेत ध्यान दिइएको बताउनुभयो । सरकारले आजदेखि सबै विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गराएको छ । प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालय बन्द रहँदा समग्र शैक्षिक सत्र प्रभावित हुने भएकाले बन्दाबन्दीको अवधिमै सूचना प्रविधिका माध्यमबाट पठनपाठनको शुरुआत गरिएसँगै अवको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अवको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा विश्वास व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाइ सामग्री व्यवस्था गरेको र आगामी दिनमा पाठ्यसामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने बताउनुभयो । बन्दाबन्दी खुकुलो पारिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले साना नानीहरुको सिकाइको थलो समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुक बिग्रँदैछ छ कि ? भनेर युवाहरुले विभिन्न माध्यमबाट राखेको चासोप्रति मेरो ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक आन्दोलनका आधारमा सामाजिक न्यायसहितको संविधान स्थापना र स्थिर सरकार गठन भएकाले अब मुलुकमा कुनै पनि आन्दोलनको आवश्यकता छैन ।” (रासस)
शुभकामना मन्तव्यको पूर्णपाठ-----
विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमा
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्य
१ असार २०७७
प्यारा विद्यार्थी भाइ बहिनीहरु,
– विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्नेथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् । गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन ।
– भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ । सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफना कारणले आफु मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुन सक्छन् । हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ ।
– विद्यालयहरु सिकाइका सामुहिक केन्द्र हुन् । लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ ।
– विद्यालय तहका सबै भाई बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु ।
आदरणीय अभिभावकहरु,
– कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलता सँगै केही अवसर पनि सिर्जना हुँदैछ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ ।
– प्रविधि, अब हाम्रा घर÷घरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ ।
– यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन । त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ ।
– सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने,
– रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने,
– टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने,
– कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने,
– र, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने ।
– यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ ।
दिदीबहिनी तथा दाजुभाईहरु,
– कतिपयले आफना पुर्खाको पौरख सम्झदैनन् । मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए । हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिलाएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ र सम्मान गर्नुपर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ ।
– वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोड भन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लगानी हो । भविष्य माथिको लगानी हो । एउटा अभिभावकले आफनो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवश्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो ।
– त्यसैले तपाईहरुले आर्जन गरेको ज्ञान र सीप आफुलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्दछ ।
– हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ । उनीहरु आफनो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ । आफनो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्दछ ।
– आफ्नो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ ? त्यसलाई केलाउने र बुझनु सक्ने हुनुपर्छ । त्यसलाई अन्त्य गर्न आफु के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमी÷व्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी ....स्वयं दृढ निश्चियी हुनुपर्छ ।
– भनिन्छ, सफलताको रहस्य इमान्दारी हो । सफल हुनका लागि इमान्दार हुनै पर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । तर सबैभन्दा पहिले आफुप्रति इमान्दार हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुने ? जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ । मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ ।
– हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ । भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ ।
– झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रका लागि लड्यो । नयाँ प्रणाली प्राप्तीका लागि आफनो जीवन समर्पित गरयो । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ । मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ । यो पुस्ता स्वभावतः बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश÷दुनियाँका विषयमा जानकार पनि छ ।
– मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?
– आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।
– अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।
– अन्त्यमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो ।
– त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ ।
– अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ ।
– अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ ।
– जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने नै छन । विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ ।
– यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु ।
– म सबै बालबालिकाहरुलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु ।
उज्ज्वल भविष्यको शुभकामना सहित,
धन्यवाद ।