NP EN

प्रम ओलीद्वारा पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी समकक्षीलाई दिए बधाई

काठमाडौं, ३० साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्।

इस्लामिक रिपब्लिक पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई ट्वीट मार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिएका हुन्।

ओलीले स्वतन्त्रता दिवसका लागि प्रधानमन्त्री खानको सरकार र इस्लामिक गणतन्त्र पाकिस्तानका जनतालाई बधाई समेत दिएका छन्।

पाकिस्तान सन् १९४७ अगष्ट १४ दिन बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो। त्यही दिनलाई पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ।