संयुक्त राष्ट्र संघको ७५औं महासभाका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले
दिगो विकास लक्ष्यसम्बन्धी विशेष कार्यक्रम (SDG Moment) मा दिनुभएको वक्तव्य
शुक्रबार, १८ सेप्टेम्बर २०२०
महामहिम राष्ट्र प्रमुख तथा सरकार प्रमुखज्यूहरू,
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसज्यू,
प्रतिनिधिमण्डलका विशिष्ट सदस्यज्यूहरू।
सर्वप्रथम, यो उच्चस्तरीय कार्यक्रम आयोजना गर्नुभएकोमा संयुक्त राष्ट्र संघका महासचिवप्रति सराहना प्रकट गर्न चाहन्छु।
अत्यन्तै गम्भीर घडीमा हामी यस बैठकमा सहभागी भइरहेका छौ। कोभिड-१९ द्धारा सृजित महामारीले जनजीविका धरासायी बनाएको छ; अर्थतन्त्र विश्रृङ्खलित भएका छन्; सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीमा गम्भीर दबाव पर्न गएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा त दिगो विकास एजेन्डा २०३० हासिल गर्न यसको कार्यान्वयन दशकमा प्रवेश गर्दै गर्दा यस महाव्याधिले कार्यान्वयनको गतिलाई विथोलिदिएको छ। चुनौतिहरू थपिएका छन् भने वर्तमान अवस्था र लक्ष्यबीचको खाडल गहिरिएको छ।
तथापि, यो समय लक्ष्यबाट विचलित हुने वेला होइन न त आत्तिएर लक्ष्यबाट पछि हट्ने बेला नै हो ।
हालको असहज परिस्थितिबाट पार हुन दिगो विकासका लक्ष्यलाई भावी दिशाबोध सूचकको रूपमा लिनुपर्दछ।
महामहिमज्यूहरू,
नेपालले लिएको विकासको दुरदृष्टि तथा प्राथमिकताहरूको केन्द्रमा दिगो विकास रहेको छ। यो "समृद्ध नेपालः सुखी नेपाली " को हाम्रो राष्ट्रिय आकांक्षाको आधार पनि हो।
दिगो विकासका लक्ष्यहरूलार्इ हामीले राष्ट्रिय योजना तथा कार्यक्रमहरूमा मुलप्रवाहिकरण गरेका छौं। ती लक्ष्यहरूलाई हाल स्थानीयकरण गरिंदैछ।
दिगो विकासको लक्ष्यमा हामिले गरेको प्रगतिलाई प्रतिबिम्बित गरी सन् २०२० को जुलाईमा हामीले संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक मञ्चमा स्वेच्छिक राष्ट्रिय पुनरावलोकन प्रतिवेदन प्रस्तुत गर्यौं।
गरिबी निवारण, खाद्य सुरक्षा, शिक्षा, लैङ्गिक समानता, आधारभूत सरसफाई तथा उर्जाको पहुँच लगायतका मुलभूत क्षेत्रमा हामिले उल्लेखनीय उपलब्धी हाँसिल गरेका छौं। संविधानमा प्रत्याभूत गरिएका मौलिक हक र स्वतन्त्रता नेपाली जनताले उपभोग गरिरहेका छन्।
तथापि, चुनौति तथा कमीहरू अद्यापि छन्। वर्तमान् स्वास्थ्य संकटले कठिन प्रयत्नबाट हासिल उपलब्धि तथा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने हाम्रो योजनालाई जोखिममा पारिदिएको छ।
अति कम विकसित मुलुक, भुपरिवेष्ठित अति कम विकसित मुलुक तथा साना विकासशील टापुराष्ट्रजस्ता विशेष अवस्थामा रहेका मुलुकहरूलाई यस कोभिड-१९ महाव्याधिले अरूलाई भन्दा बढी प्रभावित पारेको छ।
ती मुलुकहरूको स्थिर अर्थतन्त्र, घट्दो राजश्व, बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी तथा बेरोजगारीले दिगो विकासका लक्ष्यहरूको प्राप्तिमा गम्भीर प्रभाव पारेको छ ।
कोभिड-१९ लाई सम्बोधन गर्न विश्वस्तरमा भएका पहल तथा सहयोगका उपायहरूको हामी स्वागत गर्दछौ।
तर, ती पर्याप्त भने छैनन्।
यी सहयोगका उपायहरूलाई सन् २०३० को दिगो विकास एजेन्डा, भियना कार्ययोजना, इस्तानबुल कार्ययोजना, आदिस एजेण्डा तथा पेरिस संझौतासँग आवद्ध गर्नु उत्तिकै महत्वपूर्ण छ।
यसका लागि सबै तहमा सबै सरोकारवालाले नारा भन्दा पनि कामलार्इ तीव्रत्तर पार्नु अत्यन्त जरूरी छ।
दिगो विकासका लक्ष्यको यो कार्यान्वयन दशकमा पुनर्स्थापनाका हाम्रा कार्यहरूलाई दिगोपनामा केन्द्रित गर्दै अघि बढ्ने सजकतापूर्ण आशाको सन्देश दिनु पर्दछ।
निष्कर्षमा, कोही पनि पछाडि नछुटेको सुनिश्चित गर्न तथा अझ बढी सबलता निर्माण गर्न हाम्रो सामुहिक प्रयासमा नयाँ तदारुकता तथा जवाफदेहिता हुनु महत्वपूर्ण हुन्छ।
धन्यवाद !