NP EN

कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रम ओली

काठमाडौँ, २७ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण  र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले  कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न  गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।”

वातावरण संरक्षण र प्रकृतिप्रति सजग एवं जिम्मेवार हुने शिक्षा विद्यालय तहदेखि नै समावेश गरिने बताउँदै प्रधानमन्त्री ओलीले  सुरक्षित  र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक,  न्यायपूर्ण र  समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने छ भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताउनुभयो ।

प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ छ । (रासस)