NP EN

चोभारस्थित ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास

काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताउनुभयो । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उहाँले भन्नुभयो, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाइएको बताउनुभयो । “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उहाँले भन्नुभयो, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु ।”

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उहाँले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

पछिल्ला समय सत्यभन्दा स्वार्थ ठूलो भइरहेकाले समाजमा द्वन्द्व बढ्दै गएको भन्दै उहाँले स्वार्थको भन्दा पनि सत्यको पुजारी बन्न अपिल गर्नुभयो । स्वार्थ हावी हुँदा आफूले देश र जनताका पक्षमा काम गर्दा पनि कुनै पक्षबाट सहयोग नपाएको प्रधानमन्त्रीले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अब कुनै पनि नेपालीले असुरक्षा र अभाव महसुस गर्नु नपर्ने बताउनुभयो ।

“अब कसैले पनि म हेपिएँ, ठगिएँ, असुरक्षित र अभावग्रस्त छु भन्ने महसुस गर्नु पर्दैन, सरकार आवश्यक र औचित्यका आधार तथा जैविक र न्यायोचित रुपमा प्राप्त गर्नुपर्ने कुरा पूरा गर्न तयार छ ।” चन्दा नदिएकै भरमा केही अवाञ्छित तत्व व्यक्ति हत्यामा उत्रिएका भए पनि सरकार हत्या, हिंसा रोक्न क्रियाशील रहेको बताउनुभयो । सबैले निर्भय भएर बाँच्न पाउने वातावरण सिर्जना गरिने उहाँको भनाइ थियो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफू सो क्षेत्रमा सर्वदलीय संयन्त्रमा रहँदैदेखि नै विहारको विकासमा लागेको जानकारी गराउँदै ज्येष्ठ नागरिक आवास गृहको निर्माणमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विहारका प्रमुख डा अनोजा गुरुमांले ज्येष्ठ नागरिकलाई सम्मान र सुविधाका लागि रु ३० करोडको लागतमा आवासगृह निर्माण गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आवासगृह निर्माण गर्न धर्मपत्नी राधिका शाक्यका तर्फबाट रु पाँच लाख सहयोग उपलब्ध गराइने घोषणा गर्नुभएको थियो । विहारले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन विपश्यना ध्यान तथा जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । (रासस)