NP EN

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीबाट त्रिविको ४६औं दीक्षान्त समारोहलाई संबोध

६ पुस २०७७

यस समारोहका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यू,
त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष,
रजिष्ट्रार एवम् विद्वान् सभासद्हरू,
प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी,
सञ्चारकर्मी मित्रहरू, महिला तथा सज्जनवृन्द ।

कोडिभ–१९ का कारण उत्पन्न विषम परिस्थितिका बीच पनि आज हामी त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहको  आयोजना गर्दैछौं । यस परिस्थितिका बाबजुद पनि विश्वविद्यालयको दीक्षान्त समारोह जस्तो पावन अवसरमा उपस्थित भएर कुलपतिका हैसियतले सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । आज विश्वविद्यालयका विभिन्न विषय र तहका उपाधि प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी एवं आजको समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइसहित सुखद् र सफल भविष्यको शुभकामना व्यक्त गर्दछु ।

मुलुकको जेठो विश्वविद्यालयको रूपमा रहेको यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय छ । यस किसिमको गरिमा बोकेको विश्वविद्यालयको दीक्षान्त समारोहमा पूर्व राष्ट्रपतिज्यू उपस्थित हुनु भएकोमा विश्वविद्यालय परिवारको तर्पmबाट यहाँप्रति म हार्दिक आभार प्रकट गर्दछु । यस अवसरमा यस विश्वविद्यालयले नेपालमा उच्च शिक्षाको क्षेत्रमा पु¥याएकोे असाधारण योगदानको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । यस अभियानमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विश्वविद्यालयको नेतृत्व लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसले केही वर्ष यता गरेका प्राज्ञिक, प्रशासनिक र व्यवस्थापकीय सुधारका लागि पनि बधाई दिन चाहन्छु । यस अवसरमा मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन हुन् भन्ने कुरा स्मरण गर्न चाहन्छु ।  

हाम्रा कतिपय स्रोत र सामथ्र्यको सीमाका कारणले गर्दा अथवा भर्नौ हाम्रो सामथ्र्यले झेल्न नसक्ने खालका चुनौतीहरूका कारणले त्रिभुवन विश्वविद्यालयका केही स्वाभाविक कमीकमजोरीहरू रहेका पनि होलान् तर पनि यस विश्वविद्यालयले विश्व स्तरकै जनशक्ति उत्पादन गरेको छ । हाम्रो उत्पादनले विश्वमा प्रतिस्पर्धा गर्न सक्षमता हासिल गरेको छ । यसरी हाम्रा उत्पादनले दुनियाँका विश्वविद्यालयहरूबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धाका साथ अघि बढ्न सकेकोमा म खुशी व्यक्त गर्दछु । यो पक्कै पनि ठूलो उपलब्धि हो र हाम्रो लागि गौरवको कुरा हो । यस अर्थमा त्रिभुवन विश्वविद्यालयको प्रशंसा गर्न चाहन्छु । 

शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनु पर्दछ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्दछ । त्यसै भएर कतिपय विकसित मुलुकहरुमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने म ठान्दछु । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनु पर्दछ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानु पर्दछ । 

मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहन्छ भन्ने मलाई लाग्दछ । हाल त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको विदितै छ । र, आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने देखिन्छ ।

विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालय सामु रहेको एउटा चुनौती हो भन्ने मलाई लाग्दछ । संख्यात्मक बृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको टड्कारो आवश्यकता हो । यसलाई त्रिभुवन विश्वविद्यालयले ध्यान पु¥याउने नै छ भन्ने कुरामा म विश्वस्त छु ।

त्रिविको नेतृत्वले विश्वविद्यालयभित्र भौतिक एवम् शैक्षिक सुधार गर्नुको साथै विद्यार्थी कल्याणसम्बन्धी धेरै कार्य गर्दै विश्वमा अन्य प्रतिष्ठित विश्वविद्यालय एवम् शैक्षिक संस्थासँग सहकार्य गरेर विश्वविद्यालयको स्तरोन्नतिमा सुधार ल्याउने प्रयास गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । त्रिभुवन विश्वविद्यालयको स्तर अझै माथि उकास्न संलग्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको अथक परिश्रमको आवश्यकता छ । यसका लागि सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको विश्वास यस अवसरमा म दिलाउन चाहन्छु ।
त्रिभुवन विश्वविद्यालयबाट आज दीक्षित हुने सबै विद्यार्थीहरूका लागि यो दिन विशेष महत्वको छ । आफ्नो जीवन र परिवारको भविष्य निर्माण गर्नुका साथै देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईंहरूको सपना आज साकार भएको छ । र, तपाईंहरूले आफ्ना अभिभावकहरूको सपना पनि पूरा गर्नुभएको छ । तपाईंहरूले आर्जन गर्नुभएको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बनोस्, उत्तरोत्तर प्रगति तथा उज्व्वल भविष्यका लागि सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

दीक्षित विद्यार्थीहरूले आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ निभाउनु हुनेछ भन्ने विश्वासका साथ त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमै अगुवा विश्वविद्यालय बन्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । 

आज हामी एउटा भिन्न परिस्थितिमा छौं । आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । सोहीअनुसारको प्रणालीलाई संरक्षण गरी समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई अघि बढाउन अनुकूलको संविधान हामीले बनाएका छौं । हामी यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र समृद्ध बनाउने चरणमा छौं । यसका लागि संविधानले परिकल्पना गरेबमोजिमका संरचनाहरू तयार पार्ने र तिनलाई युक्तिसंगत हिसाबले चलायमान गराउने आवश्यकतामा छौं । ती संरचनाहरूलाई देश र जनताको हित एवं अग्रगमनको पक्षमा सदुपयोग गर्दै अगाडि बढ्ने अवस्थामा छौं । तर यस्तो अवस्थामा देशमा आफ्ना माग र असन्तुष्टिहरू प्रस्तुत गर्ने फरक तरिका हुनु आवश्यक छ । हिजो जस्तो आज प्रणाली विरुद्धको आन्दोलन आवश्यक छैन । आज भर्खरै स्थापित प्रणालीभित्रै रहेर आवश्यक सुधार र परिवर्तनका मागहरू उठाउन सकिन्छ । हिजो प्रणाली विरुद्ध गरिएका आन्दोलन र आज प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र आफ्ना समस्याहरू समाधान गराउने बाटो निश्चित रुपमा फरक हुनु पर्दछ । त्यसका लागि संवाद र सहकार्य हुन सक्छ । यस्ता गतिविधिहरू शान्तिपूर्ण हुनु पर्दछ  । अन्य प्रकारका गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन् ।  र, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलमलाउन नखोज्न सम्बद्घ सबैको म ध्यानाकर्षण गर्न चाहन्छु । 

अन्त्यमा, आजको दीक्षान्त समारोहको अवसरमा आफ्नो महत्वपूर्ण समय दिनुहुने प्रमुख अतिथिज्यू, विश्वविद्यालयमा महत्वपूर्ण योगदान गर्ने नेतृत्व लगायत सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू, पत्रकार बन्धुहरू तथा अन्य सबै सहयोगीहरूप्रति आभार प्रकट गर्दछु ।

धन्यवाद ।