NP EN

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी, १२ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो ।

प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री आइपुग्दा उहाँलाई सर्वसाधारणले समेत स्वागत गरेका छन् ।

पुल उद्घाटनपछि उहाँले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गर्नुभएको छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ । (रासस)