NP EN

प्रधानमन्त्री ओलीबाट छाउनीस्थित कोभिड–१९ विरुद्धको खोप केन्द्र अवलोकन

काठमाडौँ, १४ माघ: प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जानु भई त्यहाँ सञ्चालित कोभिड–१९ खोप केन्द्रको सेवा प्रवाह र गतिविधिबारे अवलोकन गर्नुभएको छ । सरकारले उक्त अस्पताललाई यसअघि नै कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकेको थियो । सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरियो ।

पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्यका बाहिरका सैनिक अस्पतालमा ३७ जना गरी जम्मा १७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अवसरमा बलाधिकृत रथी प्रभुराम शर्मा पनि उपस्थित हुनुहुन्थ्यो । (रासस)