NP EN

​चहर्‍याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री

काठमाडौँ, १६ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताउनुभएको छ । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । 

प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवान्का दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवान्को दूत बनेर आएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “उहाँहरु साँच्चै नै देवताले पठाएका मान्छे जस्तो लाग्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर खोजीखोजी बेसहारालाई उद्धार गरी संरक्षण गर्नु सामान्य कुरा होइन, उहाँहरु भगवान्का दुत नै हुनुहुन्छ ।” 

गत पुस ७ गतेदेखि शुरु भएको मेचीमहाकाली सडक उद्धारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ । उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गर्नुभएको थियो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर शुरु गरिएको सरकारी अभियानमा बेसराको उद्धार र संरक्षण कार्यलाई एउटा महायज्ञको सङ्ज्ञा दिनुभयो । उहाँले महायज्ञको मण्डव भत्काउने तत्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराउनुभएको छ । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अबरोध पुर्‍याउने तत्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले घाउमा पराल गडिएका व्यक्तिको उद्धार गरी उनीहरुलाई सामान्य जीवनमा फर्काउनु, नयाँ जीवनको सञ्चार दिनु, मानव समाजप्रति फैलाएको घृणाभाव समाप्त पार्दै मानवताप्रतिको आस्था जगाउनु सामान्य कुरा नभएको बताउनुभयो । ‘सेवा नै परमोः धर्म’ भन्ने उक्तिको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो भन्दा ठूलो पुण्य कार्य अरु केही हुनै नसक्ने बताउनुभयो । देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ’ यात्री भन्ने कविताले आज सार्थकता पाएको महसुस भएको उहाँले बताउनुभयो । मन्दिरमा जानुभन्दा चहर्‍याइरहेको घाउमा मलम लगाउन प्रधानमन्त्रीले सबैमा अनुरोध गर्नुभयो ।

विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवरिहत बनाउने सङ्कल्प सरकारले लिएको स्मरण गराउँदै यस्ता अभियानले उक्त घोषणालाई सार्थक बनाउने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारी तवरबाट भएको भए ६०० जनालाई सडकबाट उद्धार गर्न दशौँ करोड लाग्ने तर त्यही काम मानवसेवा आश्रमले सहज रुपमा सम्पन्न गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले आश्रमले यो अभियान किन चलाउनुपर्‍यो भनेर बुझ्न सरकारी निकायसँग आग्रह गर्नुभयो । 

उहाँले सरकारी निकायमा तनखा बाहेक एउटा बैठक बसेमा भत्ता खाने प्रवृत्तिप्रति व्याङ्ग्य गर्दै आश्रमका युवाले विना भत्ता कर्तव्य पूरा नहुँदासम्म रातदिन खटिएर गरेको कामको प्रशंसा गर्नुभयो । भत्ताका स्वयंसेवी नेपालमा देखेको भन्दै विना भत्ता नितान्त मानवीय सेवामा लाग्ने आश्रम परिवारलाई आधा मिनेट भने पनि ताली बजाएर सम्मान दिन मञ्चबाटै अनुरोध गर्नुभयो । त्यसपछि हलमा उपस्थित सबैले आधा मिनेट ताली बजार आश्रमलाई सम्मान गरेका थिए ।

प्रधानमन्त्री ओलीले आश्रमले यती धेरै मान्छे फेला पारे, सरकारी निकायले किन भेटिदैनन् भनेर प्रश्न गर्नुभयो । उहाँले केही व्यक्तिलाई माइतीघरमा गएर मानवअधिकारका नारा लगाउन र राजनीति गर्दैमा फुर्सद नभएको प्रसङ्ग जोड्दै यसरी सडकबाट बेसहारालाई उद्धार गरेर संरक्षण गरेको हेर्न अनुरोध गर्नुभयो । “यी काम गरेको उहाँहरुले किन देख्नुहुन्न, एक पटक आश्रम भ्रमण गरेर हेर्न र फूल राखेर प्रणाम गर्न अनुरोध गर्दछु”, प्रधानमन्त्रीले भन्नुभयो ।

आश्रमले आफ्नै आमाबुबा तथा दाजुभाइ दिदीबहिनी जसरी विना भेदभाव मानवीय कार्य गरेको बताउँदै पधानमन्त्री ओलीले आश्रमको सेवाभावमा सरिक भएर सहयोग गर्न सुरक्षाकर्मी, प्रशासनिक निकाय, जनप्रतिनिधि तथा सङ्घसंस्थाका प्रतिनिधिलाई अनुरोधसमेत गर्नुभयो । उहाँले आश्रमका लागि हरतरहले सहयोग गर्न सङ्घीय सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले आश्रमका लागि चाहिने भवन निर्माणका लागि जमिन उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र व्यक्तिलाई आग्रह गर्नुभयो ।

बेसहारा व्यक्ति आफ्नो घरवरपर देखेमा आश्रममा बुझाउन अनुरोध गर्दै प्रधानमन्त्री ओलीले घरमा साँङ्लाले बाँधेर वा खोरमा थुनेर नराख्न अनुरोध गर्नुभएको छ । साङ्लोले बाँध्दा कति पीडा हुन्छ भन्ने कुरा आफैँले अनुभव गरेको विगत सम्झँदै प्रधानमन्त्री ओलीले त्यस्तो पीडा कसैले भोग्नुनपर्ने अवस्था सिर्जना गर्न सरकार लागेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले मानव सेवा आश्रमले गरेको कार्यको प्रशंसा गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आश्रमको अभियानमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले आश्रमसँग सहकार्य गर्दै बेसहारा सडक मानवमुक्त मुलुक बनाउने महा अभियानमा मन्त्रालय अघि बढ्ने विश्वाव दिलाउनुभयो । उहाँले हजारौँ गैरसरकारी संस्था मुलुकमा रहेको स्मरण गर्दै मानवसेवा आश्रमले गरेको कर्याबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले आश्रमले सरकारी लक्ष्य पूरा गरेकोप्रति प्रशंसा गर्नुभयो । (रासस)