NP EN

प्रधानमन्त्रीद्वारा सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशन उद्घाटन

जनकपुरधाम, १९ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र  नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ ।

नेपालमा विद्युत्को एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ  जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।

हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।

यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

वर्षायाममा बढी भएका खण्डमा ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडो याममा भारतबाट थप  विद्युत् आयात गरी देशभित्रको माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्ने पूर्वाधार तयार भएको छ ।

खिम्ती–ढल्केवर २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी कामसमेत भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केवर पु¥याइने छ । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भए पनि विद्युत् प्रवाहको संरचनाको अभावले त्यसलाई १३२ मा परिणत गरी प्रवाह भइरहेको छ ।

कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।

सो सबस्टेशनबाट नेपाल भारतबीचमा करीब एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडरमार्फत माथिल्लो तामाकोशीको विद्युत् आपूर्ति हुनेछ । त्यस्तै हेटौंडादेखि इनरवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब दुई हजार मेगावाटसम्मको विद्युत् हेटांैडातर्फ र दुई हजार मेगावाटसम्मको विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने छ ।

सो ४०० र २२० केभी सबस्टेशन सन् २०१७ डिसेम्बर ८( २०७४ मङ्सिर २२) मा ठेक्का सम्झौता भई निर्माण भएको हो भने २०२० नोभेम्बर ११  (२०७६ कात्तिक २६ गते ) मा चार्ज भई हाल ४०० केभीमा चालु अवस्थामा आएको छ ।

सो आयोजना सम्पन्न गर्न करीब १७.७४ मिलियन अमेरिकी डलर र नेपाली रु  २२ करोड गरी जम्मा करीब नेपाली रकम रू दुई अर्ब २० लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करीब ६.९ मिलियन अमेरिकी डलर र नेपाली रु  २८ करोड छ जसमा बैंकको प्रसारण लाइन तथा सबस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ ।



भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको छः प्रम

सो अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उहाँले भन्नुभयो । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं २०७२ मा परिकल्पना गर्नुभएको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको छ भन्नुभयो । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । ( रासस–हिमांशु चौधरी र अजयकुमार साह)