NP EN

​एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उहाँले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।” 

पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उहाँले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भन्नुभयो । पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”

राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उहाँले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा राष्ट्रियरूपमा उपलब्ध स्रोत, साधन र सोचको  अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको  बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

स्थानीय स्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी दिएको छ । सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ । 

नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले मुलुकका १६ स्थानमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन हँुदै आएको छ ।

सेनाले एकीकरणको इतिहासको संरक्षण गर्ने तथा भावी पुस्तालाई जानकारी दिलाउन ऐतिहासिक दस्तावेजको खोज अनुसन्धान भइरहेको जानकारी दिएको छ । पछिल्लो समय उक्त पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको बताइएको छ । 

पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाडाँैसम्म उक्त पदमार्गको १९६.८ किलोमिटरमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका मुलुकमा १३२ वटा गढी तथा किल्ला रहेका छन् । सेनाले उक्त मार्गको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा समेत सहयोग पुगोस् भन्ने हेतुले इतिहास र संस्कृतिविद्, उच्च सैनिक अधिकृत, प्राध्यापक र पत्रकारसमेतको  सहभागितामा तीन दिन गोष्ठी आयोजना गरेको हो ।  (रासस)