NP EN

​द्वन्द्वपीडितको समस्या समाधान गर्न विशेष कार्यदल

काठमाडौं, ६ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । 

आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरु सँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । गृहमन्त्री रामबहादुर थापा बादल र सरकारका उच्चपदस्थ अधिकारी सहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नु भयो , ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पछर्’ । 

 छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नु भयो ।  ‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित् सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उहाँले भन्नुभयो ।

पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरु भन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यि सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो । 

जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताउनु भयो ।  ‘अब क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो। यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भिर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँ पाउने पनि प्रधानमन्त्रीले बताउनु भयो। 

द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुकोसमेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। ‘तीन चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाई थियो । 

कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्व कालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताउनुभयो । ती सुरक्षाकर्मी आश्रित् परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो । ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ, उहाँको भनाई थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले बताउनुभयो ।