NP EN

सुरुङ खन्ने मजदुरलाई हौस्याउँदै प्रधानमन्त्रीले भन्नुभयो, काम राम्ररी गर्नु ल !

काठमाडौ, ९ फागुन: हरेक वर्ष फागुन ९  गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरुंगमार्गको पुर्वी प्रवेशद्वारको नीरिक्षण । 

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पुर्वाधार विकासको मार्ग देखाउनु भएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सूरुङमार्ग समेत पर्छ । डाडाँकाडाँ उकालो ओह्रालो तथा असंख्य घुम्तिहरु पार गर्दै हिँडने सडक अब सुरुंगमार्गबाट निमेष भरमै यसअघि कयौं घन्टा लाग्ने मार्ग पार गर्दैछ । देश अब सुरुंग युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भन्नुभएको थियो । ‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ’। 

इन्द्रदहको कार्यक्रम सकेर सुरुंगको प्रवेशद्वार पुग्नुभएका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुंगको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असर बारे जानकारी गराउनुभएको थियो । उहाँहरुका अनुसार कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरुंगमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरुंग भित्र २४ सै घन्टा प्रकाश  अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभि समेत हुने छ ।   

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याउनुभएको थियो । मुलुकका प्रधानमन्त्रीले आफू तिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए । 

गत २०१९ को नोभेम्बर महिनामा सुरुभएको ठेक्का मितिले ४२ महिना भित्रसम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुंगको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पुर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरुभएपछि सुरुंग निर्माणले तिव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिनुभएको छ ।