काठमाडौँ, २६ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित भएको बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषदको २० औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यत्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छ’ ।
त्यसकासाथै प्रधानमन्त्री ओलीले नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास समेत हुने गरेको बताउँदै त्यस्ता प्रयासहरुसँग सतर्क हुनुपर्ने, विचार पनि व्यक्त गर्नुुभयो ।
विगत दुई दशकमा सुरक्षा परिषदले आफ्ना सैद्धान्तिक, नीतिगत पक्षमा स्पष्टता र व्यवहारिक अनुभव पनि हासिल गर्दै गएको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘ति अभ्यास र अनुभवहरुले देशलाई सुरक्षा नीतिसम्बन्धी अन्योलको स्थितिबाट बहुतै स्पष्टताको स्थितिमा पु¥याएको पनि उहाँ ले बताउनु भयो । ‘ठूलो होस् कि सानो । बलियो होस् कि कमजोर । सबै देशले आफ्ना सन्य शक्ति प्रभाव विस्तारमा नभइ न्यायोचित हकको रक्षामा प्रयोग गर्नु पर्दछ भन्ने हामी ठान्दछौ’, उहाँको भनाई थियो ।
यस प्रशंगमा नेपाल विश्वव्यापी र सार्वकालिक ढंगले सही सिद्धान्तमा र सही नीति र सही व्यवहारमा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘हामी हाम्रो प्रतिरक्षा र हाम्रो सुरक्षा, सबै कुरालाई शक्तिको आडमा होइन न्यायको आडमा , सत्यको आडमा स्थापित गर्न चाहन्छौं र गछौं’, प्रधानमन्त्रीको भनाई थियो ।
त्यसै हिसाबले हाम्रो प्रतिरक्षा र राष्ट्रिय सुरक्षा नीति बन्नु पर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । नेपाली सेना सहित राज्यका सबै अवयवहरुको समुचित प्रयोग कस्तो कस्तो परिस्थिति कुन कुन ढंगले गर्न सकिन्छ भन्ने कुरामा सुरक्षा परिषदले गृहकार्य गर्न सक्ने पनि उहाँले बताउनुभयो । नेपाली सेनाले आपतकालिन उद्धार र प्रकोप व्यवस्थापनमार्फत जनसेवा, विकास निर्माण र सुरक्षाजन्य गरी तीनै वटै प्रकृतिका कामहरुलाई कसरी समूचित ढंगले र व्यवस्थिति ढंगले अगाडी लान सक्छ भन्ने कुरामा अध्ययन अनुसन्धान र नीति निर्माणको काम गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।
गौरवपूर्ण इतिहास रहेको नेपाली सेनाले अहिले विदेशका विभिन्न भागमा शान्ति स्थापनार्थ आफूलाई जोखिममा राखेर काम गरेको बताउँदै प्रधानमन्त्रीले कतै मानविय कमजोरी यसबीचमा भए त्यस्ता कुरा हेर्ने अलग निकाय रहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रिय सुरक्षा परिषद स्थापना भएको समय मुलुकमा हिंसाको ग्राफ बढदो क्रममा रहेको स्मरण गराउँर्दै प्रधानमन्त्रीले अहिले आइपुग्दा मुलुकमा पूर्ण शान्ति कायम भएको समेत बताउनुभयो । गत वर्ष विखण्डनवादी सोचका साथ गतिविधि गरिरहेको समूहलाई र हालै मात्र सशस्त्र राजनीतिक गतिविधिको कार्यक्रम लिएर हिँडेको समूहलाई राष्ट्रिय राजनीतिको मुलधारमा आउनु परिषदका लागि समेत सुखद पक्ष भएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गर्नुभएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव एवं परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो ।