काठमाडौँ, २७ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ ।
विश्व मिर्गौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिट्टै त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहनुभएको जानकारी समेत दिनुभयो ।
‘मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मिर्गौला प्रत्यारोपण गराइसक्नुभएका प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मिर्गौला दिवस मनाईदैछ ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने समेत प्रधानमन्त्रीले बताउनुभयो ।
पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाई थियो ।
मिर्गौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।
प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभातफेरीमा पनि सहभागी हुनुभएको थियो ।