NP EN

प्रधानमन्त्रीद्वारा उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमूलक व्यवसायतर्फ लाग्न आह्वान

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय संचालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्ययवसायीहरुलाई अपिल गर्नुभएको छ । 

देशका अग्रणी उद्योग व्यवसायीसँग शुक्रबार प्रधानमन्त्री निवासमा आयोजित छलफल एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन कानुनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ’, उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा यस्ता उद्योग व्यवसाय क्षेत्रको हितका  लागि कानुन सुधार गर्न संसद अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउनसमेत आफू तयार रहेको बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्रीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघ लगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न र कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव दिएका थिए । यसै गरी हालको  कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनु पर्ने सुझाव समेत उनीहरुको थियो ।  यसै गरी औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुली लगायतका पुर्वाधारको व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकार निकट भविष्यमा नै देशको आर्थिक परिचय फेर्ने योजनाका साथ अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने समेत बताउनुभयो । उद्योगी व्यवसायीलाई  उत्पादन र निर्यातमुलक व्यवसायतर्फ लाग्न समेत उहाँले आव्हान गर्नुभयो । ‘ठूलो परिमाणमा उत्पादन, गुणस्तरीयता, प्रतिस्पर्धात्मक मूल्य र समयमै उपलब्धतामार्फत दुई तिरका छिमेकमा रहेको ठूलो बजार पाउन सक्छौं, प्रधानमन्त्रीको भनाई थियो । सरकार लक्ष्य निधारण गरेर अघि बढीरहेको बताउँदै उहाँले सबै नागरिकका जैविक र मानवीय आवश्यकता पुरा गर्नेतर्फ सरकार अघि बढीरहेको समेत बताउनुभयो । 

एउटा क्षेत्रमात्र नभई समग्र क्षेत्रको उन्नतीका लागि अघि बढन खोजिएको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘कोही पनि पछाडी पर्नु हु्न्न र पछाडी पारिनु हुन्न भन्ने धारणा सरकारको छ’, उहाँले भन्नुभयो । 



कार्यक्रमा  नेकपा एमालेमा प्रवेश गरेका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायीलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । 

यसरी पार्टी प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, हितेश गोल्छा रहनु भएको छ । यसै गरी ललित अग्रवाल, सिताराम अग्रवाल,कृष्ण प्रसाई नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत  मारवाडी समुदायका व्यवसायी पनि नेकपा एमालेमा आज प्रवेश गर्नुभएको हो ।