NP EN

‘स्वदेशी सामग्री उपभोग गरौँ’: प्रधानमन्त्री

मोरङ, १३ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई औद्योगिकरण गर्न स्वदेशी सामग्री उपभोग गर्नुपर्ने बताउनुभएको छ ।

उद्योग सङ्घठन मोरङका नव निर्वाचित कार्य समितिका पदाधिकारीको पदस्थापना समारोह तथा ‘मेरो देश मेरो उत्पादन’ अभियानकोे आज अपरान्ह भर्चुअलद्वारा शुभारम्भ गर्दै उहाँले वर्तमान राष्ट्रिय आकाँक्षा पूरा गर्न सरकार उद्यमी एवं सहकारीसँग सहयात्री भई कार्य गरिरहेको र यसबाट मुलुक अगाडि बढिरहको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले अभियानभित्र सरकारको दृष्टिकोण समेटिएकोले यसले  समग्र मुलुकको आर्थिक विकास गर्नुका साथै औद्योगिक क्षेत्र स्थापना, रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्यवस्तुमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो उत्पादनको प्रयोगको अभ्यास देशबासीमा अभिवृद्धि गर्ने कुरा, उपभोग्यभन्दा वढी उत्पादन गर्ने, विदेश निर्यात गर्नुपर्ने कार्यमा अभियानले बल पु¥याउने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लामो समयपछि मुलुकमा औद्योगिक बातावरणको अवस्थामा राम्रो रहेको छ भन्नुभयो ।

उहाँले हामीले स्वदेशीे कच्चा पदार्थ, स्वदेशी श्रम, निक्षेप, तथा आवश्यक भए विदेशी कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गरी तयारी वस्तुको निर्यात गर्नु पर्नेमाजोड दिँदै रोजगारी सिर्जना, नागरिक आम्दानी वृद्धि उत्पादनको माध्यमवाट अन्तरराष्टिय क्षेत्रमा व्यापार बढाउने, व्यापार घाटा न्यून गरी सकारात्मक दिशामा पु¥याउन उद्यमीहरु लाग्नुपर्ने बताउनुभयो ।

उहाँले स्वदेशी उत्पादन अभिवृद्धि, उपभोग्य आफ्नै उत्पादन, व्यापार सन्तुलन गर्ने, आयात व्यापार कम गर्न, अनावश्यक वस्तुको आयात त्याग गर्नु पर्नेलगायत दिशामा जान सबै नागरिकले सङ्कल्प लिनु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फवाट गर्नुपर्ने कार्य कारण  विगत तीन वर्षको अवधिमा मुलुकको व्यापार घाटा कम भइ सन्तुलनतर्फ वढेको चर्चा गर्दै  निर्यात वृद्धि भई आयात घटको छ भन्नुभयो ।

उहाँले सरकारको औद्योगिक मैत्री नीतिका कारण उद्योग मैत्री वातावरण निर्माण भएको चर्चा गर्दै, श्रमिक उद्योमी, सरकार यी तीन वीचको सम्वन्धमा व्यवस्थित सुधार आएको बताउनुभयो ।

उहाँले सरकारले हालै आठवटा ठूलो औद्योगिक क्षेत्र शिलान्यास गरेको स्मरण गर्दै मुलुक औद्योगिक दिशातर्फ फर्केका छ भन्दै सेजहरु, नयाँ औद्योगिक क्षेत्रहरु र पालिकामा औद्योगिक ग्राम निर्माणले साना, मझौला घरेलु उद्योग स्थापनाबाट उद्यमी प्रवित्तिको विकास भएको विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारका लागि जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको जानकारी दिँदै विगतमा कोरोना महामारीमा निशुल्क उपचारको व्यवस्था गरिएको र अहिले निःशुल्क खोप उपलव्ध गराइरहेको जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय अर्थतन्त्रको विकास तथा आयात प्रतिस्थापन कार्यमा अभियानको भूमिका सकारात्मक हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकार, सङ्गठन र सङ्घबीच सहकार्यमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा महत्वपूर्ण सहकार्य भएको चर्चा गर्दै आगामी दिनमा निर्माण हुने प्रर्दशनी स्थलमा निर्माणमा साझा अभियान प्रदेश सरकार जोडिने छ भन्नुभयो ।

सङ्गठनका  निवर्तमान अध्यक्ष भीम घिमिरेले वर्तमान प्रधानमन्त्रीको कारण उद्योगका कर, श्रम समस्या समाधान भएको चर्चा गर्दै अहिले औद्योगिक मैत्री वातावरण निर्माण भएको अनुभूति गरेको बताउनुभयो ।

सो अवसरमा सङ्गठनका पूर्वअध्यक्षले नव निर्वाचित अध्यक्ष सुयेश प्याकुरेललाई सपथ ग्रहण गराउनु भएको थियो भने अध्यक्ष प्याकुरेलले अन्य सदस्यलाई गराउनु भएको थियो । विसं २०२४ मा सङ्गठन  निर्माण भएको हो । (रासस)