NP EN

'नेपाललाई अब प्राकृतिक विपद्जन्य क्षति मुक्त देश बनाइनु पर्ने' - प्रधानमन्त्री

काठमाडौँ, २७ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अब प्राकृतिक विपद्जन्य क्षति मुक्त देश बनाइनु पर्ने  बताउनु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न  विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्टिय परिषदको पाँचौ बैठकलाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले प्राकृतिक विपत्ति आइ लागेपछि मात्र राहत र उद्धारका लागि जुट्ने प्रवृत्ति छोड्नु पर्ने धारणा उहाँको थियो । 

‘हामीले अब प्राकृतिक प्रकोपको रोकथाम र सुरक्षातर्फ जानुपर्छ नत्र विपद्को चक्र चलिहने र हामी सँधै उद्धार, राहत र पुननिर्माणका लागि जुटनुपर्ने हुन्छ’, प्रधानमन्त्रीको भनाई थियो । विपत्ति आए पनि धनजनको क्षति नहुने गरी प्राकृतिक स्रोतको उपयोग र संरचना निर्माण गरिनुपर्ने धारणा उहाँको थियो ।

यतिबेला डढेलो सर्वाधिक चिन्ताको विषय भएको बताउँदै प्रधानमन्त्रीले यति धेरै ठाउँमा यसरी डढेलो लाग्नु भनेको प्राकृतिक मात्र नभई मानवीय कारण समेत रहेको बताउनुभयो । कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो लगाउने गरेको पाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगलागी जस्तै बाढी पहिरोको प्रकोप आउने समयमा जनताबीच सचेतना अभियान लैजानुपर्ने बताउनुभयो । ‘बाढीको मौसम छ भने बाढी सम्बन्धी सचेतना अभियान, आँधी हुरीसम्बन्धी समयमा त्यसै सम्बन्धी अभियान जस्ता कुरा चलाउनु जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो । त्यस्ता बेला विपद निवारणका लागि खडा गरिएका निकायहरु बढी सक्रिय हुनुपर्ने पनि उहाँले बताउनुभयो । 

सुख्यायाममा ठूलो विपद बन्ने गरेको आगलागीको समस्याबाट पार पाउन फुसका घर र छाना पूर्णरुपमा विस्थापित गरिनुपर्ने भनाई पनि उहाँको थियो । ‘तराईमा छाना मात्र होइन पूरै घर फुसका छन्, तरकारी ओइरिँदा उत्पन्न झिल्काले पनि आगलागी गराउने अवस्था रहेको छ,’ उहाँको भनाई थियो । यसैलाई ध्यानमा राखेर सरकारले फुसका छानालाई टिनले प्रतिस्थापन गर्ने  नीति लिएको पनि प्रधानमन्त्रीले बताउनुभयो । 

अहिलेको जस्तो डढेलो नियन्त्रण गर्न सम्भव भएका स्थानमा पानीको आपूर्ति गर्ने वा आफूले अघिल्लो कार्यकाल देखि नै भन्दै आएको  हरेक पालिकामा एक पोखरी र एक हेलिप्याडलाई कार्यान्वयन तर्फ लान सकिने धारणा पनि प्रधानमन्त्रीको थियो । आगलागीका बेला हवाई फायर फाइटर प्रयोग गर्न त्यस्ता पोखरीले मद्दत गर्ने बताउनुभयो । 

नदीजन्य प्रकोप नियन्त्रणका लागि कम्तिमा १० वर्षे योजना बनाएर नदि नियन्त्रण र तिनका प्राकृतिक बहावलाई कायम राख्ने गरी पुल कल्भर्ट जस्ता संरचना निर्माण गरिनुपर्ने विचार पनि प्रधानमन्त्रीको थियो । त्यसो गर्दा नदीमा अधिकतम् पानी आउँदा पनि स्वाभाविक बहाव हुने व्यवस्था मिलाइनु पर्ने पनि उहाँले बताउनुभयो । भारतीय पक्षसँग कुरा गरी त्यताको नदि निन्त्रणले नेपाली भूभाग डुबानमा पर्ने समस्या धेरै हदसम्म न्यून गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।