NP EN

प्रधानमन्त्रीद्वारा भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ

काठमाडौँ, २ वैशाख: नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट www.merokitta.dos.gov.np ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ ।

नापी विभागद्वारा आज यहाँ नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताउनुभयो ।  “सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।” सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गर्नुभयो । 

सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उहाँले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उहाँले  ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिनुभयो । नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । “यसमा आत्मनिर्भर बन्नका लागि हाम्रा आनीबानीमा सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “देशलाई खाद्य वस्तु निर्यात गर्ने अवस्थामा पु¥याउनुपर्छ ।” सरकारले व्यापार घाटा घटाउँदै लगेको जनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण बाधा उत्पन्न भएको बताउनुभयो । छिमेकी भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने हुँदा सबैलाई त्यसप्रति सजग रहन उहाँले आग्रह गर्नुभयो । “सीमामा सतर्कता बढाउनुपर्छ, क्षति कम गर्न सबैको प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताउनुभयो । ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।

काममा व्यवधान गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले काममा व्यवधान खडा गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति लिइने स्पष्ट गर्नुभयो ।  “हामीलाई काममा विलम्ब स्वीकार्य छैन, यस्तो कार्यमा संलग्न देशभित्रका हुन् वा देश बाहिरका, तिनीहरुबाट क्षतिपूर्ति लिन्छौँ”, उहाँले भन्नुभयो । तामाकोशी आयोजनामा निर्माण कम्पनीले सामान्य समस्या देखाएर   ढिलासुस्ती गरिरहेको तथा हरेक दिन रु पाँच करोड नोक्सान भइरहेको उहाँको भनाइ थियो ।



सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताउनुभयो । “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाउनुभयो ।  कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । “बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ”, डा तुम्बाहाङ्फेले भन्नुभयो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका  तथा  आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताउनुभयो । भूमि व्यवस्था  मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिनुभयो । (रासस)