काठमाडौं, ३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेसँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि ओली नै हुनुभएको छ । उहाँले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो ।
प्रधानमन्त्री ओलीसँगै उहाँको पुरानै मन्त्रिमण्डलका सदस्यहरुले सपथ लिएका छन् । आजको सपथ ग्रहण कार्यक्रममा नयाँ मन्त्री कोहीपनि थपिएका छैनन् ।