NP EN

​प्रधानमन्त्रीद्वारा गणतन्त्र दिवसलाई जनताको चाडका रुपमा मनाउनु पर्नेमा जोड

काठमाडौँ, १० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई कर्मकाण्डी ढंगले  नभइ जनताको चाडका रुपमा मनाउनु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई जनताको चाडका रुपमा मनाउने  र संविधान दिवसलाई अझ असाधारण रुपमा र विशेष रुपमा मनाउनु पर्ने बताउनुभयो ।  

‘हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धीलाई ओझेलमा पर्न दिनुहुँदैन । विस्मृतिमा जान दिनु हुँदैन। शहीदको बलिदानलाई विर्सन सकिँदैन । विर्सिन मिल्दैन’, उहाँको भनाई थियो  । 

प्रधानमन्त्रीले सिंगो मुलुक कोभिड १९ को त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने पक्ष यसपटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्व, गरिमा तथा यसले ल्याएका परिर्वतनको स्मरण र सम्मान गर्नै पर्नेसमेत बताउनुभयो । ‘त्यसैले गणतन्त्रको अर्थ र महत्वका सम्बन्धमा अन्तक्र्रिया र परिसम्वाद जस्ता कार्यक्रम बढी मात्रामा गरौं। चर्चा परिचर्चाहरु गरौं’ , उहाँले भन्नुभयो । 

गणतन्त्र जन्मिदै विशिष्ट हुने वा जन्मिदै ‘नाती जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणालीका भएको विचार पनि प्रधानमन्त्रीको थियो । ‘जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो । यो भ्रम हो । पाखण्ड हो । अब त्रास भय लोभ र अन्धविश्वासमा परेर वशिभूत पार्ने कुरा विज्ञानसम्मत र न्याय सम्मत हुँदैन । आज जन्मिएको साधारण बच्चाले पनि मुलुकको सर्वोच्च स्थानमा पुग्न सक्छ , पुग्न पाउनु पर्छ’, उहाँको भनाई थियो । 

गणतन्त्रका सत्य र तथ्यका आधारमा हिँडने समाज आवश्यक रहेको बताउँदै उहाँले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ्य प्रतिस्पर्धा रहेको समेत बताउनुभयो । ‘अरुको चरित्र हत्या गरेर आफू अगाडी बढने प्रवृत्ति देखिएको छ। यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो’, उहाँको भनाई थियो । 

प्रधानमन्त्रीले गणतन्त्रलाई सामाजिक रुपान्तरणका लागि एउटा महत्वपूर्ण टर्निङ प्वाइन्टको संज्ञा दिँदै उहाँले इतिहासमा जन्मसिद्ध श्रेष्ठतामा हिँडेको समाजलाई प्रतिस्पर्धी बनाउने काम गणतन्त्रले नै गरेकोले यसलाई कम आँक्ने नहुनेसमेत बताउनुभयो ।  ‘कोही जन्मिदै तक्मा लिएर जन्मिने र अरुले त्यसको अपेक्षासम्म पनि गर्न नपाउने प्रणालीलाई हामीले इतिहास बनाइ सक्यौं ।’, प्रधानमन्त्रीको भनाई थियो । 

गणतन्त्र भनेको अराजकता होइन भन्दै प्रधानमन्त्रीले कानुनी शासन संवैधानिक सर्वौच्चता, समानता स्वतन्त्रता हाम्रो संविधानको विशेषता भएको समेत बताउनुभयो । संविधानको नजरबाट सबै नागरिक समदृष्टीमा रहने समेत उहाँले बताउनुभयो । 

गणतन्त्र विनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउँदै उहाँले कसै प्रति जन्मजात घोषणाको आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुने समेत बताउनुभयो ।  

अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउँदै उहाँले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान  गाएर र विद्युत्तीय माध्यमहरुबाट बढीमात्रामा छलफल र अन्तक्र्रियाहरु चलाएर मनाउनु पर्ने भनाई उहाँको थियो । 

‘यो दिवसको महत्वलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनु पर्छ । यसलाई आत्मसाथ गर्ने गरी बुझाउनु पर्छ । एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दैछ । अर्को वर्गा हिजोको सुख सुविधा सम्झेर मुख मिठ्याउदै छ । एउटा वर्ग त्यसप्रति बेखबर हो की भने जस्तो देखिन्छ ।’, उहाँको भनाई थियो ।