NP EN

प्रधानमन्त्रीबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौँ, ३० जेठ: प्रधानमन्त्री केपि शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उहाँले कोभिड १९ महामारीको दोस्रो लहर सुरुभएपछि अक्सिजनको तिव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो । 

कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उहाँको भनाई थियो ।

अचानक बढेको उच्चमागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय सैय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निश्कर्षमा सरकारका पुगेको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देश प्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।  

यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावक विहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । ‘यसबारे अध्ययन हँदैछ र त्यस अनुसार आवश्यक कदम चालिनेछ’, उहाँले भन्नुभयो । 

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । 

आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताउनुभयो । 

 अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई पनि प्रधानमन्त्रीको थियो  । छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढने समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो  । 

रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्ट बाट प्रतिदिन कुल ६० मेिट्रक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।