NP EN

जननेता मदन भण्डारीले स्वार्थको किनबेच गर्नुभएन: प्रधानमन्त्री

काठमाडौँ, १४ असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताउनुभएको छ । जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व बढी हुन थालेको बताउँदै आफूहरु मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने जनाउनुभयो ।

उहाँले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्धाममिलामा समेत धाउनेहरुले लोकतन्त्र र देशको  स्थिरतालाई खतरामा पार्ने स्थिति आएको पनि बताउनुभयो ।

“उहाँहरु लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसद्लाई जनताको काम गर्ने थलो नबनाई पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जननेता मदन भण्डारीको विचारसँग यी कामहरु कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरु विचारबाट पतित भएका छन् ।”

प्रधानमन्त्री ओलीले संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई संसदीय गतिविधिभन्दा अन्य काम (विपक्षी दल र नागरिक समाजको भेटघाट आदि) जस्ता गलत काममा प्रयोग गरिएकामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।



प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गर्नुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गर्नुभएको हो ।

कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो । कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएकोे फाउण्डेशनका सचिव पेम्बा लामाले बताउनुभयो ।

सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो । समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्राडा सुबोध शर्मालाई प्रदान गरिएको थियो ।

यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरियो । पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल(द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) हुनुहुन्छ । उहाँहरुलाई क्रमशः रु १५, १० र पाँच हजार राशिको पुरस्कार दिइयो । पुरस्कार छनोटका लागि स्रष्टा अनिल पौडेलेका संयोजकत्वमा समिति गठन गरिएको थियो ।



‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरिएको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट गर्नुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आज आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै  नेकपा (एमाले) का अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाउनुभएको थियो ।

नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र  आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको अध्यक्ष ओलीले जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन् ।”

उहाँले नेता भण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सहीप्रयासको संगम जनाउने धारणा राख्दै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको  बताउनुभयो  ।

भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको जनाउँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको बताउनुभयो ।