NP EN

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ: प्रम

काठमाडौँ, २१ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताउनुभएको छ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गर्नुभयो । हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पार्नुभयो । जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

आयोजना सम्पन्न हुनु ज्यादै खुसीको कुरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसले समग्र दोलखावासीलाई मात्रै नभई समग्र देशलाई नै बहुआयामिक फाइदा गर्ने विश्वास व्यक्त गर्नुभयो । आयोजनाको सफल निर्माणमा सहयोग गरेकामा प्रधानमन्त्री ओलीले दोलखावासी जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्नुभयो । आयोजनाका लागि सडक, प्रसारण लाइन, सवस्टेशनको निर्माणमा स्थानीय जनताको सहयोग प्रशंनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकास हामी सबैको साझा आवश्यकता भएको तथा सफलता उपलब्धी पनि समान रहेको बताउनुभयो ।

आन्तरिक खपतका लागि मात्रै नभई निर्यातका लागि समेत आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको कथन थियो । नेपालीको आफनै लागतमा बनेको हालसम्मकै ठूलो आयोजना सम्पन्न हुनु नै सबैभन्दा ठूलो खुसीको कुरा भएको उहाँले स्पष्ट पार्नुभयो । मुलुकभित्र व्याप्त रहेको विद्युत्भार कटौतीको अन्त्यका लागि विगतमा बाह्य देशबाट खरिद गर्नुपरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले ठूला आयोजनाको सञ्चालनपछि त्यस्तो परिस्थितीको क्रमशः अन्त्य भएको र ऊर्जाका क्षेत्रमा क्रमशः आत्मनिर्भरताको बाटोमा अग्रसर भएको बताउनुभयो ।

पहिलो चरणमा माथिल्लो तामाकोशीको एउटा मात्रै युनिट सञ्चालनमा आए पनि क्रमशः अन्य युनिटसमेत सञ्चालनमा आउने जानकारी दिँदै प्रधानमन्त्रीले देशको शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र स्वच्छ ऊर्जाको पहुँच विस्तारमा थप सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । दाउरा र ग्यासको चुल्हो क्रमशः विस्थापित गर्दै विद्युतीय चुल्होमा परिणत गर्न यस्ता आयोजनाले सहयोग पुर्‍याउने प्रधानमन्त्रीको भनाइ छ ।

विकास निर्माणका काममा ढिलाई भइरहेकाप्रति आपत्ति प्रकट गर्दै प्रधानमन्त्री ओलीले किन त्यस्तो भइरहेको छ भन्ने कुराको जाँच पड्ताल गरेर अन्य आयोजनामा त्यस्तो समस्या दोहोरिन नदिन सम्बद्ध पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । माथिल्लो तामाकोशीको लागत झण्डै दोब्बर हुनु आफैमा दुःखद रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले एउटा परियोजनामा ढिलाइ हुँदा त्यसले पार्ने परोक्ष र प्रत्यक्ष प्रभाव असाध्यै ठूलो रहेकाले आगामी दिनमा यस्तो अवस्थामा सुधार ल्याउनु निर्देशन दिनुभयो ।



कूल रु १४ अर्ब निर्माण अवधिको व्याज लाग्ने भनिएकामा रु १८ अर्ब बढेर रु ३२ अर्ब पुग्नु, लागतसमेत सोही मात्रामा बढ्नुले ठूलो नोक्सानी भएको उहाँको भनाइ थियो । निर्माण कम्पनीको छनोट तथा काम गर्ने तदारुकताका कारण भएको  ढिलासुस्ती, भूकम्प र कोरोनाले पारेको प्रभावकाा कारण पनि आयोजनामा बिलम्ब भएकाले कम भन्दा कम समयमा काम गर्ने उपायको खोजी गर्दै विगतमा भएका कमजोरीबाट पाठ सिक्न समेत सबै पक्षको प्रधानमन्त्रीले ध्यानकर्षण गराउनुभयो ।

पाँच वर्ष अगाडि नै आयोजना सम्पन्न गर्न पाएको भए त्यसले देशको अर्थतन्त्रको विकास र विस्तारमा ठूलो फड्को मार्ने थियो भन्दै प्रधानमन्त्रीले परियोजनाको  बिलम्बले राष्ट्रलाई असाधारण क्षति पुर्‍याइएकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा विशेष ध्यान दिन निर्देश गर्नुभयो । नेपाल टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदै गरेको दृष्टान्त पेश गर्दे प्रधानमन्त्रीले केही प्रतिशत जनतामा मात्रै बिजुली पुर्‍याउन बाँकी रहेको र ती क्षेत्रमा समेत छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग प्रतिष्ठानले मागे जति बिजुली उपलब्ध गराउन प्रसारण लाइनको अभावले नसकिएको सुनाउँदै प्रधानमन्त्रीले क्रमशः डिमाण्ड चार्ज तथा अन्य शुल्कसमेत न्यून गर्दै लगिने जानकारी दिनुभयो । बिजुली उत्पादन बढाएर उपभोक्तालाई सस्तोमा दिन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीको भनाइ थियो । (रासस)