NP EN

​सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २५ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न आज  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाएपो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।”  
 
कलाका जुनसकै विधाले पनि नेपालीको एकतामा नविनता र शान्तिको भावना प्रतिविम्बित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण(रेनासाँ) आवश्यक रहेको धारणा पनि उहाँको थियो । “हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवन यापनमै अलमलिएछौँ, पुस्तौँ गएछ”, उहाँले भन्नुभयो ।
 
नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको भनाइ पनि उहाँको थियो । “पछाडी पर्न हुँदैनथ्यो परेछौँ । गरीब हुन मानेछौँ,  अनपढ हुन मानेछौँ”, उहाँले भन्नुभयो । उहाँले नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको बताउनुभयो । “गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो”, उहाँले थप्नुभयो ।  





शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उहाँले भन्नुभयो, “राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उहाँको भनाइ थियो । साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना  नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांँख्य दर्शनसम्मको इतिहासले नेपाल ज्ञानभूमि भएको पुष्टीगर्ने भनाइ उहाँको थियो ।

वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उहाँले बताउनुभयो । दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकीरहेको विचार उहाँको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय कुप्रथा समेत चल्दै आएको समेत बताउनुभयो तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने समेत उहाँले बताउनुभयो ।
 
सम्बोधनका क्रममा प्रधानमन्त्रीले युग कवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । श्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो । (रासस)