NP EN

देश बनाउने अभिभारा एमालेको काँधमाः अध्यक्ष ओली

१ चैत २०८०, महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बचाउने, सुदृढ र विकसित बनाउने अभिभारा एमालेको काँधमा रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको विकास निर्माणले तिव्रता पाउने विश्वास व्यक्त गर्दै सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा सुरु गरेका सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्रको निर्माण लगायत सुदूरपश्चिमका सबै कामहरूले अब निरन्तरता पाउने बताउनुभयो  ।
अध्यक्ष ओलीले अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्व सक्षम र सबल नेतृत्व चयन गर्न सुझाव दिनुभयो । 
उहाँले कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुने गरी काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नयाँ सत्ता समीकरण आफूहरूले बनाएको स्पष्ट गर्दै अहिलेको सरकार चीनले बनायो भनेर भ्रम छर्नेहरूलाई नेपालीको अपमान नगर्न आग्रह गर्नुभयो ।
वर्तमान सरकारमा एमाले सम्मिलित रहेको र यस सरकारले जनतालाई डेलिभरी दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले मिटर ब्याजपीडित र आरती साहका परिवारसँग सहमति गरेर समस्या समाधानको सुरुवात गरेको बताउनुभयो ।
उहाँले नयाँ परिस्थितिमा आत्मविश्वास र दृढताका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । 
वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन
यसैअघि अध्यक्ष ओलीले आजै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं ६ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा सम्बोधन  गर्दै अध्यक्ष ओलीले राष्ट्रिय हित र जनताका सवालमा सबै दल एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  
उहाँले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरूरी रहेको बताउनुभयो । 
पूर्वप्रधानमन्त्री ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एकठाउँमा उभिनुपर्ने आवश्यकता औल्याउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ ।