NP EN

उद्यमशीलताको वातावरण बनाई युवा पलायन रोक्नुपर्छः अध्यक्ष ओली

२ चैत २०८०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको बताउनुभएको छ । 
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सिनेमा संवाद कार्यक्रम अन्तर्गत अध्यक्ष ओलीले आज भएको नायक राजेश हमालसँगको संवादमा देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र आत्मविश्वास जगाउनुपर्छ ।
धेरै नेपाली युवा विदेशमा नै बस्ने गरी पलायन हुँदै गएका, अध्ययनका लागि बाहिर गएका धेरै नेपाली युवा स्वदेश फर्कने मनस्थितिमा नरहेको भन्नुहुँदै अध्यक्ष ओलीले युवाको विदेश पलायन रोक्नु आजको मुख्य चुनौती भएको बताउनुभयो ।  
उहाँले कुनै पनि देश त्यतिकै धनी नहुने, देश विकास गरेरै धनी हुने प्रष्ट पार्दै देश विकासको लागि देशमा नै परिश्रम गर्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनुपर्छ ।  
उहाँले युवालाई देशमै काम गर्ने वातावरण भने राज्यले बनाउनुपर्ने र उद्यमशीलताको वातावरण बनाइदिनुपर्ने धारणा राख्नुभयो ।