NP EN

डडेल्धुरा जिल्ला कमिटीको नवौं अधिवेशन उद्घाटन

५ चैत २०८०, डडेल्धुरा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको डडेल्धुरा जिल्ला कमिटीको नवौँ अधिवेशनको आज उद्घाटन गर्नुभएको छ । डडेल्धुराको पर्शुराममा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम र डडेल्धुराको विकास नेकपा (एमाले)ले गर्ने बताउनुभयो । उहाँले डडेल्धुराका जनताले राखेका माग एमालेले पूरा गर्ने बचन दिनुभयो । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिका लागि अनेकन काम गरेको र देशैभरि ठूला परियोजना एकैसाथ शुरु गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– सेती लोकमार्ग, महाकाली कोरिडोर, मदन भण्डारी मध्यपहाडी लोकमार्ग, देशभर एकसाथ ३९६ अस्पताल भवन निर्माण, सबै पालिकामा औद्योगिक ग्रामहरू स्थापना लगायतका धेरै काम त्यस बेला शुरु गरिएको थियो । अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्दा उत्पादन वृद्धिदर सात प्रतिशतभन्दा माथि पुगेको र आफू सरकारबाट हट्ने बित्तिकै अर्थतन्त्र निरन्तर ओरालो लागेको र देशले आर्थिक सङ्कट झेल्नुपरेको बताउनुभयो ।


उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मात्र होइन, डडेल्धुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पाँच पटक प्रधानमन्त्री हुँदा पनि नेपाली कांग्रेसका सभापति देउवाले देखाउन लायकको कुनै काम गर्न सक्नुभएन । आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्नुभएन । 
उहाँले पार्टीका नेताकार्यकर्ता र जनप्रतिनिधिले जनतालाई आर्थिक जीवनस्तर उठाउनका लागि बाटो देखाउने काम गर्नुपर्ने बताउनुभयो । कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । 
अध्यक्ष ओलीले सुदूरपश्चिमका जनता अहिले होइन पहिलादेखि नै निरङ्कुशताका विरोधी भएकाले कुनै प्रकारको निरङ्कुशता सुदूरपश्चिमले नस्वीकार्ने बताउनुभयो । भीमदत्त र दशरथ चन्द लगायतले जीवन दिएर त्यसलाई प्रमाणित गर्नुभएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । उहाँले अब देशमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटीका संयोजक गजेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।