NP EN

देश बनाउने सङ्कल्प बोकेको एमालेले अवसरको राजनीति गर्दैनः अध्यक्ष ओली

७ चैत २०८०, काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले देश बनाउने महान उद्देश्य बोकेर हिँडेको पार्टी भएकाले त्यस सङ्कल्पलाई सफल बनाउने गरी काम गर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बदल्ने उद्देश्यसाथ हिँडेको एमालेले अवसरको राजनीति नगर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) नेपाली जनतालाई सुखी बनाउने सङ्कल्प बोकेको पार्टी हो भन्ने कुरा जनतालाई बुझाउन काठमाडौंका नेताकार्यकर्तालाई निर्देशन दिनुभयो । २०४८ सालदेखियताका सबै निर्वाचनमा नेकपा (एमाले)ले स्वीप आउट गर्दै आए पनि गएको निर्वाचन परिणाम पीडादायी भएको र आगामी निर्वाचनमा एमालेलाई त्यस्तो परिणाम स्वीकार्य नहुने भन्दै अध्यक्ष ओलीले पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले आगामी निर्वाचनमा काठमाडौंमा एमालेले गएको निर्वाचनको ९० प्रतिशत मत उल्ट्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– पछिल्लो निर्वाचनमा काठमाडौंंका १० क्षेत्रमध्ये एउटा मुश्किलले जित्यौं, यो स्थितिलाई अनिवार्य बदल्नु छ, बदल्नैपर्छ । 
नेकपा (एमाले)को उद्देश्य, स्पष्ट विचार र यसले गरेका कामको आधारमा पनि गएको निर्वाचन परिणाम स्वीकर्य नभएको बताउँदै उहाँले यो स्थितिलाई उल्ट्याउनैपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले काठमाडौंका नेताकार्यकर्ताहरूलाई गत निर्वाचनको परिणाम बदल्ने सङ्कल्पका साथ योजना बनाएर सक्रिय हुन निर्देशन दिनुभयो ।
विगतमा आफ्नो नेतृत्वको सरकारले सडक बालबालिकाको व्यवस्थापन,, असहाय, अशक्तलाई सामाजिक सुरक्षा लगायत जनताको जीवनमा परिवर्तन ल्याउने गरी धेरै काम गरेको स्मरण गर्दै आफूहरू सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले जनताको दुःख, कष्ट हरण गर्ने गरी एमालेले यसअघि गरेका कामलाई आगामी दिनमा पनि निरन्तरता दिने छ भन्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले)सहितको वर्तमान सरकारले गरिबी घटाउने गरी काम गर्ने बताउनुभयो । 
उहाँले गरीबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने एमाले सरकारमा हुनुको कुनै अर्थ नहुने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अहिले सरकार परिवर्तन भएको छ । अघिल्लो गठबन्धन सरकारजस्तो दुई वर्षमा तीन प्रतिशत गरिबी बढाउने हो भने सरकारमा हामी हुनु नहुनुको अर्थ हुँदैन । हामीले सरकार छोड्दा गरिबी १७ प्रतिशतमा झारेको थियो । अढाई बर्षको अबधिमा अहिले बढेर  २० दशमलव २६ प्रतिशतमा पुगेको छ । त्यसलाई पुनः घटाउनुपर्छ ।  
उहाँले थप्नुभयो– सरकारले जनताको दुःख कष्ट हरण गर्नुपर्छ ।  आर्थिक बृद्धिदर बढाएर मात्र पुग्दैन, पैतलामा बिझेको काँडा निकाल्नुपर्छ । ठुला कुरा मात्र गर्ने होइन, काम गरेर देखाउनुपर्छ ।
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्ताहरूलाई उद्यमशीलतामा लाग्न सुझाउनुभयो । अध्यक्ष ओलीले उत्पादनका क्षेत्रमा, जीवन निर्वाहका क्षेत्रमा, स्वास्थ्य चेतना, शिक्षा चेतना, उत्पादन चेतना सबै चेतनाको अभियन्ता र नायकत्व एमालेले लिनुपर्ने बताउनुभयो । 
भेला नेकपा (एमाले) काठमाडौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा भएको थियो ।