NP EN

पुँजीवादी मूल्यमान्यता थोत्रा भइसकेः अध्यक्ष ओली

१३ चैत २०८०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीले लिएका विचार र नीति उत्कृष्ट, अतुलनीय र श्रेष्ठ रहेको बताउनुभएको छ । 
बाग्मती प्रदेश कमिटीको बैठकलाई मङ्गलवार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विचार महान् भएकाले ती महान् विचारलाई पछार्नुपर्छ, सिद्ध्याउनुपर्छ भनेर विभिन्न शक्ति लागेको  बताउनुभयो । एमाले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा गरेर जानुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो, उनीहरू एमालेलाई सिद्ध्याउने भन्छन्, हामी सहकार्य गर्नुपर्छ भन्छौँ । 
अहिले एमाले बाहेक कुनै पनि पार्टीसँग नीति र विचार नभएको उहाँले बताउनुभयो । नयाँ पार्टीहरूसँग आफ्नो छुट्टै नीति र विचार नभएकाले उनीहरू एमालेको नीति र विचार भत्काएर यो हाम्रो मौलिक नीति र विचार हो भनेर भ्रमित बनाउने काममा लागेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । उहाँले नेपाली कांग्रेस यथास्थितिवादी पार्टी भएकाले कांग्रेस थोत्रो मात्र होइन पत्रु भइसकेको विश्लेषण सुनाउनुभयो ।


अध्यक्ष ओलीले पुँजीवादले सैद्धान्तिक हिसाबले हारिसकेको र  पुँजीवादका मूल्य मान्यता थोत्रा भइसकेका बताउनुभयो । पुँजीवादले शोषण गरेर भए पनि पैसा कमाऊ भन्ने मान्यता राख्ने उहाँले स्पष्ट पार्नुभयो । शोषणलाई संयुक्त राष्ट्र संघले समेत मान्यता नदिएकोले पुँजीवादी मान्यता अब अन्त्य भएको अध्यक्ष ओलीले बताउनुभयो । 
सामाजिक सुरक्षाको सिद्धान्त समाजवादको सिद्धान्त भएको उहाँले बताउनुभयो । विकेन्द्रीकरण, स्थानीय स्वायत्त शासन, यी सबै समाजवादको पक्ष र पुँजीवादको विपक्षमा रहेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो– मानवता पुँजीवादले अङ्गीकार गर्दैन । 
कोही पनि पछाडि नपरोस् भन्ने संयुक्त राष्ट्र संघको नारा समाजवादको नारा भएको उहाँले बताउनुभयो । कम्युनिष्टहरूले धर्तीमा जन्मिएका नागरिकको मानव अधिकारको कुरा गर्ने प्रष्ट पार्दै अध्यक्ष ओलीले सम्मानित जीवन बिताउन पाउने हरेक नागरिकको अधिकार भएको र हामीले खोजेको पनि यो हो भन्नुभयो । 
अध्ययन र क्रियाशीलतामा नेकपा (एमाले)का नेता कार्यकर्ता अब्बल हुनुपर्नेमा जोड दिँदै अध्ययन र क्षमतामा पछि पर्ने नेता कार्यकर्ता स्वतः पछाडि पर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीको काम नगर्ने तर आफूभन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस् लेख्ने गलत क्रियाकलाप नेताकार्यकर्तामा विकास भएको भन्दै त्यस्ता गलत स्ट्याटस लेख्ने पार्टी सदस्यलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै लेख्न उहाँले निर्देशन दिनुभयो । अध्यक्ष ओलीले  स्टाटस् लेख्ने भन्दा आफूलाई लागेको विषयमा कमिटीमा छलफल गर्नु सुझाव दिनुभयो ।