–केपी शर्मा ओली, अध्यक्ष
कार्यक्रमका अध्यक्ष महोदय,
काठमाडौं इन्चार्ज लगायत सम्पूर्ण उपस्थित नेता साथीहरू,
जनप्रतिनिधि साथीहरू र पार्टीका नवनिर्वाचित पदाधिकारी र सदस्य साथीहरू !
आज तपाईंहरूसँग यसरी भेटघाट गर्न पाउँदा खासगरी काठमाडौंका नेता कार्यकर्तासँग भेट्न पाउँदा मलाई खुशी लागेको छ । यसकारण कि तपाईंहरूका हातमा छ काठमाडौं जिल्ला लालकिल्ला । पहिलो निर्वाचन नै काठमाडौं जिल्ला लालकिल्ला भएको थियो । पाँच वटा निर्वाचन क्षेत्र थिए, हामीले चारवटा जितेका थियौं । एक ढङ्गले हामीले स्वीपआउट गरेका थियौं, त्यसपछि पनि हामीले स्वीपआउट गर्दै आएका थियौं । तर, यो पछिल्लो निर्वाचनमा हामी दश प्रतिशतको हैसियतमा झर्यौं । दशवटा निर्वाचन क्षेत्रमध्ये एउटा मुस्किलले जितियो । यस स्थितिलाई अनिवार्य बदल्नु छ । बदल्नै पर्छ । नेकपा (एमाले)का लागि यो अवस्था, यस्तो खालको पराजय कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन । नेकपा (एमाले)का महान् उद्देश्य, स्पष्ट विचार, एमालेले गरेका कामका निम्ति, जुन परिणाम आएको छ, त्यो पीडादायी छ । यस अवस्थालाई बदल्नैपर्छ, परिवर्तन गर्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ । शतप्रतिशत भएन भने पनि ९० प्रतिशत त बनाउनुपर्छ । भरसक शतप्रतिशत, भएन भने ९० प्रतिशत बनाउने काम गर्नैपर्छ ।
बाग्मती प्रदेशमा पहिले हामी एक्लै बहुमतको स्थितिमा थियौं । त्यस बहुमतको स्थितिलाई गिराउनका लागि पार्टी फोड्नुपरेको थियो । अहिले हामी यत्तिकै कमजोर भएका छौं । तसर्थ यी पक्षहरूमा हामीले गम्भीरताका साथ ध्यान दिने र अवस्था बदल्न सङ्कल्प गर्नैपर्ने अवस्था आएको छ । यहाँको अवस्था दार्चुलाबाट आएर बदल्ने होइन, झापा, ताप्लेजुङ वा कञ्चनपुरबाट आएर काठमाडौंको अवस्था बदल्दिने होइन । यहाँको अवस्था तपाईंहरूले बदल्नुपर्छ । तपाईंहरूको अठोटले बदल्न सक्छ, तपाईंहरूको सक्रियताले बदल्न सक्छ । तपाईंहरूले मात्रै बदल्न सक्नुहुन्छ ।
काठमाडौं राजधानी जित्नु र हार्नुकोे असर देशभरिकै जस्तै अवस्था हो । राजधानी सचेत ठाउँ, जनतालाई सबैभन्दा सचेत बनाउने, भ्रममा पर्न नदिने, अल्मलमा पर्न नदिने पार्टी यो हो । त्यो पार्टीका कार्यकर्ता हामी । अनि जनताका बीचमा हामी कति पुगेका छौं ? जनतालाई कति सचेत पारेका छौं ? आफैँ÷आफैँ गमक्क पर्छौं, मख्ख पर्छौं, म यस्तो हुँ उस्तो हुँ भन्ने ठान्छौं तर परिणाममा के हुन्छ ? के ल्याउँछौ परिणाम ? हामीले नजिता के निकाल्छौं ? आ–आफ्ना इगो, अहङ्कार, दम्भको स्याहारसम्भार समालेर बस्छौं कि पार्टीको परिणाम निकाल्छौं ? हामीले ध्यान दिनुपर्ने यहाँनिर छ ।
अहङ्कार हामीमा हुनै हुँदैन
त्यसकारण मैले भनेको छु– हामीमा अहङ्कार भन्ने चिज हुनै हुँदैन । नेकपा (एमाले)का तमाम नेता कार्यकर्ता साथीहरूलाई म भन्न चाहन्छु,– अहङ्कार भन्ने चिज हामीमा हुनै हुँदैन । अहङ्कारको नामोनिशान हुनु हुँदैन । अहङ्कार कसैभित्र पस्यो भने अरु केही बाँकी नै रहँदैन । अहङ्कारले ज्ञान र बुद्धि केही पनि बस्नै दिँदैन, बाँकी नै हुँदैन । जहाँ अहङ्कार बस्छ, उसले त्यहाँ अरु चिजका लागि ठाउँ छोड्दैन । उसले सिङ्गै ठाउँ ओगट्छ । त्यसकारण अहङ्कार हटाऔं, सजिलो कुरा छैन । तर, अभ्यास गर्न सकिन्छ, अहङ्कार हटाउन सकिन्छ । सबै साथीहरूले अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नूस् र सक्रिय हुनूस् । सक्रियता योजना बनाएर देखाउनूस् । तपाईंहरू हरेकसँग डायरी हुनुपर्छ । आज मैले के गरेँ, हरेक दिनको तपाईंहरूसँग नोट हुनु र्छ । हरेक दिन म के गर्छु, मैले के गर्नुपर्छ र मैले के गरेँ भन्ने डायरी हुनुपर्छ । तपाईंले गर्ने कामको योजना तपाईंसँग हुनुपर्छ । यति समयभित्र यति संगठन बनाइसक्छु, यति समयभित्र यति टोल कमिटी बनाउँछु, यति समयभित्र यति सदस्य विस्तार गर्छु, यति समयभित्र यति जनसंगठनका कमिटी यस ठाउँमा बनाउँछु, यति सदस्य जनसंगठनहरूका बनाउँछु । त्यो योजना हुनुपर्छ । ती जनसंगठनहरूसँग बस्नुपर्छ, योजना बनाउनुपर्छ, योजनाबद्ध ढङ्गले काम गर्यो भने काम हुनसक्छ । योजनाबद्ध ढङ्गले काम गर्नु भएन भने हुँदैन ।
योजनाबद्ध सक्रियता र नियमित अभ्यास जरूरी
एउटा कुरा के भने– आलोपालो जस्ता कृुरा अलिक अराजनीतिक, विचारहीन मान्छेहरूले गर्छन् । अहिले मेरो पालो, त्यसपछि तपाईंको पालो । यो पालो धारामा पानी थाप्न लाइन बसेको हो र ? तिम्रो गाग्री भरियो, तिमी उता जाऊ...गर्ने हो र ? यो दशैंमा चिनी किन्न लाइनमा बसेको हो र ? तिमीले एक किलो चिनी किनिसक्यौं, म किन्छु छोड, यस्तो हो र ? नेतृत्व गर्ने कुरा योग्यता, सक्रियता, बुझाइ यी कुराहरूमा भर पर्छ, यी कुराहरूमा भर पर्नुपर्छ । साथीहरू त्यसैगरी निर्वाचित भएर आउनु भएको होला भन्ने मैले विश्वास गर्छु । आलोपालोको कुरा होइन । योग्यता, क्षमताको कुरा हो, सक्रियताको कुरा हो ।
मैले ड्राइभिङ सिकेँ २०२६ सालमा । त्यसपछि २०३० सालमा जेल परेँ, १४ वर्ष जेलमा बसेँ, ड्राइभिङ गरिनँ । २०४४ मा निस्किएँ, फेरि चलाएँ । २०५२ मा हेलिकप्टर दुर्घटना भएपछि मैले ड्राइभिङ गर्न छोड्दिएँ । २६ वर्ष नचलाए पनि चलाउने मानसिकताभित्रै थिएँ । तर चलाइन । २०५२ सालबाट अहिले २८ वर्ष भयो गाडी नचलाएको । अब अभ्यासबिना म गएर ड्राइभिङको सिटमा बसेँ भने दुर्घटना हुन बेर लाग्दैन किनभने यत्रो वर्ष भयो नचलाएको । अनि मेरो पुरानो लाइसेन्स भनेर हुन्छ ? अस्ति सिकेको मान्छेले राम्ररी चलाउँछ, मेरो पुरानोले के काम । त्यसकारण लाइसेन्सको मिति हेर्ने होइन, अभ्यासको गति हेर्ने हो । पार्टी सदस्यताको मात्रै मिति नहेर्नुस्, अभ्यासको गति कति छ, त्यो हेर्नुस् साथीहरू । गतिशीलता बढाउनुस् । २०२६ सालमा नजन्मिएको मान्छे राम्ररी ड्राइभिङ गर्छ । २०२६ सालमा ड्राइभिङ सिकेको म राम्ररी ड्राइभिङ गर्दिनँ, किनभने लाइसेन्स हेरेर हुँदैन, अभ्यास हेर्नुपर्छ । अभ्यास छोड्दिसकेँ, अनि कहाँबाट हुन्छ ? मैले यति भोटो फटाए भनेर मात्रै हुँदैन । योगदान कति गरे भनेर हेर्नुपर्छ ।
म साथीहरूलाई आग्रह गर्न चाहन्छु–मैले के पाए भन्दा पनि मैले देशलाई के दिनुपर्छ भन्ने भावनाका साथ काम गर्नुपर्छ । त्यसो गरेपछि हामीसँग जिल्ला छन् ७७ वटा, पालिका छन् ७५३ वटा, छ हजारभन्दा बढी वडा छन्, अनि ती वडामा वडा सदस्य हुुन्छन् चारचार जना थप, जिल्लामा प्रमुख उपप्रमुख लगायत परिषद् हुन्छ, अरु जितियो भने त राज्य हाम्रो साथमा हुन्छ । हामीले राज्य सञ्चालनका लागि विभिन्न जिम्मेवारी लिनैपर्ने खण्ड आउँछ । एक जनाले जिम्मेवारी लिएर त चल्दैन होला नि ? तपाईंहरू भएका कमिटी सबै मैले नै लिन्छु भनेर हुन्छ र ? सबै कमिटीमा म बस्न भ्याउँछु र ? भ्याउदिनँ नि । विभिन्न ठाउँमा पनि एकै जना बस्न भ्याउँछ र ? भ्याउँदैन नि । त्यो त हाम्रो भागमा एकपछि अर्को जिम्मेवारी आउँदै जान्छ । मुख्य कुरा हाम्रो काम, सक्रियता र सफलता हो । सफल बनायौं भने सबै चिज आउँछ, सफल बनाउन सकिएन भने र मान्छे असफल हुँदै गयो भने निराश हुन्छ ।
एमाले अवसर खोज्दै, टिप्दै हिड्ने पार्टी होइन
एकजना आपूmलाई कम्युनिष्ट नेता भन्ने पुराना नेता छन् । तपाईंहरूले पनि चिन्नुहुन्छ होला– मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ । कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउँथ्यो होला, सम्झिन्छन् फेरि ग्वाग्वा रुन्छन् छाती पिट्छन् । मान्छे त्यसरी पतन हुँदो रहेछ । कम्युनिष्ट भनेर जिन्दगीभरि ढाट्यो ढाट्यो, बुढेसकालमा गएर केका लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो । यस्तो हुँदो रहेछ निराश भएपछि, हतोत्साहित भएपछि ।
अब केही पनि भविष्य छैन भनेपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ, त्यति भए पनि टिपौं भन्नेमा पुग्छ । नेकपा (एमाले) त्यस्तो यताबाट यति टिपौं, उताबाट यति टिपौं भन्ने खालको, अवसर खोजेर यति टिपौं भन्ने खालको होइन । यो देश बदल्ने महान् उद्देश्य बोकेर हिंडेको पार्टी हो । त्यसकारण यसले अवसर छोपिहालौं, यताबाट यो अवसर छोपिहालौं यस्तो खालको सोंच राख्ने होइन । यो देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी हो । त्यसकारण यसले त्यस उद्देश्यलाई सफल पार्नेगरी काम गर्दछ । मान्छेहरूले जीवन दिएका छन्, सहादत प्राप्त गरेका छन् । जिन्दगीभरि काम गरेर जीवन दिएका छन् । आन्दोलनका क्रममा अङ्गभङ्ग भएका छन्, खटेका छन् । त्यो जीवन दिएको होइन र ? जेल बसेका छन्, भूमिगत निर्वासन बसेका छन्, अनेक प्रकारका क्षति बेहोरेका छन्, लडाइँ लडेका छन्, घाइते भएका छन्, परिवार क्षतविक्षत भएको छ । त्यस्ता क्षतिहरू बेहोरेका छन् । उज्ज्वल सम्भावना बोकेका विद्वान् हुने छोराछोरीहरू पढ्न नपाएर निरक्षर भएर बस्नुपर्ने स्थिति बेहोरेका छन्– यस आन्दोलनका लागि, देश बनाउनका लागि । देश बन्दा भोलि मेरा सन्तान पनि बन्छन्, आजको एउटा पुस्ताले मौका पाएन होला, उनीहरू वञ्चित हुनुपरेको होला । तर, भोलिको पुस्ता फेरि अगाडि बढ्ने छ, त्यो आशाका साथ जीवन दिएर शहीद भएका छन् । अनेक आन्दोलनमा होमिएर ठूलो घात प्रतिघातको शिकार भएर ठूल्ठूला क्षतिहरू बेहोरेका छन् । ती कुराहरूलाई ध्यानमा राखेर हामी जो बाँचिरहेका छौं, हामीले ती साथीहरूले भन्दा कम क्षति बेहोरेका छौं ।
जनता सर्वोच्च हो
मैले जिन्दगीमा भूमिगत काम गरेको छु, पिटाइ खाएको छु, गोलघर बसेको छु, जाली मुद्दा लगाएर दश वर्षको सजाय भनेर तोकेको थियो । दश वर्षको सजाय तोकेको १४ वर्ष थुनेको थुन्यै गर्यो । सजाय दश वर्षको थुनाई १४ वर्ष । तपाईंहरूले त यस्तो सुनेको पनि छैन होला । मलाई दश वर्ष सजाय थियो, तर १४ वर्ष म जेल बसेँ । किन बसेँभन्दा नछोडेपछि के गर्ने ? छोड्दैन । अहिले केही निस्किएका छन् त्यो स्वर्णयुग थियो भनेर, ओहो ! उधुमसँग । पञ्चायत ढल्नभन्दा अगाडि, राजतन्त्र जानुभन्दा अगाडि तिनै तत्वहरू भन्ने गर्दथे– प्राणभन्दा प्यारो छ, प्राणभन्दा प्यारो छ । मैले त सोचेको थिएँ, पञ्चायत गएपछि, राजतन्त्र गएपछि यिनले त्रिशुलीमा हाम फाल्छन् कि क्या हो, घरका दलिनभरि मान्छे झुण्डिने हुन् कि क्या हो, छतबाट गम्¥याङ गम्¥याङ हाम फाल्छन् कि क्या हो, प्राणभन्दा प्यारो छ भनेको चिज त गइसक्यो भनेको त सबै अर्कातिर पो कुदिराखेका ! पछि हेर्छु त त्यहाँ त सबै कांग्रेस पो भइराखेका । प्राणभन्दा प्यारो भन्नेहरू, नक्कली कुरा गर्नेहरू त चारतारे झण्डा बोकेर कुदिराखेका ! अहिले पनि नक्कली कुरा गर्नेहरूको सानोतिनो भिड छ । हामी त्यो अवसरको राजनीति गर्दैनौं । जनता महान् हो, जनता जनार्दन हो र जनता भगवान हो । जनता सर्वोच्च हो । जनताभन्दा माथि कोही पनि हुँदैन ।
एउटा फलानो परिवारमा जन्मिएको बच्चा पनि जर्नेल जन्मिने एउटा जमाना थियो । जर्रसाप जन्म लिइबक्यो हजुर...! जन्मिएर नुहाइ धुवाइ गर्न पाएको छैन, खबर फैलिन्थ्यो नगरा पिटे– जर्रसाप जन्म भयो, सलामी अर्पण पालैपालो, वा ! कसैका सन्तान जर्रसाप जन्मिने, कसैका सन्तान सधैंभरि सबै अवसरबाट, सुविधाबाट, अधिकारबाट वञ्चित हुनुपर्ने ? युवराज धर्तीमा पदार्पण गरिबक्सियो ! हामी गद्गद् छौं, खुशी मनाऔं, भावी राजा, भावी हाम्रो शासक ! हाम्रा टाउकोमा डण्डा हान्ने, हाम्रो टाउकोमा बुटले कुल्चिने जन्मिबक्सियो, खुशी हौं । त्यस्ता दिन थिए, जनतालाई त्यसरी मुर्ख बनाएर राखेका थिए ।
नागरिक भएर नागरिक सर्वोच्चतालाई बुझ्दैन भने त्योभन्दा अधिनायक कुरा के होला ? सम्पूर्ण नेपाली जनता कोही पनि व्यक्तिभन्दा माथि छ । सम्पूर्ण नेपाली जनतामा सार्वभौमसत्ता छ । जनता शक्तिका स्रोत हुन् । यो नमानेर फलानो व्यक्ति सत्ताको स्रोत, शक्तिमा सार्वभौमसत्ता त्यो के भनेको ? यस्ता लहडबाजी कुरा हुने गरेका छन्, कहिले कहिले हुन्छन् । अलिक अप्ठ्यारो परिस्थिति देखे भने हाम्रो पो पालो आउँछ कि भनेर तिनीहरू दुलामा पसेका हुन्छन् कमिला पसेको जस्तै, अनि फुर्रर निस्किन्छन् । तिनीहरू मौका हेरेर बसेका हुन्छन्, बिरालो छ कि छैन भनेर मुसाले यस्सो प्वालबाट टाउको निकालेर हेर्छ नि, त्यसैगरी तिनीहरू मौका हेरेर बसेका हुन्छन् । वरिपरि खतरा देखेनन् भने फुत्त निस्किन्छन् । त्यस्तै प्रणालीमा, जनताको पङ्क्तिमा कतै अन्योल, भ्रम, असन्तुष्टि आदि कुराहरू छ भने यिनीहरू फुत्त बाहिर निस्किएर हाम्रो पालो आयो कि भनेर खुलेआम आँगनमा निस्किएका हुन्छन् तर यिनीहरूको पालो आएको हुँदैन ।
त्यो भ्रम हो । हामीले यसलाई भ्रममै सीमित रहन दिनुपर्छ, जनता सचेत हुनु पर्दछ । कुनै अलमलमा पर्नु हुँदैन । अघिल्लो वक्ताले भन्नुभयो नि, तपाईं हाम्रा छोराछोरी कहाँ छन्, के गर्दै छन् ? हामी आफ्नै छोराछोरीहरूलाई सम्झाउँदैनौं, आफ्नै छोराछोरीहरूलाई प्रगतिशील विचार बुझाउँदैनौं, आफ्नै छोराछोरीहरूलाई विज्ञानसम्मत कुरा बुझाउँदैनौं, हामी समाजका वैज्ञानिक, हामीले समाज परिवर्तन गर्नु छ, सही बाटोमा लानु छ, सही बाटोमा नयाँ पुस्तालाई लिएर हिँड्दैनौं भने कसलाई लिएर हिँड्छौ त ? अवस्था के हुन्छ, मैले मेरो बच्चाबच्ची नसम्झाउने, तपाईंले तपाईंका बच्चाबच्ची नसम्झाउने, अर्काले अर्काको बच्चाबच्ची नसम्झाउने गर्दागर्दै पोखरीमा दूध चढाउन गएको जस्तै हुन्छ । सबैले दूध चढाउन लिएर गएका हुन्छन् । म एउटाले पानी लिएर गएर के हुन्छ र, कसैले नदेख्नगरी फुत्त हाल्छु भन्दा सबैले पानी बोकेर गएछन्, एकथोपा दूध पोखरीमा परेन, पोखरी त सङ्लै छ । त्यस्तै हामीले आप्mनो भूमिका इमानदारीका साथ पुरा गरेनौं भने त हरेकले त्यस्तै गर्दागर्दा पोखरी त जस्ताको तस्तै रहला नि ।
छोराछोरीलाई सही र वैज्ञानिक विचारबारे बुझाउनुपर्छ
त्यसकारण हामीले आफ्ना ठाउँबाट आफ्ना केटाकेटी, आफ्ना छोराछोरी, सन्तानलाई सही विचार बुझाउनुपर्छ । भोलि देश कसले चलाउँछ ? एउटा मात्रै पेशामा, एउटा मात्रै व्यवसायमा मान्छे भएर हुँदैन । हामीलाई किसान, मजदुर, डाक्टर, इन्जिनियर, पत्रकार, पाइलट, ड्राइभर पनि चाहिन्छ । सबै चाहिन्छ । तिनीहरूको सबैको पेशा सम्मानजनक हुनुपर्दछ, सबैको तलब बाँच्न, खान, लगाउन, छोराछोरी पढाउन पुग्ने हुनुपर्दछ । पेशा विभिन्न हुन सक्छन् । कोही पेशाको एकदमै न्यून पारिश्रमिक, कोही पेशाको एकदमै आकाश छुने पारिश्रमिक त्यस्तो हुनु हुँदैन । बैङ्कमा महाप्रबन्धक हुनेको २०÷२५ लाख ! २५ लाख एउटा मान्छेलाई किन चाहिन्छ ? किन दिने महिनाको तनखा २५ लाख ? नेपालमा जीविका चलाउन केही गर्न पनि चाहिँदैन महिनाको २५ लाख । अनि त्यही अफिसको कार्यालय सहयोगी, सुचिकार, कुचिकारलाई न्यूनतम तलवभन्दा पनि कम दिन खोज्ने ? अहिले नेपालमा नर्सहरू न्यूनतम तलबको आधा पनि प्राप्त गरिराखेका छैनन् । अनि विदेश जाने क्रम बढ्दैन ?
न्यूनतमभन्दा तल पारिश्रमिक कारबाहीको विषय
भन्दा तल त्यसकारण रोजगारदाताहरूलाई पनि म भन्न चाहन्छु,– कसैले पनि न्यूनतम पारिश्रमिकभन्दा तल दिने, छुट छैन, त्यसमा मञ्जुरी छैन । त्यसमा सरकारले ध्यान दिनुपर्छ र कारबाहीको विषय बनाउनुपर्छ । त्यो शोषण हो । शोषण गर्न पाइँदैन । त्यो खुलेआम शोषण हो । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि कम दिएर कसैले काम लगाउँछ भने त्यो शोषण हो, त्यो कानूनको उल्लङ्घन हो, त्यसमा कारबाहीको विषय हुनुपर्छ । त्योभन्दा माथि दिन पाइन्छ तर दिँदा पनि अचाक्ली दिन पाइँदैन । नेपालको हकमा भन्ने हो भने एक लाख, डेढ लाख तलव भए त पुग्छ होला नि जिन्दगी चलाउन । अमिल्दो भएपछि, कोही त भने जहाजमा हरर..., कैका भने पसिना तरर.... भन्ने गीत त्यसैगरी बन्छ ? त्यो खालको असमानता र विभेद हुनु हुँदैन । त्यसलाई अन्त्य गर्नु पर्दछ ।
तपाईंहरू सहरसँग, बजारसँग सम्बन्धित, बजारको पेरिफेरिसँग सम्बन्धित, काँठसँग सम्बन्धित साथीहरू हुनुहुन्छ । तपाईंहरूको उत्पादन र उत्पादनको ढाँचा कसरी बदल्ने, तरिका कसरी बदल्ने ? हिजोको जस्तो एउटा युनिट उत्पादनको, एउटा परिवार चल्ने उत्पादन युनिट भएर अब काम चल्नेवाला छैन । त्यसलाई अलिक सहकारितामा, सामुहिकतामा, समुदायमा कसरी रूपान्तरण गर्ने ? व्यवसायिकता कसरी प्रयोग गर्ने ? त्यसमा मेसिनको प्रयोग, मेसिनीकरणको प्रयोग कसरी गर्ने ? त्यसको आधुनिकीकरण कसरी गर्ने ? एक्लैले सक्दैन भने एउटा समुदाय खडा गरेर त्यो समुदायभित्र हरेकलाई उत्पादनका सम्बन्धहरूमा ओनर (मालिक) कसरी बनाउने ? श्रम मात्रैले पनि ओनर हुनसक्छ । कसैसँग कुनै चिज होला, कसैसँग कुनै चिज नहोला, कुनैसँग औजार होला तर कसैसँग केही छैन भने श्रम गरेर पनि उ त्यसको हिस्सेदार हुनसक्छ र मालिक हुनसक्छ । ओनरसीप दिलाउनेगरी कसरी जाने ? आफ्नो आफ्नो हिस्साको लगानी र प्रतिफल त छँदैछ । सहरका आसपासका ठाउँहरूमा पनि पर्याप्त जमिन छैन । त्यो भएको न्यूनतम जमिनलाई अधिकतम उत्पादन दिने, अधिकतम आम्दानी दिने, उत्पादनको मात्रै प्रश्न छैन, आम्दानीको पनि प्रश्न छ । कसरी अधिकतम आम्दानी दिने बनाउने ? त्यो कुराको अगुवाई हाम्रो पार्टीका नेता कार्यकर्ताहरूले गर्नुपर्छ, हाम्रा जनप्रतिनिधिहरूले गर्नुपर्छ । अरुले त्यस्तो गर्न सक्दैनन् ।
यस सम्बन्धमा हामीले केही अभियानहरू अगाडि बढाउने छौं र बढाउँछौं, केही तरिकाहरू अगाडि बढाउँछौं । मन्त्रालयहरूले त्यसको अगुवाई गर्ने छन् र केही व्यावसायिक तालिमका कुराहरू अगाडि बढाइने छ । साथीहरू त्यस अभियानको अभियन्ताका रूपमा हुनुपर्छ । अहिलेसम्म मान्छे मानवअधिकारकर्मी, अरु कर्मीहरू भए । अब त बढी उत्पादनकर्मी हुनु पर्यो नि । यहाँ अलिकति बोल्न जान्ने र टाठाबाठा यो कर्मी र त्यो कर्मी, अब त उत्पादनकर्मी, आधुनिकीकरणका कर्मी हुनुपर्यो नि । अनि यो अधिकारकर्मी, उ अधिकारकर्मी भन्यो, विभिन्न खालका कर्मीहरूभन्दा बढी बाँच्न, बाँच्न सिकाउने, सक्षम बनाउन खोज्ने कर्मी हुनुपर्यो । जनतालाई सचेत बनाउने कर्मी हुनुपर्यो ।
त्यसकारण मानवअधिकार लगायत वातावरणकर्मी हामी नै हौं, उत्पादनकर्मी हामी नै हौ, आधुनिकीकरणकर्मी हामी नै हौं र व्यावसायिकीकरण गर्ने हामी नै हौ । तसर्थ म साथीहरूलाई भन्न चाहन्छु, हामीले यस दिशामा काम गर्नुपर्छ । रोजगारीका अवसर खोजेर हिंड्ने होइन । रोजगारीको अवसर भनेको धेरै ठूलो कुरा होइन । उद्यमशीलता सिर्जना गर्ने कुरा ठूलो र महत्वपूर्ण कुरा हो । हामीले हाम्रा युवालाई सँगसँगै उद्यमशीलता कसरी सिर्जना गर्ने, कसरी उद्यमशीलतातर्फ जाने, स्टार्टअप कसरी गर्ने, सानाबाट सुरुवात कसरी गर्ने ? कोही पनि एकैचोटी धनी भएको हुँदैन, कोही पनि एकैचोटी ठूलो उद्यमी भएको हुँदैन, कोही पनि एकैचोटी ठूलो व्यवसायी भएको हुँदैन, कोही पनि एकैचोटी ठूलो मान्छे भएर जन्मिएको हुँदैन, सबै बच्चा भएर जन्मिन्छन् । सबै जन्मिँदा बच्चै जन्मिन्छन् । उद्योग पनि सानै जन्मिन्छ, व्यवसाय पनि सानै जन्मिन्छ । अनि विस्तारै त्यो बढ्दै बढ्दै जान्छ । त्यसकारण हामीले आत्मविश्वास राख्नु पर्यो, हामी सानोबाट सुरु गर्छौं र त्यसलाई बढाएर लान्छौं । कहीँ असफलताको पनि खतरा हुन्छ । असफलता कहाँ कहाँबाट हुनसक्छ भन्ने कुरामा ध्यान राख्नुपर्छ । असफलता र सफलताका केही तरिका हुन्छ्न, केही नीति नियमहरू हुन्छन् । तिनीहरूलाई कसरी समेटेर र समालेर लाने, कसरी असफल हुन नदिने, त्यस कामलाई ध्यान दिनुपर्छ ।
सबै चेतनाको नायकत्व एमालेले लिनुपर्छ
उत्पादनका क्षेत्रमा, जीवन निर्वाहका क्षेत्रमा, स्वास्थ्य चेतना, उत्पादन चेतना, शिक्षा चेतना यी सबै चेतनाका अभियन्ता र नायकत्व नेकपा (एमाले)ले लिनु पर्दछ । अब हामीले यत्तिकै राजनीति मात्रै गर्यौ भने पनि हुँदैन । यसको नायकत्व लिनु पर्छ । यसको नायकत्व लिन आपूm तयार भइसकेको छैन भने त्यो तयारीका लागि कहीं गएर तालिम लिनुस् र तपाईंले तालिम सिकाउन सक्नुहुन्छ । सहरका लागि के उपयोगी हुनसक्छ, मोफसलका लागि के उपयोगी हुनसक्छ । त्यसका लागि कुन प्रकारका कामहरू सिक्न सकिन्छ, सिकाउन सकिन्छ । घरमै बस्ने गृहिणीहरूले घरका काम सँगसँगै कसरी आम्दानीका स्रोत बनाउन सक्छन् ? घरघरमा पुग्दा मेरो आम्दानी छैन भनेर भन्दा यसो गर्नुस् तपाईंको आम्दानी हुन्छ भनेर तपाईंले उपाए दिनु पर्छ । काम गर्दैन भने त बेग्लै कुरा हो । त्यो उपाए दिनु पर्छ र त्यो उपाय दिएपछि त्यसअनुसार जनता हिंड्छन् ।
मान्छेलाई आम्दानी चाहिएको छ तर बाटो देखेको छैन, उपाय छैन । स्टार्टअपका लागि सरकारले सहयोग गर्नुपर्छ, सहजीकरण गर्नुपर्छ, अनुदान, ऋण के दिने हो दिनुपर्छ । त्यसका लागि नीति बनाउनुपर्छ र अविलम्ब काम गर्नुपर्छ । अहिले सरकार परिवर्तन भएको छ । अघिल्लै सरकार जस्तो दुई वर्षमा तीन प्रतिशत गरिबी बढाउने हो भने सरकारमा हामी हुनु नहुनुको केही अर्थ हुँदैन । हामीले सरकार छोडेको यो लगभग साढे दुई वर्षमा निरपेक्ष गरिबीको रेखामुनी रहेकालाई हामीले १७ प्रतिशतमा झारेका थियौं । तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २०.२६ प्रतिशतमा गरिबी बढ्यो र माथि गयो । त्यसलाई घटाउनु छ, शून्यमा झार्नु छ । केही देशहरूले गरेका छन्, हाम्रो छिमेकमा चीनले गरेको छ । समाजवाद र समाजवादउन्मुख भनेको त्यही हो । एउटा जिम्मेवार सरकार, जनता हेर्ने सरकार, जनताका समस्या देख्ने सरकार ।
जनताका पैतालामा बिझेको काँडा झिक्नुपर्छ
हामीले किन सडक बालबालिकालाई उठायौं ? सडकमा हाम्रा बालबालिका, छोराछोरी खाते भएर बस्न सक्दैनन् । कुकुरसँग खानेकुराका लागि झगडा गरेर हाम्रा छोराछोरी खाते भएर बस्न सक्दैनन् । तिनको व्यवस्था जनताको सरकार छ, सरकारले गर्छ भनेर मैले अभियान चलाएको थिएँ, सडक बालबालिकाको हामीले उद्धार गरेका थियौं । हाम्रो समयमा सडक बालबालिका थिएनन् । सहयोगापेक्षित सडक मानव, अलपत्र परेकाहरू, परित्यक्तहरू मानसिक रूपमा समस्या भएर छोडिएकाहरू, स्मरण शक्ति बिग्रिएर घर जान भुलेर अलपत्र परेकाहरू त्यस्ता सबैलाई हामीले व्यवस्थापन गरेका थियौं । मानसिक स्वास्थ्य बिग्रिएर साङ्लाले बाँधेर, डोरीले बाँधेर घरघरमा राखिएका मान्छेहरूलाई डोरीबाट फुकालेर उनीहरूलाई मानवीय व्यवहार दिंदा कसैलाई डोरीमा बाँध्नु परेन । साङ्लामा बाँधिएर वर्षाै बिताएका मानिसहरू साङ्ला फुत्काएपछि सामान्य जीवन व्यतित गरेर बस्न सक्दा रहेछन् उनीहरूलाई इरिटेड गरेन भने । निको हुँदा रहेछन्, भएका छन् ।
हामीले ज्येष्ठ नागरिकहरूको व्यवस्था, एकल महिलाहरूको व्यवस्था, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूको व्यवस्था किन गर्यौं भने जसको उपाय छैन– उनीहरूका लागि, जसको सहारा छैन–उनीहरूका लागि, जसका अभिभावका छैनन्–त्यसको अभिभावकत्वका लागि सरकार छ भन्ने जिम्मेवार सरकारको भावना हामीले देखाएका थियौं । समाजवादउन्मुख भनेको त्यही हो । यो देशको प्रतिव्यक्ति आय मात्रै देखाउने होइन, जनताको दुःखकष्ट हरण गर्ने हो । पैतालामा बिजेको काँडा निकाल्ने हो, ठूला कुरा मात्रै गर्ने होइन । त्यो काम हामी हुँदा गरेका थियौं ।
कामको प्रचार नपुगेर काठमाडौंमा हारियो
काठमाडौंमा किन हारियो ? किन हारियोभन्दा हामीले के काम गरियो भन्ने प्रचार नै भएन । के काम हामीले गर्यौं ? किन गर्यौं ? कसरी गर्यौं ? काठमाडौंका सडकभरि भिखमङ्गा हुन्थे, हामी सरकारमा हुँदा यो भिखमङ्गाको देश होइन, कसैले भिख माग्नु पर्दैन भन्यौ । नेपालीहरू भिखमङ्गा खासै रहेनछन् । भिख माग्न नदिएपछि जहाँबाट आएका थिए, उतै गए । नेपालीहरू खासै भिखमङ्गा रहेनछन्, केही केही मात्रै केही अवस्थाले, परिस्थितिले, आनिबानी बिग्रिएका रहेछन् । त्यो सबै व्यवस्थापन हुन सक्दो रहेछ । हामी हुँदा हामीले धेरै काम गर्यौ, ठूलाठूला कामहरू गर्यौं । तर, काम गरेर पनि काम नगर्ने अरु सरह नै हामी भयौं । हाम्रा विरोधीहरू हाम्रा विरुद्ध एकजुट भए किनभने हामीले राम्रो काम गर्यौं । हामी अरुभन्दा पृथक देखियौं । त्यसकारण हामीलाई होच्याउनका लागि हाम्रो राम्रो कामलाई हामी विरुद्ध मिलेर आलोचना गरे । त्यसलाई चिर्नेगरी हामी जान सकेनौं ।
ज्ञान, सन्देश दिने स्टाटस लेख्नूस्
फेसबुक छ, स्टाटस हामी लेख्छौं तर काम न काजका स्टाटस लेख्छौ । साथीभाइसँग चित्त बुझेन भने एउटा सुइरो बनाएर घोच्ने स्टाटस फ्याट्ट हादिन्छौं । त्यसको के काम छ भन्या ? हाम्रो स्टाटसले केही सन्देश देओस्, केही चेतना दिओस्, केही सिक्ने मौका मिलोस् । एमालेका कार्यकर्ताको स्टाटस मान्छेले खोजीखोजी हेरोस् कि एउटा ज्ञान मिल्छ भनेर, एउटा सन्देश पाइन्छ भनेर । के हेर्ने एमालेका मान्छेको फोहोरी गालीगलौज भन्ने हुन्छ भन्ने नहोस् । त्यस कुरामा हामीले ध्यान दिनुपर्यो । पार्टीको पक्षमा बोल्नु पर्यो, पार्टीको पक्षमा प्रचार गर्नु पर्यो, विपक्षीहरूले लगाएका झुटा आरोपहरूको सशक्त प्रतिवाद गर्नु पर्यो, खण्डन गर्नु पर्यो । त्यो झुटो कुरा हो, बेइमानी किन लेखेको भनेर हामी किन भन्दैनौ ? नगर यस्तो भनेर किन भन्न सक्दैनौ ? त्यो हामी भन्दैनौ । काम भएन भन्यो भने यसको अपजस कसलाई जान्छ, अँ ठिक्क पर्यो, अहिले भने खायो नि, बडा ठूल्ठूला कुरा गर्दथ्यो, हानेछ मज्जाले भनेर आनन्द मान्ने !? अनि पार्टी कसरी अगाडि हुन्छ, कसरी एकजुट हुन्छ ?
जनताका लागि चुम्बक बन्न सक्नुपर्छ
मैले अघि सुरुमा भनेँ– तपाईंहरूसँग भेट हुँदा मलाई खुशी लागेको छ, आनन्द लागेको छ कि तपाईंहरू राजधानीका अगुवा साथीहरू हुनुहुन्छ, राजधानीका संगठक हुनुहुन्छ, राजधानीका नेताहरू हुनुहुन्छ । राजधानी बिगार्ने कि सपार्ने भन्ने तपाईंहरूका हातमा छ । तपाईंहरू जनताका नेता हुन सक्नु भयो भने राजनीति सप्रिन्छ, काठमाडौं सप्रिन्छ, राजधानी सप्रिन्छ । तपाईंहरू जनताले माया गर्ने, मन पराउने, जनताका लागि तपाईंहरू चुम्बकजस्ता हुनुभयो भने सर्लक्कै काठमाडौं सप्रिन्छ । नत्र भने कता को हो, कहिले नदेखेको, नचिनेको, कुन केटाकेटी आएर मर्याक र मुरुक्क गर्छ, हाँस्छ, चाहिने नचाहिने कुरा गर्छ, हामी गर्छौं के के भन्छ, गर्ने के हो थाहा छैन तर भन्दिन्छन् । अनि जनता त्यतैत्यतै कुद्छ । त्यस स्थितिबाट हामीले जनतालाई मुक्त गर्नु पर्यो र हाम्रो सङ्कल्प के हो, बाटो के हो, गन्तव्य के हो, हामी के गर्न खोज्दैछौं भन्ने कुरा बताउनुपर्यो ।
हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन खोज्दैछौं । नेपाललाई समृद्ध, सुशासनयुक्त बनाउन खोज्दैछौं, नेपाली जनतालाई सुखी बनाउन खोज्दै छौं । त्यो हामीले जनतालाई बुझाउनु पर्यो । मैले विश्वास लिएको छु, कमरेडहरूले यस ढङ्गले काम गर्नुहुने छ । आपूmलाई जनताका बीचमा लोकप्रिय स्थापित गर्नुहुने छ । कमिटीमा छानिनु महत्वपूर्ण कुरा होइन । कोही कोही मान्छे नेता छानिएपछि पार्टी सिद्धिन्छ, कमिटी सिद्धिन्छ र सबै कुरा सिद्धिन्छ । कोही कोही नेता छानिएपछि पार्टी बन्छ, कमिटी बन्छ, सुदृढ हुन्छ, व्यापक हुन्छ, लोकप्रिय हुन्छ । त्यसकारण हामीले छानिनु मात्रै ठूलो कुरा होइन, छानिएपछि हाम्रो काँधमा आएको जिम्मेवारी सफतापूर्वक बहन गर्नु चाहिँ ठूलो कुरा हो । तपाईंहरूलाई शुभकामना छ, तपाईंहरू आफ्ना काँधमा आएको जिम्मेवारी सफतापूर्वक वहन गर्न सक्नुस्, तपाईंहरूको सुकीर्ति फैलियोस् । तपाईंहरूलाई धेरैधेरै बधाई छ, धेरैधेरै शुभकामना छ । धन्यवाद !
(नेकपा (एमाले) काठमाडौ जिल्ला कमिटीद्वारा २०८० चैत ७ गते आयोजित बृहत कार्यकर्ता भेलामा गर्नुभएको सम्बोधनको पूर्णपाठ)