NP EN

‘कार्यकर्ता ननाच्ने नर्तक, नगाउने गायक जस्ता भए’

‘आगामी दिनमा हामी फटाएका भोटा गन्ने, सदस्यता प्राप्त गरेको मिति हेर्ने कुरातिर जाँदैनौं ।’
 
यो प्रशिक्षण तपाईंहरूका लागि लाभदायी हुनेछ, यसबाट तपाईंहरूले काम गर्ने तरिका र केही ज्ञान पनि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । वैचारिक, सैद्धान्तिक पक्षका कुराहरू पनि होलान् र व्यावहारिक पक्षका कुराहरू पनि होलान्, ती कुराहरू तपाईंहरूले प्रभावकारी ढङ्गले सिक्दै जानुपर्छ ।
अहिलेसम्म हाम्रो आन्दोलनको चरण कस्तो थियो भन्दा हामीले जनप्रतिनिधि बनाउँदा योग्यता र क्षमता भन्दा इतिहास र योगदानलाई ध्यानमा राख्थ्यौं । यति लामो इतिहास छ, यति लामो योगदान छ, दिनुपर्छ भनेर गर्दथ्यौं । समानुपातिकमा अझ बढी इतिहास र योगदान हेरिन्थ्यो भने प्रत्यक्षमा जित्ने कुरालाई पनि ध्यानमा राख्नु पर्थ्यो । समानुपातिकतर्फ भने बन्दसूचिमा राख्यो, पठायो । इतिहास बढी हेर्ने चलन थियो । ३० वर्षे पञ्चायतकालमा मान्छेले अवसर पाउने सम्भावना थिएन, बलिदान मात्रै गर्नु पर्दथ्यो । त्यसकारण हामीले त्यसयताकै समय (३३÷३४ वर्षको समय), पञ्चायतकाल भन्दा लामो समय पञ्चायतकालमा र त्यसभन्दा अघि गरेका दुःखहरूलाई मूल्याङ्कन गरेर हामीले जनप्रनिधि बनाउने गर्यौं । अब हामी मुख्य रूपमा चारवटा कुरालाई आधार बनाउँछौंः 
योग्यता, निष्ठा, क्षमता र सक्रियता
अब प्रशिक्षण कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिन्छन् र त्यसको परीक्षा पनि लिइन्छ । परीक्षामा कति नम्बर ल्यायो, कति रचनात्मक ढङ्गले खोज अध्ययन गरेर प्रस्तुत गर्न सक्यो, यस्ता अनेक प्रकारका अभ्यासहरू पनि गराइन्छ । कसरी रिसर्च गर्ने भन्ने कुरा सिकाइन्छ । खोज कसरी गर्ने, अध्ययन कसरी गर्ने भन्ने कुरा पनि सिकाइन्छ र त्यसको परिणाम कस्तो आयो भन्ने पनि सिकाइन्छ र कसरी परिणाम निकाल्ने भन्ने पनि सिकाइन्छ । 
अब परीक्षाको परिणाम पार्टी कमिटीमा उम्मेदवार हुने क्राइटेरियामा पर्ने छ । यो स्तर पास गरेकाले मात्रै यस स्तरमा उम्मेदवार हुन पाउँछ भन्ने कुरा पनि सामेल हुन्छ । उम्मेदवारको सदस्यताको वर्ष गनेर होइन । 
मैले हिजो काठमाडौंमा बोल्दा भनेको थिएँ– मैले २०२६ सालमा ड्राइभिङ सिकेको, त्यसयता १४ वर्ष जेलमा बस्नु पर्यो । १२ वर्ष जति चलाउने मौका मिल्यो होला । त्यसपछि हेलिकप्टर दुर्घटनामा परेपछि मैले चलाउन छोडेँ । मैले चलाउन छोडेको अहिले २८ वर्ष पुगेर २९ वर्ष लागेछ । २९ वर्षदेखि नचलाएपछि मेरो लाइसेन्स पुरानो छ भनेर के गर्ने ! दुई महिना अगाडि ड्राइभिङ सिकेकाले बढी राम्ररी चलाउँछ, लाइसेन्स त मेरो पुरानो हो नि ! तर, नचलाएपछि मेरो लाइसेन्स  काम लाग्दैन । त्यसकारण चलाएपछि मात्रै लाइसेन्सले काम गर्छ । उहिले पास गरेको थिएँ मैले भनेर केही अर्थ छैन । 
त्यस्तै, मेरो यति सालको सदस्यता भनेर सदस्यता जतनसँग राखेको छ तर, सदस्यले गर्नुपर्ने काम गरेको छैन, सक्रियता छैन भने हुँदैन । सदस्यताको काम कति गर्यो, त्यो जाँच लिएपछि थाहा हुन्छ । 
दोस्रो कुरा अब मनोगत होइन, कामको आधारमा सब्जेक्टिभ र अब्जेक्टिभ ढङ्गले के काम गर्यो भन्ने आधारमा त्यसको नम्बर राखिन्छ । त्यसो भएपछि परीक्षाको कुरा, कामको मूल्याङ्कन, सक्रियता, बैठक कति आयोजना गर्यो, सदस्यता कति वितरण गर्यो, संगठन कति बनायो, प्रशिक्षणमा कति भाग लियो र कति दियो, सक्रियता कस्तो रह्यो, गाउँघरमा कसरी गयो, यो पक्षलाई पनि हेरिन्छ । 
आनिबानी र व्यवहार  
यस्सो बोलायो भने झोक्किएर, किन बोलाएको, यहाँ काम गरेको देखेन ? हँ, किन बोलाएको जस्तो म्यानरले हुँदैन । बोलाएको होला साथीभाइले, किन बोलाउनु भयो भनेर नम्र सोध्नु पर्छ । झर्किए पनि डिस्टर्व त भइसक्यो, झर्किएर के फरक र के फाइदा ? त्यसकारण झर्किने, मान्छेलाई मिसविहेव गर्ने, होच्याउने, मान्छेलाई अपमान गर्ने, उद्दण्डता देखाउने, अनुशासनहीन ढङ्गले कुरा गर्ने आदि कामहरूको पनि लेखाजोखा र रेकर्ड हुन्छ । व्यवहार, आचरण र म्यानर यो पक्ष पनि हेरिने छ । 
गाउँघरका चिनेजानेका सबै मान्छेसँग पैसा सापटी लिएको छ, तिर्न भनेपछि जानेको छैन । त्यसो भएपछि मान्छेले मन पराउँदैनन् । यस्ता कुराहरूको पनि मूल्याङ्कन गरिन्छ । यो सबै कुराहरूबाट पार्टी कमिटीमा बढोत्तरी, जनप्रतिनिधिका ठाउँमा उम्मेदवारी वा बन्दसूचिमा सामेल गर्ने कुरा, वस्तुगत र ठोस मूल्याङ्कनका आधारमा मात्रै गरिन्छ । त्यसका मैले अघि भनेका चारवटा आधार छन् । 
अवसरका लागि नेताहरूसँगको निकटताले काम गर्दैन
अब कसैसँगको कुनै निकटताले वा अनिकटताले केही पनि गरिँदैन । तस्वीर आफैँ बोल्छ भनेको जस्तै, उसको मूल्याङ्कन चार्टले बताउँछ, को योग्य छ र कति नम्बर छ । हामीले कमिटीसँग सिफारिस माग्ने गरेका छौं– अलिकपछिदेखि कमिटीसँग सिफारिस होइन, मूल्याङ्कन चार्ट माग्छौं । सबैको तथ्यगत चार्ट पठाऊ भन्छौं, जुन कमिटीले निर्णय गर्ने हो, त्यस कमिटीले त्यो चार्ट माग्छ । त्यसो गरेपछि मैले चिनेको छैन पनि भन्न परेन, चार्टले बताउँछ । त्यो खालको परिपाटी बसाउँदै जान्छौं । त्यसो गर्दा योग्य मान्छे जिम्मेवारीमा पुग्छ र जिम्मेवारी पाउँछ, योग्य मान्छेले प्रतिनिधि पाउँछ, योग्य मान्छेले पार्टीको माथिल्लो तहमा प्रमोशन पाउँछ र ठाउँ ओगटेको जस्तो हुँदैन । अहिले पनि कतिपय ठाउँमा ओगटेको जस्तो छ । अहिले पनि कमिटीमा मान्छे छन् तर, कमिटीका सदस्यहरूले ठाउँ ओगटेको जस्तो भएको छ । अहिले हामीले प्रशिक्षणमा तिब्रता दिनुको कारण के हो भने, अहिलेको स्थितिलाई अन्त्य गर्नुपर्छ । बाग्मती प्रदेशमा सबैभन्दा ठूलो पार्टी हामी, काम गरेको हामीले छ, सबैले देख्नेगरी काम भएको छ । तर, हामीले आफूले गरेका काम यो गरेका छौं भनेर भन्दैनौं । पार्टीले गरेका काम भने के हुन्छ ?
कार्यकर्ता नगाउने गायकजस्ता
हामी वर्षौ लगाएर सहनाई सिक्छौंं, हामीले बजाएको सहनाईको मिठो धुन कसैले सुन्दैन । एउटा आउँछ र पिपिरेको पात प्याप्या पार्छ, कति राम्रो भनेर गुरुरु... मास (मानिसको हुल) त्यतै कुद्छ । त्यो के भएको ? कति वर्ष लगाएर तबला सिकेर हामी तबला बजाउँछौं, अर्कोले आएर टेबलमा लौराले ड्याङड्याङ पार्छ, मान्छेहरू वा वा भन्दै त्यसकै पछाडि कुद्छ । के भएको ? हामी के गरिराखेका छौं ? हामीले यत्रो काम गरेका छौ, अर्काले केही गरेनन् भन्छ, त्यसपछि मान्छेले हो हो भन्छन् । हामी चुप्प लागेर सुनिराखेका छौं । त्यस्तो होइन, हामी यो गरेका छौ भनेर भन्नुपर्छ, हामीले प्रतिवाद गर्दैनौं, भन्दैनौ भने के हुन्छ ? तपाईंले राम्रा राम्रा दशवटा गायक गायिका ल्याउनु भयो, तिनले गाउँदैनन् भने के काम ? एमालेका कार्यकर्ता त्यस्तै भएका छन् । फेमश गायक, गायिका गाउँदैनन्, फेमश डान्सर नाँच्दैन, फेमश बाद्यवादक बजाउँदैन । त्यस्तै भइराखेको छ । त्यसकारण यो सबै कुराको हिसाब किताब गर्न थालिने छ । पार्टीप्रतिको निष्ठादेखि लिएर सबै कुराको हिसाब हुन्छ ।
यहाँनिर कसैको व्यक्तिगत लाइक, डिसलाइक (मन पर्ने र नपर्ने), मन पराउने, नपराउने, निकट, दूरी यी सबै कुराको केही पनि अर्थ छैन । आन्दोलनका लागि नातावाद, कृपावाद, आफन्त, चिनजान त्यस्तो केही अर्थ छैन । हामीले केही कुराहरू सच्याउनुपर्ने छ । सच्याउनु के छ भने हामी अधिवेशन गर्छौं । जस्तैः हामी बाग्मती प्रदेशको अधिवेशन गर्छौं । बाग्मतीको अधिवेशन गर्दा बाग्मतीको एउटा कुनाको मान्छे, धादिङको उत्तरी कुनाको मान्छे, मकवानपुरको दक्षिणी कुनाको मान्छे, चितवन माडीको कार्यकर्ता अथवा दोलखातिरको कार्यकर्ता, रामेछाप, सिन्धुलीको कार्यकर्ता अथवा मकवानपुरको पश्चिमतिरको कार्यकर्ता एउटाले अर्कालाई चिनेको पनि हुँदैन । अब भोट दिनु पर्छ, कमिटी त बनाउनु पर्यो । त्यहाँ आएर भोट दिंदा तस्वीर हेरेको जति पनि छैन, कसरी चिनिन्छ उसको इतिहास के छ ? योगदान के छ ? क्षमता के छ ? पृष्ठभूमि के हो ? त्यो चिनिएको हुँदैन । तर कमिटी त बनाउनै पर्छ । अनि खासखुस सोध्यो, कसलाई भोट हाल्ने हो ? एउटालाई भए पो उसले भन्ने हो, हाल्नुपर्छ १५० जनालाई । अनि उहाँले कसरी भन्ने ? कुनलाई भोट हाल्ने हो, यता हेर्यो मान्छे चिनेको छैन । 
त्यसकारण यो प्रशिक्षणको साथीहरूलाई विशेष महत्व छ भनेर मैले बताउन खोजेको हुँ । दुई वटा कुरामा महत्व छ । 
पहिलो, तपाईंहरू जहाँ हुनुहुन्छ, त्यस ठाउँको कार्य सफतापूर्वक सम्पन्न गर्नुस् ।
दोस्रो, भोलि तपाईंहरूको मूल्याङ्कनका लागि यो आधार हुन्छ । 
कार्यक्षमता विस्तारका लागि प्रशिक्षण
मूल्याङ्कनका लागि परिपाटी बसाउनका लागि कसरी बसाउने भन्ने कुरा यो आधार हुन्छ । अब हामी केन्द्रदेखि नै आगामी दिनमा कोही पनि मान्छेलाई मूल्याङ्कन फारमले तल सार्दिन सक्छ, फारमले माथि ल्याउन सक्छ । मूल्याङ्कनका आधारमा काम हुन्छ । नचिनेका मान्छेलाई भोट हालेका आधारमा अथवा एकछिन् झिल्के भाषण गर्छ नि कसैले, अब त्यहाँ कोही चिनेको छैन, केही छैन, झिल्के भाषण जसले ग¥यो त्यही ! हामीले कमिटीमा देखेका छौं । लामो पृष्ठभूमि, इतिहास, अत्यन्तै योग्यताका साथ, क्षमताका साथ, निष्ठाका साथ काम गरेका मान्छे छन् । ती पछाडि परेका छन्, तिनको नाम नै आउँदैन । एकाध मान्छेले झिल्के भाषण गरेको हुन्छ, त्यसले स्वाट्ठ लैजान्छ । झिल्के भाषणले काम हुँदैन । काम नहुँदा कमिटी कमजोर हुन्छ, कमिटीको लिडरसीप कमजोर हुन्छ, कमिटीको सक्रियता कमजोर हुन्छ, कमिटीको कार्य क्षमता कमजोर हुन्छ । तसर्थ प्रशिक्षणले कमरेडहरूको त्यो कार्य क्षमतालाई विस्तार गर्नका लागि मद्दत पुर्याउँछ । आगामी दिनमा हामीले चिनेको मान्छेलाई मात्रै भोट हाल्ने परिपाटी बसाल्नु छ । भोलि महाधिवेशनमा तपाईंहरूले ताप्लेजुङको मान्छे चिन्नु हुन्छ कि झापाको चिन्नु हुन्छ कि, कञ्चनपुरको चिन्नु हुन्छ, दार्चुला, डोटी, डोल्पातिर कसले काम कसरी गर्दैछ भनेर कसरी थाहा पाउने ? अनि केन्द्रीय कमिटी, पदाधिकारीमा तपाईंहरूले चिन्दै नचिनिकन यसो विचार गरेर यो मान्छे को रहेछ, हिजो मसँग बोलेको थियो, त्यही मान्छे हो रहेछ कि क्या हो, बोलेको मात्रै रहेछ भने पनि चिनेको जस्तै हुन्छ नि, भोट हालौं हालांै जस्तो लाग्ने । भेट भएको जस्तो लाग्दैन, त्यो हो कि क्या हो ? ह्या जेसुकै होस्, लगाइदिउँ भनेर यसरी चिह्न लगाएर नेता छान्ने कुराले कति सही नेतृत्व छानिन्छ ? 
त्यसकारण पार्टीका अस्तिको सातौं केन्द्रीय कमिटीको बैठकमा हामीले जनवादी केन्द्रीयताको सिद्धान्तको सही कार्यान्वयन कसरी गर्ने, जनआधारित कार्यकर्ता पार्टी, हाम्रो पार्टी फेरि  पनि कार्यकर्ता पार्टी नै हो । त्यसकारण पार्टी सदस्यता मूल्याङ्कनका आधारमा पाउनुपर्छ । कमिटीमा आवद्ध मूल्याङ्कनका आधारमा गर्नुपर्छ । सक्रिय हुन्छु भनेर प्रतिबद्धता गर्छ भने, अनुशासनको पालना गर्छु, विधि विधान मान्छु भन्छ भने हामी पार्टी सदस्यता दिन्छौं, हामी पार्टी कमिटीमा मान्छेलाई आवद्ध गर्छौं । त्यसमा सफल हुन्छ भने प्रमोशन गर्छौं । ल, सदस्यता पाएको यति वर्ष भइसक्यो, संगठनमा बसेको यति वर्ष भइसक्यो, अझै पनि म फलानो कमिटीसम्म पनि नपुग्ने ? वर्षले हुँदैन, कामले हुने हो । 
हामी कहाँ चलन कस्तो छ भने केही केही कुरा जस्तोः घन्टाको हिसाबले पनि तनखा तोक्न सकिएला । तर, तपाईंले कमिज सुरुवाल सिलाउने काम गर्नुभएको छ भने दिनका आधारमा होइन, तपाईंले एउटा कमिज सिलाएर दिन बिताए पनि भयो, आधा कमिज सिलाएर भोलि गर्छु अब बाँकी भनेर दिन बिताए पनि भयो, दश वटा कमिज सिलाए पनि भयो । किनभने एउटै तनखा छ, महिनाको तनखा छ । महिनाको यति हजार भनेको छ । त्यसो गरेपछि काम हुँदैन । कतिवटा कमिज सिलाउँछ, त्यसअनुसार ज्याला । भनेपछि कामको ज्याला भयो, त्यसमा ठगी भएन । कमिज सिलाउँछ एउटाले अर्कालाई बटम लगाउने काम दिऔं । कतिवटा कमिजमा कतिवटा बटम उसले जडान ग¥यो ? उपर्युक्त ढङ्गले जडान गरेन भने रद्द, त्यसलाई फेरि खोलेर लगाउनुपर्ने हुन्छ । त्यसले कपडा बिग्रिन्छ । फेरि त्यस्तै भयो भने उसले जागिर छोड्नुपर्ने हुन्छ किनभने उसले प्रगति गर्दैन । यो परिपाटी भएन भने हामीले देशलाई समृद्ध बनाउन पनि सक्दैनौं, उकालो लगाउन पनि सक्दैनौ, काममा साँच्चै केन्द्रित भएर मान्छे काम पनि गर्दैन । 
तसर्थ, त्यसरी हामीले जति काम गर्यो त्यति पारिश्रमिक, पार्टीमा पनि जति काम गर्यो, त्यो कामको मूल्याङ्कनका आधारमा अगाडि बढ्ने परिपाटी बसाल्नुपर्छ । यसका लागि कामको क्षमता अभिवृद्धि गर्नुपर्छ । कार्यकर्ता कमरेडहरूको, जनप्रतिनिधि कमरेडहरूको वा कमिटीमा रहने कमरेडहरूको कार्यक्षमता अभिवृद्धि गर्ने, काम कसरी योजनाबद्ध ढङ्गले गर्ने, हाम्रो पार्टीको आधारभूत नीति सिद्धान्तहरू बुझ्ने, के हो हाम्रो नीति सिद्धान्त, कस्तो नीतिका साथ हामी अगाडि बढेका छौ, अरु पार्टी र हाम्रा पार्टीको बीचको भिन्नता के हो ? ती कुराहरू बुझ्नुपर्दछ । एकदम धेरै दार्शनिक कुराहरू, दर्शनको विद्धान् भएर पनि हुने होइन । दर्शनको विद्वान् भयो भने विश्वविद्यालयमा पढाउन काम लाग्छ । दर्शनका विद्वान्ले संगठन गर्छन् भन्ने छैन । त्यसकारण दर्शनको विद्वान् हो, संगठन किन गर्दैन, यो त मामुली कुरा हो, उ त अन्तर्राष्ट्रियस्तरको दार्शनिक अध्ययन गरेको मान्छे हो, अनि जावो गाउँको संगठन किन गर्दैन ? त्यस्तो  हुँदैन, त्यो विद्वान् बेग्लै कुरा हो । हवाइजहाज चलाउने पाइलटलाई रिक्सा चलाउन लगायो भने त्यसले कहाँ ठोकाउँछ र पल्टाइदिन्छ । सिद्धान्त नै फरक छ । त्यसकारण हवाइजहाज जस्तो आकाशबाट त चलाउँछ भने यहाँ रिक्सा चलाउँदैन ? त्यस्तो भनेर हुँदैन । थ्योरी फरक पर्दो रहेछ । 
ज्ञान अथाह छ, आफूलाई चाहिएको कुरा एउटा एउटा गरी सिक्नुपर्छ 
उहिले म २०२७ सालमा भूमिगत हुँदा भारतपट्टी गएर एउटा रिक्सावालाकोमा भूमिगत बसेको थिए । म अलिक छटपटे मान्छे, भित्रै बसिरहनु भन्दा, म दुब्लो पातलो थिए, अलिक रिक्सावाला जस्तो भएर फेटा बाँधेर रिक्सा चलाउनु पनि पर्यो, सिक्नु पनि पर्यो आनन्द आउँछ भनेर लागे । म त साइकल चलाइराखेको मान्छे, साइकलको थ्योरी भनेको जिउ मर्काइमर्काइ ब्यालेन्स गर्ने थ्योरी हुन्छ, रिक्सामा हेण्डिलले मिलाउने थ्योरी हुन्छ । भर्खर बिहे गरेका दुलहा दुलही मेरो रिक्सामा चढेका थिए । अलिक परतिर गएपछि मैले साइकलको थ्योरीबाट रिक्सा चलाउने भएछु, यस्सो शरिर मर्काएको खाल्डोतिर पसिहाल्यो । दुलहा, दुलही र म खाल्डोमा ! चलाउन जानेको थिइनँ, सिक्दै थिएँ भन्न पनि भएन । सरी माफ पाउँ, मलाई त चक्कर लागेको जस्तो भयो, के भयो के भयो, तपाईंहरूलाई बडा अप्ठ्यारो भयो भनेर माफी मागेँ । तर मैले साइकलको थ्योरीबाट ढल्किएर रिक्सा सोझ्याउन खोज्दा ह्याण्डलबाट सोझ्याउनु पर्दथ्यो, म त सधैं साइकल चलाइराखेको मान्छे, त्यही थ्योरीमा चलाउन खोजें, अनि भुक्लुक्क भयो । त्यसो भएर एउटा चिजबाट अर्को चिज चलिराखेको हुँदैन । त्यो ठाउँ विशेषका, काम विशेषका थ्योरीहरू जान्नुपर्ने हुन्छ । अनावश्यक विद्वताको पनि काम छैन । हामीले सबै संसार जानिसक्छौ भन्ने पनि छैन । यो संसार ज्ञानको यति अथाह भण्डार छ, जानेर कोही सक्दैन, विद्वान् कोही हुँदैन । कसैले अलिक बढी जानेको हुन्छ, कसैले कम जानेको हुन्छ । विद्धान् छु भन्ने भ्रम पाल्यो भने मुर्ख हो । एकपटक अरस्तुले एउटा सभामा भनेका थिएँ,  युरोपभरिका विद्वान्हरूको सभा थियो । उच्च आसनमा अरस्तुलाई अगाडि राखेका थिए । उहाँलाई महापण्डित भन्ने गरिन्थ्यो र अरुलाई पण्डित मात्रै भन्ने गरिन्थ्यो । अरुलाई विद्वान् मात्रै भनिन्थ्यो, उहाँलाई महाविद्वान् भनिन्थ्यो । त्यहाँ भएका अरु विद्वान्हरूले सुने– हामी युरोप भरिका एकसेएक विद्वान्हरू यहाँ छौं, एकसेएक विधाका विद्वान्हरू यहाँ छौं । सबै विद्वान् तपाईंकोभन्दा पढाइमा पनि कम छैनौं, पढाइ पनि छ, उमेरका हिसाबले पनि कोही कोही कम हौंला तर तपाईंका उमेरकै छौं । अनि तपाईं चाहिँ महान् विद्वान्, महापण्डित, हामी चाहिँ विद्वान् मात्रै, पण्डित मात्रै, हामी र तपाईंमा के फरक छ ? त्यो भनेर विद्वान्हरूमध्ये कसैले सोधेपछि उनी हाँसे र ठ्याक्कै फरक भनौं, तपाईंहरूको र मेरो बीचमा अवश्य फरक छ, त्यो फरक बताऊँ ? भनेर बताए । जे कारणले म महाविद्वान् भएँ, महापण्डित भएँ, त्यो कारण बताऊँ भनेर सोधे । सबैले बताउनुस् भने । अनि उनले भने– मलाई म केही जान्दिनँ भन्ने थाहा छ । तपाईंहरूलाई थाहा छैन । त्यति हो फरक । म महापण्डित किन भएँ भन्दा मलाई केही थाहा छैन तर पनि तपाईंहरूलाई जान्दछ, धेरै थाहा छ भन्ने परेको छ । त्यही फरक हो– तपाईंहरू विद्वान् मात्रै हो, म महाविद्वान् हो । वास्तवमा ज्ञान भनेको त्यस्तै हो । कसैले पनि सबै कुरा जान्नु त के धेरै ज्ञान प्राप्त गर्नु पनि सम्भव छैन । यो संसारका ज्ञानका कुरामा अलिकति मात्रै प्राप्त गर्ने हो । गणितका हिसाबले भन्ने हो भने शून्य दशमलव शून्य शून्य शुन्य शुन्य.......थाकिन्जेल शून्य राख्नुस्, तैपनि एक राख्ने समय आउँदैन । ज्ञानको यति ठूलो अथाह भण्डार हो यो प्रकृति, पृथ्वी । त्यस ठाउँमा हामीले जान्ने भनेको शून्य दशमलव शून्य शून्य शुन्य शुन्य.......राख्दा राख्दा बेलुकासम्म शून्य राख्नुस्, अनि एक राख्नु भयो भने त्यो एक पनि धेरै हुन्छ । जानेर सम्भव नै छैन । आँखा कमजोर भयो भनेर सिसा लगाएर चस्मा बनाइदिएको छ । कति देखेन, कति देख्छ, नाप्छ  र मिलाएर पावर राख्छ । कति जानेको होला, देख्दा मामुली कुरा छ । 
मैले टोपी लगाएको छु, हेर्दा सामान्य लाग्छ तर यो टोपी बनाउनका लागि यसका लागि चाहिने कच्चापदार्थ उत्पादनदेखि धागो बनाउनेदेखि लिएर, त्यसलाई कस्तो कपडा बनाउनेदेखि लिएर कसरी काट्नेदेखि कुरा लिएर सिलाउने कसरीसम्मका कुरा लिएर कत्रो ज्ञान छ । हरेक कुरामा ज्ञान छ । त्यसै विधामा जाँदा जाँदा सानो कुरा विशाल हुन्छ । डाक्टर हुनेले, सुपरस्पेशलाइजेशन गर्नेले पहिले साधारण स्वास्थ्य पढ्छ् । स्वास्थ्य भनेको के हो ? शरिर के हो ? जीवन के हो ? त्यसमा बिमार कसरी लाग्छ भन्ने आदिइत्यादि मोटामोटी पढ्छ । अनि अलिक विधामा केन्द्रित हुन्छ । कोही नाक, कान, घाँटीतिर जान्छ, कोही आँखातिर जान्छ । अनि नाक, कान, घाँटी पढ्ने पछि कानमा मात्रै जान्छ, घाँटीमा मात्रै जान्छ । घाँटीको पनि सानो सानो विषयमा केन्द्रित हुँदै जान्छ । सुपरस्पेशलाइजेशन गर्दा कानमा  गर्छ, कानको पनि एउटा विषयमा गर्छ, दातको मात्रै गर्यो भने दात फुकाल्ने पढ्यो कि राख्ने पढ्यो कि, इन्फेक्शनको उपचार गर्ने पढ्यो कि फिलिङ गर्ने पढ्यो कि के पढ्यो ? त्यस विषयमा केन्द्रित हुँदै जान्छन् । मुटुको एकजना सुपरस्पेशलिष्टलाई मैले भेटें । मुटुको कुरा गर्दा त, मैले मुटुको फलानो ठाउँको फलानो चिजको अप्रेशन गर्छु भन्नुभयो । धेरै सुपरस्पेशलाइजेशन भएपछि उसले धेरै वटा कुरा हेर्दो रहेन छ । उसलाई सोध्यो भने सिक्दै छु भन्छ । उसले सुपरस्पेशलाइजेशन त गरेको छ तर सिक्दै छु भन्छ । उ अझै रहस्यको खोजीमा छ । 
त्यसकारण ज्ञान अथाह छ । यो जान्नै नसकिने होइन, कुनै कुरामा केन्द्रित भएर जान्न सकिन्छ । माक्र्सवाद र अरु शास्त्रहरूको बोधगम्य र अबोधगम्य । बोधगम्य भनेको संसार बोधगम्य छ, ज्ञान बोधगम्य छ, वस्तुहरू बोधगम्य छन्, जान्न सकिन्छ । अबोधगम्य केही छैन, जो धर्मका नाममा अन्धविश्वास बुझ्न र जान्न सकिंदैन, पानी कसरी पर्छ भन्ने कुरा अथाह छ भनेर यस्तै कुराहरू गरेको जस्तै । बोधगम्य छ, सबै कुरा जान्न सकिंदैन तर एउटा एउटा कुरा जान्न सकिन्छ । ज्ञानको कुनै न कुनै स्रोत हुन्छ, गुरु हुन्छ, ज्ञानेन्द्रियहरू हुन्छन् । तिनीहरूबाट सिक्न सकिन्छ । ज्ञानको कुनै न कुनै स्रोत हुन्छ, त्यसबाट सिक्न सकिन्छ । कहिले कहिले अरु प्रकारका फ्रिक्वेन्सीहरूले पनि दिमागमा काम गरेका हुनसक्छन् । त्यस्ता कुराहरू पनि अपवादका रहेका हुन्छन् । हामीले सबै कुरा जानेका छौं वा सबै कुरा जान्नुपर्छ भनेर जान्न सम्भव छैन । त्यसकारण हामीलाई चाहिने कुरा के हो ? अध्ययन केमा केन्द्रित गर्नेभन्दा आपूmलाई चाहिएको कुरा र विषयमा गर्ने हो । अहिले हामीलाई चाहिएको के छ, त्यसमा गर्ने हो । तपाईंहरू जनप्रतिनिधि हुनुहुन्छ भने आफ्नो ठाउँमा, आपूmलाई यतिबेला चाहिएको ज्ञान के हो, यति बेला सिक्नुपर्ने कुरा के हो ? तपाईं एसइइ दिंदै हुनुहुन्छ भने तपाईंले अहिले ब्याचलरको किताब पढिरहनुपर्ने, जानिरहनुपर्ने केही छैन । एसइइको राम्रो तयारी गर्नूस् । कुरा त्यो हो । तपाईं कुनै चिज गर्दै हुनुहुन्छ भने अर्को चिज गर्नु परेन । तपाईं स्थानीय पालिकामा हुनुहुन्छ भने, भोलि सांसद भएर मन्त्री भएर काम कसरी गर्ने भनेर त्यसमा अध्ययन गरिरहनु परेन । अहिले आफ्नो ठाउँमा कसरी प्रभावकारी ढङ्गले काम गर्ने भन्ने म्याथोडलोजी पत्ता लगाउनूस् । त्यो काम गर्नूस् । यिनै कुराहरूमा केन्द्रित रहेर विभिन्न लेवलको पाठ्यक्रम, प्रशिक्षण र त्यसका निम्ति प्रशिक्षकहरू तयार गर्ने गर्नूस् । 
हरेकले आफ्नो तहमा प्रशिक्षित हुनैपर्छ
एउटा कुरा तपाईंहरूले के बुझ्नुपर्छ भने हरेकले आफ्नो तहको प्रशिक्षित त हुनैपर्छ ।  किनभने तपाईंहरूलाई जनतालाई प्रशिक्षित गर्नुपर्ने छ । 
मैले हिजो काठमाडौंको वडा अधिवेशनहरूबाट छानिएका वडा प्रतिनिधिहरूसँगको भेटघाटमा पनि बोलेको थिएँ कि अब हाम्रा साथीहरू जनताको जीवनस्तरमा परिवर्तन ल्याउने, उनीहरूलाई सरकारी सुविधा पुर्याउने मात्रै कुरा होइन । विकासका नायक र अभियन्ताका रूपमा पनि आपूmलाई प्रस्तुत गर्नुपर्छ । सरकारी सुविधाहरू, उनीहरूले कानूनले पाउने कुराहरू मात्रैको कुरा होइन, कानूनले पाउने त जोसुकै आए पनि देला नि । बजेट त जोसुकै आए पनि वितरण गर्ला नि । तर हामी आउँदा उनीहरूका मित्र आएका छांै, अरु आउँदा प्रतिनिधि मात्रै आउँछन्, हामी आउँदा उनीहरूका गुरु आउँछौं, सहयोगी आउँछौं भन्ने हुनुपर्छ । तसर्थ हामीले उनीहरूको जीविकाको स्तर के छ, उनीहरूको उत्पादनसँगको सम्बन्धको स्थिति के छ ? उनीहरूले उत्पादनसँग सम्बन्ध कस्तो राख्छन्, त्यसबाट उनीहरूलाई प्रतिफल के आइराखेको छ ? उनीहरूले के पाइराखेका छन् ? उनीहरूको जीवन कष्टपूर्ण छ भने तपाईंले उनीहरूको उत्पादन र आयस्रोत बृद्धिमा के सहयोग गर्न सक्नुहुन्छ । आयस्रोतको भरपर्दो चिज चाहिँ उत्पादन हो भन्ने कुरा पनि बुझ्नुपर्छ । त्यसो भएर हाम्रा साथीहरूले जनतालाई आयस्रोतसँग कसरी जोड्ने ? यहाँ रोजगारीको मात्रै प्रश्न होइन, स्वरोजगारी, उद्यमशीलताको कसरी विकास गर्ने ? हाम्रा पार्टी कमिटीहरूले, पार्टी कमिटीका नेताहरूले र  जनप्रतिनिधिहरूले जनतालाई उत्पादनसँग कसरी जोड्ने, आयआर्जनसँग कसरी जोड्ने र उनीहरूको स्थितिलाई खर्च धानेर बचत रहनेगरी, खर्चालु बानी नगर्न र आवश्यक खर्च गरेर बचतको स्थितिमा पुर्याउन कसरी ध्यान दिने भन्ने सिकाउनु पर्छ । 
बचतको स्थितिमा पुर्याउनु भनेको जनता सम्पन्न हुनु हो, देश सम्पन्न हुनु हो । जुन देशको बचतको स्थिति राम्रो छ, सामान्य खर्च र आवश्यक विकास खर्च त्यसको एउटा रुल हुन्छ । विकास र साधारण खर्च धानेर बचतको स्थिति बन्छ भने त्यो सम्पन्न देश हो । त्योसँग डिपोजिट मनि हुन्छ । त्यसकारण धनी देशहरू भनेको उनीहरूसँग बचत हुन्छ । अरु देशलाई उनीहरूले अनुदान दिन सक्छन् । अरु देशमा लगानी गर्न सक्छन् । देश विदेशमा गएर लगानी गरेर त्यहाँको अर्थतन्त्रलाई पनि आफ्नो नियन्त्रणमा अथवा त्यहाँको अर्थतन्त्रबाट पनि आपूmले लाभ लिने काम गर्न सक्छन् । त्यस स्थितिमा नपुगे पनि जनताको खाने, लगाउने, बस्ने, छोराछोरी पढाउने, स्वास्थ्य उपचार गर्ने जस्ता यी आधारभूत कुराहरूको परिपूर्ति गरेर बचत हुने खालको स्थिति कसरी बनाउने ? 
लक्ष्य बचतको स्थितिमा पुग्ने, लक्ष्य आयस्रोतहीनताबाट आयस्रोतमा लाने र आयस्रोतको स्थिति बचतमा पुर्याउने हुनुपर्छ । खर्च भन्दा बढी आम्दानी हुनेगरी जसले बचत गर्दछ, त्यहाँ हरेक परिवारलाई पुर्याउन कोसिस गर्नुपर्छ । त्यो कुरा एकैचोटी सम्भव छैन । काम थालेको एक महिनामा भइहाल्छ भन्ने होइन, वर्षौ लाग्न सक्छ । पाँच वर्ष लाग्न सक्छ, दश वर्ष लाग्न सक्छ । कुनै पनि देशले पैसा भएर, धनी भएर विकास गरेको होइन । विकास गरेर धनी भएको छ, पैसा कमाएको छ । कोही मान्छे पहिले धनी भएर विकास गरेको हुँदैन, पहिले विकास गर्छ, अनि धनी हुन्छ । 
त्यसकारण मान्छेलाई धनी कसरी बनाउने ? यहाँनिर जनप्रतिनिधिले आपूm धनी हुने कुरा, अवाञ्छित रूपले धनी हुने कुरा, अनधिकृत रूपले धनी हुने कुरा, अनधिकृत ढङ्गले प्राप्त गर्ने कुनै प्रकारको आप्mनो हकभन्दा बाहिरको चिज प्राप्त गरेर धनी हुने कुरा वैयत्तिक रूपमा छोड्नु पर्दछ । आपूmले काम गरेर कमाइ गर्ने वा उत्पादन वा आफ्नो आयस्रोतसम्मको पहुँच पुर्याउने कोसिस गर्नु पर्दछ । तर अवाञ्छित कुनै लाभ आपूmले प्राप्त लिने र आफ्नो स्थिति अनुचित ढङ्गले सुधार्ने खालको गतिविधिलाई भ्रष्टाचार भनिन्छ । त्यो गर्नु हुँदैन । स्वच्छता, पारदर्शिता, सक्रियता र आयस्रोतमा आफ्नो पनि पहुँच हुनु पर्दछ परिवारका सदस्यहरूमार्फत विभिन्न ढङ्गले । आयस्रोत भएन भने तपाईं राजनीति कसरी गर्नु हुन्छ ? तपाईं जनप्रतिनिधित्व कसरी गर्नु हुन्छ ? त्यहाँ तपाईंलाई पुग्नेगरी कसले दिन्छ ? त्यसकारण खाने लगाउने स्थितिबाट तपाईं छट्पटाइरहनु भएको छ भने तपाईंले गम्भीरताका साथ काम गर्न गाह्रो छ । 
एकपटक हामी जेलमा चामल राम्रो भएन भनेर सङ्घर्ष गरिराखेका थियौं । उसिनेको चामल त्यही पनि कुहिएको ल्याएर दिन्छ । हामीले चामल लिन मानेनौं, जेलरलाई थर्कायौं–के हो यो ? यस्तै हुन्छ मान्छेले खाने चामल ? जेलर सुब्बा साप थिए । एकछिन् चुप्प लागे, त्यसपछि बर्रर्र आँशु खसाल्न थाले । हामी चामल राम्रो भएन भनेर तपाईंसँग चामल राम्रो दिनु भनेर भन्न आएका हौं, तपाईं त रुवावासी सुरु गर्नु भयो त के हो यो ? किन रुनु भएको ? के भन्छन् भन्दा कस्तो भाग्यमानी तपाईंहरू, जेलमा हुनुहुन्छ, तर पनि थर्काउनु भएको छ, चामल राम्रा भएनन्, चामल राम्रो ले भन्नुभएको छ । तपाईंहरूले नखाएपछि जुन चामल ल्याउनुपर्छ, मैले त्यही चामल ल्याउनुपर्छ । भोकै राख्न त मिल्दैन । दुर्भाग्य, १३ जनाको परिवार छ, जागिर मेरो मात्रै हो, सबैभन्दा सस्तो चामल कहाँ पाइन्छ भनेर खोज्दै खोज्दै आज बिहानै १० वटा पसल चहारेर घरमा लगेर पकाएर खाएको हो । सस्तो चामल, कस्तो पाइयो होला ! म तपाईंलाई थुन्ने हाकिम, थुन्ने अड्डामा बसेको छु । म सस्तो चामल खोजेर बजार घुम्छु, तपाईंहरू थुनिने मान्छे राम्रो चामल भएन भनेर थर्काउनु भएको छ । 
त्यसपछि भने, हजुर म राम्रो चामलको बन्दोवस्त गर्छु, ठेकेदारलाई भन्छु, मैले ल्याउने होइन, ठेकेदारले ठेक्का लिएको छ । मैले त्यसलाई बन्दीहरूले यो खाएनन् भनेर भन्छु । हजुरहरू कति भाग्यमानी भने । 
अलिकपछि सिरक डसनामा अर्को मान्छेले भ्रष्टाचार गर्यो । अनि सिरक डसनामा पैसा खाने तिमी भन्न गएको त उ पनि रुन्छ । यति जनाको परिवार छ, यसमा मैले यति पैसा चाहिँ खाएकै हो भन्यो । किनभने पेट पाल्नु पर्यो, उपाय थिएन । मैले खाएँ हजुर, मलाई छानबिन गरेर जागिरबाट हटाइदिए जेलखानामा हाल्दिए म तपाईंहरूसँगै बस्ने थिएँ भन्यो । उसले गोप्य रूपमा भन्यो, मैले खाएकै हो र अलिकति खाएँ । उसले आत्मसमर्पण गर्यो । अब सक्दै नसकेपछि के गर्ने, जीविकै नचलेपछि के गर्ने त ? गरिबीको मारको अवस्था त्यस्तो हुँदो रहेछ । 
त्यसकारण गरिबीको मारबाट आपूm पनि कसरी उम्किने र अरुलाई पनि कसरी उम्काउने यस कामको नेतृत्व पनि हाम्रा जनप्रतिनिधिहरूले गर्नुपर्छ । त्यसका निम्ति पनि व्यावसायिक तालिम, नयाँ नयाँ इनोभेशन कसरी गर्ने, जनतालाई उत्पादनसँग कसरी जोड्ने ? त्यसमा लाग्नुपर्छ । 
हामी बाख्रापालन भन्छौं । दुईवटा बाख्रा पालेर दुईवटा बाख्राका पछिपछि दिनभरि हिंड्यो भने त्यो कहिल्यै धनी हुन्छ ? खान पुग्छ ? पुग्दैन । सयवटा भन्दा तल बाख्रा पालेर पर्ता पर्दै पर्दैन । त्यसकारण ठूलो पमिाणमा कसरी जान सकिन्छ, त्यो कुरा उनीहरूलाई सिकाउनु पर्दछ । दुई मुठा साग बेच्न राखेर, त्योबाट के फाइदा हुन्छ ? जति ठूलो परिणाममा व्यापार गर्न सक्यो, त्यति फाइदा हुने हो । त्यसकारण हरेक चिजलाई स्केल वृद्धि गर्न सक्नु पर्दछ । 
तपाईंहरू जनप्रतिनिधि र स्थानीय तहमा काम गर्ने नेता साथीहरू भएको हुनाले तपाईंहरूले त्यसरी काम गर्नु भयो भने लोकप्रिय हुनुहुन्छ । नङ र मासु जस्ता हुनुपर्छ जनता र कार्यकर्तासँग । सरर गाउँमा गयो, कुृर्सी नआएसम्म नबस्ने, मुढा ल्याए भने मुढासम्ममा बस्यो, गुन्द्रीमा नबस्यो, पिंढीमा नबस्यो, त्यसरी नङ र मासुको सम्बन्ध हुँदैन । तपाईं गाउँ गएर कुर्सी खोज्ने, प्रोटोकल खोज्ने होइन, म सानो मान्छे हुँ ? भनेर धम्की जस्तो दिने होइन । जनताको स्तरमा ओर्लिनु पर्छ । जनताको स्तरमा ओर्लिएर बोल्नु पर्छ, व्यवहार गर्नु पर्यो, खानु पर्यो, घुलमिल हुनुपर्यो । उनीहरूको स्तरमा उभिएन भने, उनीहरूले आफ्नो होइन, फरक कित्ताको मान्छे ठान्छन् । त्यसकारण फरक होइन, आफ्नो मान्छे ठान्नेगरी, हाम्रै हो भन्ने ढङ्गले चल्ने गर्नूस् । 
जनताले मन नपराउने एउटा पनि काम नगर्नूस् 
मलाई लाग्छ, यस प्रशिक्षणले सैद्धान्तिक, राजनीतिक कुराहरूदेखि लिएर, दार्शनिक, व्यावहारिक, प्रशासनिक, आर्थिक पक्षहरूलाई कसरी चलाउने भन्ने सिक्न मद्दत गर्ने छ । त्यो पार्टीमा जरुरी हुन्छ । आर्थिक अनुशासन भएन भने मान्छे डुब्यो । परिवारमा पनि डुब्छ, संस्थामा पनि डुब्छ । आचरण ठीक भएन भने अन्ततोगत्वा त्यो डुब्ने नै हो । व्यवहार, वरव्यवहार, बोलिचाली ठीक भएन, शालिनता र शिष्टता भएन भने पनि मान्छे डुब्छ । त्यसकारण नडुब्नका लागि अरुको भन्दा एमालेको बोलिवचन फरक हुनुपर्छ । मिठासपूर्ण हुनुपर्छ । अरुको भन्दा आत्मीयतापूर्ण, मित्रतापूर्ण होस् । जनताले मन नपराउने एउटा पनि काम नगर्नूस् । जनताले मन पराउने मात्रै काम गर्नूस् । कोही कोही कुरा तपाईंलाई चित्त बुझ्दैन तर जनताले त्यही मन पराउँछन् । तपाईंले आफ्नो चित्त बुझाउनका लागि काम गर्ने होइन, जनताको चित्त बुझाउन, जनताले मन पराउने काम गर्नुपर्छ । त्यसकारण आपूmलाई चित्त बुझिराखेको हुँदैन भने पनि चुप्प लाग्नूस् । जनतालाई मन पर्ने काम गर्नूस् । नीति विपरीत, सिद्धान्त विपरीत गर्नै नहुनेखालका गलत कामहरू नगर्नूस् । 
प्राणभन्दा प्यारो छ भन्नेहरू पछौटे, स्वार्थी तत्व हुन्
तर, कोही कोही जनता झुट हुन्छन्, बेइमान हुन्छन् । पञ्चायतकालमा भन्थे, अहिले पनि थालेका छन– प्राणभन्दा प्यारो छ, प्राणभन्दा प्यारो छ...। त्यो बेइमानी हो, प्राणभन्दा प्यारो हुँदै हुँदैन । त्यस्ता झुट बोल्नेहरूका पछाडि यी पनि जनता हुन्, यिनले यसो भनेका छन् भनेर होइन, ब्याकवार्ड इलिमेन्टस्, झुट स्वार्थी इलिमेन्टस्का पछाडि लाग्ने होइन । पछौटे, झुटा, भ्रष्ट र स्वार्थी तत्वहरू आम जनताभित्र पर्दैनन् । तिनीहरू पछौटे इलिमेन्टस् हुन् । त्यसकारण ब्याकवार्ड इलिमेन्टस्का पछाडि लाग्ने होइन । फरवार्ड इलिमेन्टस्का पछाडि लाग्ने र त्यो सोंच दिने र त्यो सोंचका साथ अगाडि जानु जरूरी छ । 
म प्रशिक्षक होइन, कुनै विषय लिएर यहाँ प्रशिक्षण गर्न आएको होइन । म साथीहरूलाई यो प्रशिक्षण कार्यक्रम शुभ रहोस्, लाभप्रदत रहोस्, यसले तपाईंहरूको ज्ञान, कार्यक्षमता सबै विकास गरोस्, तपाईंहरूको भविष्य सुन्दर बनाउन एउटा भर्याङको काम गरोस् र यसलाई तपाईंहरूले ध्यान दिएर सकेसम्म सदुपयोग गर्नूस् भन्न मात्रै आएको हुँ । प्रशिक्षकहरू यत्तिकै भनिराखेका हुँदैनन्, तयारी गरेर, अनुभव र अध्ययनका आधारमा आएका हुन्छन् । अनुभवका आधारमा होस् वा अध्ययनका आधारमा होस्, त्यहाँ भनिएका कुराहरूलाई राम्ररी विचार गर्ने, नोट गर्ने गर्नुपर्छ । तपाईंहरू जिल्ला र पालिकामा प्रशिक्षक भएर जानुपर्छ । त्यसो गर्दा तपाईंहरूले ती विषयहरू राम्ररी पढाउनुपर्छ । पढाउँदा गायत्री मन्त्रजस्तो सिकेर आयो, त्यही कुरा भन्ने मात्र होइन । सिकेको कुरा ठाउँ अनुसार, सिर्जनात्मक तरिकायुक्त ढङ्गले आपूmले फेरि तल लानुपर्ने हुन्छ । आधार त्यही हो, तर त्यही कुरा मात्रै दोहोर्याएर हुँदैन । त्यसलाई सिर्जनात्मक ढङ्गले आफ्नो परिवेश, परिस्थिति अनुसार लिएर जानुपर्ने हुन्छ । त्यो सिर्जनशीलताको विकास गर्ने कोसिस गर्नुपर्छ । 
मान्छे अत्यन्तै इनोभेटिभ हुन्छन्, अरु जीव पनि इनोभेटिभ हुन्छन् । जीवको तरिका र क्यारेक्टर इनोभेटिभ हो तर मान्छेको सबैभन्दा इनोभेटिभ हो । मान्छेमा पनि कम्युनिष्टको बढी इनोभेटिभ हुनुपर्छ, बढी रचनात्मक हुनुपर्छ, अलिक अध्ययनशील हुनुपर्छ । 
हामीले अध्ययन गर्ने भनेको आफूलाई यति बेला के चाहिएको छ, तपाईंलाई स्थानीय तहमा के चाहिएको छ, पार्टीमा के चाहिएको छ, साथीहरूलाई सचेत बनाउन, संगठित बनाउन, साथीहरूलाई असल मान्छे बनाउन के गर्नुपर्छ, कस्तो प्रशिक्षण दिनुपर्छ, त्यो पढ्नु पर्छ । हामीले हाम्रा साथीहरूलाई समाज परिवर्तन बुझ्ने, मान्छेहरूलाई कुरा बुझाएर असल मान्छे बनाउने र सामाजिक परिवर्तनको महान् कार्यमा लगाउने गर्नुपर्छ । सामाजिक परिवर्तन भनेको बहुआयामिक चिज हो र हामी राजनीतिक आन्दोलनका मात्रै नेता होइनौं, समग्र सामाजिक परिवर्तनको आन्दोलनका नेता हौं । आर्थिक परिवर्तनका नेता हौं । सामाजिक परिवर्तनका नेता हौं । सांस्कृतिक उत्थानका नेता हौ र परिवर्तनका नेता हौं । हामी राष्ट्रिय एकताका रक्षक, सम्वद्र्धक, प्रवद्र्धक हौं । त्यसको सदुपयोग गर्छौं । हामी देशका लागि, जनताका लागि, जनताको खुशीका लागि, जनताको विकास लागि काम गर्छौं । त्यसो गर्नका लागि असल मान्छे हुनुपर्छ । त्यसका लागि अध्ययनशील मान्छे हुनुपर्छ । 
कमरेडहरूले यस प्रशिक्षणलाई त्यस हिसाबले लिनु हुनेछ भन्ने मैले ठानेको छु । तपाईंहरूका यी तीन दिन सबैभन्दा उपयोगी दिन हुनुपर्छ । यो तीन दिनमा मैले धेरै जानकारी पाएँ, ज्ञान पाएँ भन्ने हुनुपर्दछ । त्यसो भएर यो प्रशिक्षणलाई चनाखो दिमागका साथ लिनूस् । प्रशिक्षण राम्रो व्यवस्थापनका साथ होस् । यो तीन दिनलाई सर्वाधिक उपयोगी दिनहरूका रूपमा तपाईंहरूले यसलाई सदुपयोग गर्नूस् । मेरो सुझाव यही छ । मैले शुभकामना भन्छु, तपाईंहरूको यस प्रशिक्षण कार्यक्रमबाट तपाईंहरूलाई लाभ होस् र तपाईंहरूको क्षमता अभिवृद्धिदेखि लिएर सबै कुरा हुन सकोस् । 
मैले शुरुमा भनेँ–आगामी दिनहरू हामी फटाएका भोटा गन्ने, सदस्यता प्राप्त गरेको मिति हेर्ने आदि कुराहरूतिर जाँदैनौं । 
सबै साथीहरूलाई धेरैधेरै शुभकामना । 
धन्यवाद ! 
(अध्यक्ष केपी शर्मा ओलीले २०८० चैत ८ गते  बाग्मती प्रदेश कमिटीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा गर्नुभएको सम्बोधनको पूर्णपाठ)