NP EN

सुहाङको विजय सुनिश्चितः अध्यक्ष ओली

१२ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ जति योग्य उम्मेदवार कोही नभएको भन्नुहुँदै इलामेली जनतालाई इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्नुभएको छ ।  
इलाम क्षेत्र नं २ को चुलाचुलीमा नेकपा (एमाले)ले बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलाम क्षेत्र नं २ मा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाउनुभएका सुहाङ नेम्वाङको विजय निश्चित भएको बताउनुभयो । 
गठबन्धनले देश नबन्ने र देश बनाउनका लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने हुँदा एमालेले मिसन–२०८४ भनेको उहाँले स्पष्ट गर्नुभयो ।  सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले देश बिग्रन दिन नहुने र आफैँले बनाउनुपर्ने स्पष्ट पार्नुभयो । देश लगातार ओरालो लागेकाले त्यसलाई रोक्न नेकपा (एमाले)ले नयाँ समीकरण बनाएको अध्यक्ष ओलीले बताउनुभयो । 
भावनामा बगेर, भावनामा अनेक थरी कुरा गरेर देश नबन्ने, देश अघि नबढ्ने चर्चा गर्दै उहाँले विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने बताउनुभयो । उहाँले पहिचान विरोधी कोही नभएको बताउँदै पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गर्नुभयो । 
विगतमा विरोधीले कम्युनिष्टले बुढाबुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैलाएका र त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको स्मरण गर्दै अध्यक्ष ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने बताउनुभयो । 
कम्युनिष्टले समृद्धि होइन गरिबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको उहाँले बताउनुभयो । कम्युनिष्टले मौका पाउँदा देश विकासको काम कसरी गर्छन् भन्ने एमालेको सरकारका पालामा कयौँ पूर्वाधार निर्माण र सामाजिक  विकासका काम गरेर प्रमाणित गरिदिएको अध्यक्ष ओलीले बताउनुभयो । 
जनजातिको छोरालाई कसले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भनी पहिचानका कुरा गर्नेलाई उहाँले प्रश्न गर्नुभयो । 
अध्यक्ष ओलीले आजको प्रमुख समस्या गरिबी भएको बताउँदै गरिबी निवारण अबको प्रमुख काम भएको हो भन्नुभयो । आफू प्रधानमन्त्री भएको समयमा नौ लाख मानिसलाई गरिबीको रेखामुनिबाट माथि उठाउने काम गरेको उहाँले स्मरण गराउनुभयो । 
अध्यक्ष ओलीले सुरुङ मार्ग र द्रूत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो । 
सुहाङलाई विजयी बनाएर एकताको सन्देश दिनुपर्छ
सभामा नेकपा माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेलले  वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ्ग नेम्बाङ्गलाई इलामबाट जिताएर सन्देश दिनुपर्ने बताउनुभयो । 
२०७४ को निर्वाचनमा वामपन्थीहरूको गठबन्धन हुँदा प्राप्त सफलता र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको चर्चा गर्दै नेता गजुरेलले इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएको स्पष्ट गर्नुभयो । 
इलाम वामपन्थीहरूको किल्ला भएकाले यहाँबाट सुहाङलाई जिताएर राष्ट्र विश्वलाई एकताको सन्देश दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 
चुनावी सभामा इलाम क्षेत्र नं २ का नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले बुवा सुवास नेम्वाङले देखाउनु भएको उज्यालो बाटोबाट आफू कतै विचलित नहुने बताउनुभयो । 
इलाममा आफू माओवादी केन्द्र, नेकपा माओवादी र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताउनुभयो । युवा र अनुभवी नेताको योगबाट मात्र समृद्ध नेपाल बनाउन सकिनेमा उहाँले जोड दिनुभयो । 
नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उश्रृङ्खल भएर प्रस्तुत नहुन आग्रह गर्नुभयो । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उहाँले जातीय विभेदको अफवाह र भ्रम नफैलाउन र त्यस्ता भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य शिवमाया तुम्वाहाम्फे लगायत नेताहरूले पनि सुहाङलाई अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभएको थियो ।