NP EN

अध्यक्ष ओलीलाई कुम्भमेलामा अभिनन्दन

१५ बैशाख (२०८१), सुनसरी । सुनसरीको बराहक्षेत्र चतरामा चलिरहेको कुम्भमेलामा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिएको छ । 
बाह्रबर्षे पिण्डेश्वर महाकुम्भमेला मूल आयोजक समितिका तर्फबाट जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अभिनन्दन गर्नुभयो । 
चुच्चे नक्सा जारी गरी नेपालको गुमेको भूभाग फकाउर्नुभएको जनाउँदै जगतगुरुले  पूर्ब प्रधानमन्त्री ओलीको उच्च प्रशंसा गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष ओलीले वराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ । 
उहाँले भन्नुभयो– कोशी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको भूमि भएकाले यो पवित्र भूमि हो । यस्तो महत्वपूर्ण भूमिलाई विश्वसामु चिनाउन जगतगुरुले गर्नुभएको योगदानको अध्यक्ष ओलीले प्रशंसा गर्नुभयो । उहाँले बराहक्षेत्र चतरालाई महाधाम बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, हिक्मत कार्कीको उपस्थिति रहेको थियो । कुम्भ मेलाको १९औं दिन आज कुम्भ नगरी चतराधाममा एकै दिन चार लाखभन्दा बढी भक्तजनले कौशीकि नदीमा स्नान गरेको आयोजकले बताएका छन् । चैत २७ गते शुरू भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्ने छ ।