NP EN

पूर्वाधार निर्माण विकासको आधार होः अध्यक्ष ओली 

२९ वैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वाधार निर्माण नगरी विकास सम्भव नहुने बताउनुभएको छ । 
नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात विभागद्वारा आज ललितपुरमा आयोजित ‘नेपालको भौतिक पूर्वाधार तथा यातायात क्षेत्र वर्तमान अवस्था र भावी मार्गचित्र’ विषयक कार्यशाला गोष्ठीको उद्घाटनपछि सम्वोधन गर्दै अध्यक्ष ओलीले पूर्वाधार निर्माणमा निकै धेरै र ठूला ठूला सफलता प्राप्त गरिएको र अझै गर्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, त्यसमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ । 
नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहेको समयमा पूर्वपश्चिम राजमार्गहरू निर्माण, करिडोरहरूको विकास, पालिका र सदरमुकाम जोड्ने बाटोहरू, रेलवेको विकास तथा शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा धेरै कामहरू भएकोे स्मरण गर्दै अध्यक्ष ओलीले कनेक्टिभिटीको क्षेत्रमा धेरै ठूलो सफलता प्राप्त भएको बताउनुभयो । 
उहाँले नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैन भन्ने ठूलो गुनासो रहेको अवस्थामा परिवर्तन आएको र केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पार्नुभयो । 
उहाँले राजनीतिक अस्थिरताका कारण पछिल्लो समय ति कामहरूले गति लिन नसकेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले नेपालमा विकासका कामहरू अगाडि बढाउँदै गर्दा तुरुन्तै प्रतिफल खोज्ने प्रवृत्ति रहेको बताउँदै पूर्वाधारको विकास गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले उद्यमशीलताबाट अत्यधिक रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 
सरकारले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दै गर्दा आयोजना गरिएको भौतिक पूर्वाधार विकाससम्बन्धी कार्यशाला अत्यन्त सामयिक भएको उहाँले बताउनुभयो । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उत्पादकत्व बढाउने भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 
उपाध्यक्ष पाण्डेले नेपालमा चालु खर्च उत्पादनमूलक भएन भनेर चर्चा हुने गरे पनि पँुजीगत खर्च कति उत्पादनमूलक छ भनेर बहस हुने नगरेको बताउँदै अब त्यो बहस आवश्यक रहेको धारणा राख्नुभयो । उपाध्यक्ष पाण्डेले सबै पूर्वाधारका कामबाट प्रतिफल प्राप्त नभइरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । 
उहाँले नेपालमा पुँजीगत खर्चको क्षमता घट्दै गएको र पूर्वाधार बजेट पनि साँघुरिदै गएको बताउँदै पुँजीगत खर्चको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे कार्यशालाले महत्वपूर्ण सुझाव दिने अपेक्षा गर्नुभयो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले विकासका काम राजनीति नगरी सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा विकासका कामले फड्को मारेको चर्चा गर्नुभयो । कार्यक्रमको समापन समारोहमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । 
उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख कृष्ण बहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वाधार विकासका क्षेत्रमा अभूतपूर्व काम गरेर नेपाली जनताका मुर्झाएका सपनालाई व्युझाउने काम गरेको बताउनुभयो । विभागका सचिव सुशील ज्ञवालीले राजनीतिक दृष्टिकोण स्पष्ट भएमात्र विकास हुने धारणा राख्नुभयो । राजनीतिक रुपमा अस्थिरता आए पनि दृष्टिकोणमा परिवर्तन नभए मुलुकको विकास हुने उहाँको भनाइ छ । 
कार्यशालामा सडक, रेल तथा जल यातायातका क्षेत्रमा डा.चन्द्रवहादुर श्रेष्ठ र गुरु भट्टराई, निर्माण व्यवसाय तथा इन्जिनियरिङमा सुशील ज्ञवाली र ओम शर्मा तथा यातायात क्षेत्रमा दधि खरेल र श्रीराम ढकालले कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागी विभिन्न क्षेत्रका विज्ञहरूको प्रस्तुति र समूहगत छलफल गरियो ।