NP EN

कांग्रेसले सत्ता छाड्नुपरेको पीडा पोखिरहेको छः अध्यक्ष ओली

४ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्ता छाड्नुपरेको पीडामा छटपटाइरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले सत्ताबाट हट्नुपरेको पीडा पोख्दै हिँडेको बताउनुभयो । 
त्यसैको उदाहरण बिहीबार प्रतिनिधि सभाभित्रको घटना भएको उहाँले प्रष्ट पार्नुभयो । 
कांग्रेसले संघीय संसद् अवरुद्ध गर्नुको कारण पनि सत्ता छाड्नु परेकै पीडाको अभिव्यक्ति भएको अध्यक्ष ओलीले बताउनुभयो । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा मुछेर आरोप लगाउने तर त्यस विषयमा स्पष्ट पार्न बोल्न नदिने कांग्रेसको व्यवहार अलोकतान्त्रिक भएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले भन्नुभयो– कांग्रेस आरोप लगाउँछ,  संसदमा बोल्छु भन्दा बोल्न दिँदैन । 
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी समयमा नै बजेट पास गरेर कार्यान्वयन गर्नुपर्ने भएकाले संसद्को अवरोध सह्यै नहुने अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । कांग्रेसले रोकेर अब संसद् बैठक नरोकिने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामी संसद् चलाउँछौँ, उसले संसद् चाहिँदैन भन्ला रे हामी मान्छौँ त ? 
कांग्रेसले माने पनि नमाने पनि जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याइने स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो– कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद् चलाउँछौँ, नीति तथा कार्यक्रम पास गर्नुपर्छ, देशलाई बजेट दिनै पर्छ । 
कांग्रेसको कुण्ठाको कारण देशलाई नै ठप्प पार्न नसकिने उहाँले  बताउनुभयो । कांग्रेसले जे जे भन्यो सत्ता पक्षले त्यही त्यही मान्न नसक्ने र मान्नु पनि नपर्ने अध्यक्ष ओलीले बताउनुभयो । 
संसद् चल्न नदिने र संसदीय गतिविधिलाई अघि बढ्न नदिने कांग्रेसले आफ्ना विरुद्ध संसद विघटन गर्ने ठाउँमा पुर्यायो भनेर बेइमानीपूर्ण आरोप लगाउँदै हिँडेकोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

बाराको प्रसौनीमा विद्यालय भवन उद्घाटन


यसैगरी, अध्यक्ष ओलीले बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको आजै उद्घाटन गर्दै नेपाली कांग्रेस देश र जनतासँग कुनै सरोकार नभएको आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सत्ताका लागि काँग्रेसले अनेक प्रपञ्च रच्दैछ । अनेक तामासा गर्न लागेको छ ।
लोकतान्त्रिक पार्टी भनिने नेपाली कांग्रेसले लोकतन्त्रको मर्यादा पालन नगर्ने, मुल मर्म नबुझ्ने, अरुलाई औला तेर्साउने जस्ता गलत कार्य गर्दै आएको उहाँको भनाइ छ ।
बिहीबार संसद् बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाउँमा हुल बाँधेर आएको र हातपात नै गरौँलाजस्तो व्यवहार गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयको छात्रावास भवनको पनि आजै उद्घाटन गर्नुभयो ।