NP EN

​अध्यक्ष ओली ‘बासँग बालबालिका’ कार्यक्रममा

८ जेठ (२०८१),झापा ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा सानेदेखि म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास रहेको बताउनुभएको छ ।
झापाको सुरुङ्गामा आज आयोजित ‘बासँग बालबालिका’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू सङ्घर्षबाट अगाडि बढेको मानिस भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– तपाईहरू जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो, मलाई अभिभावकको प्रतिष्ठा, सम्पत्ति र ओहोदाले कहिल्यै मद्दत गरेको होइन, म बिना पैसा, बिना अभिभावकको ओहोदा, मर्यादा, आफ्नो सङ्घर्षबाट, आफ्नै प्रयासले अघि बढेँ ।
अध्यक्ष ओलीले आफू एसएलसी पास गरेपछि क्याम्पस छोडेर देशमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्य लिएर अघि बढेको बताउनुभयो । ५४ वर्ष अगाडि देशमा परिवर्तन ल्याउनुपर्छ, राम्रो मनले मात्रै हुने रहेन छ, राम्रो विचारले मात्रै पनि हुने रहेनछ, राम्रो मन र विचार दबाइने रहेछ त्यसकारण राम्रो विचारलाई सफल बनाउनका लागि सङ्घर्ष गर्नपर्ने रहेछ भन्ने बुझेपछि आफू सङ्घर्षको मैदानमा लागेको उहाँले स्मरण गर्नुभयो ।
इमान्दारीसाथ अगाडि बढेकै कारण देशमा परिवर्तन ल्याउँदै आजको ठाउँमा आफू आइपुगेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– मैले जानेको सफलता इमान्दारीमा निर्भर गर्दछ, सफलता इमान्दारीमा लुकेको हुन्छ, इमान्दारीसाथ अध्ययन गर्ने विद्यार्थी सफल हुन्छ, इमान्दारीसाथ खेल्ने खेलाडी सफल हुन्छ, इमान्दारीसाथ जसले जुन काम गर्छ सफल हुन्छ ।
सही र आफूलाई उपयुक्त हुने विषय छानेर अघि बढ्न अध्यक्ष ओलीले बालबालिकालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– तपाईंहरू सबैमा क्षमता छ, तर तपाईंको विशेष क्षमता केमा छ ? त्यो क्षमता पहिचान गर्नुस्, सही विषय छान्नुस्, त्यसमा तपाईं सफल हुनुहुन्छ ।