NP EN

परामर्श भएको भए राम्रो बजेट आउँथ्योः अध्यक्ष ओली

१९ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८०÷८२ को बजेटबारे सत्ता समीकरणमा रहेका दलहरू बीच पर्याप्त परामर्श हुन नसकेको बताउनुभएको छ । 
नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले पर्याप्त परामर्श हुन सकेको भए राम्रो बजेट आउने थियो भन्नुभयो । 
अध्यक्ष ओलीले बजेटमा केही महत्वपूर्ण विषय समेटिएको र केही महत्वपूर्ण विषय छुटेको बताउनुभयो । 
अध्यक्ष ओलीले संसदमा बजेटमाथि छलफलको विषय उठाउँदा समन्वय गर्न सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले बजेटमा कमजोरीहरू रहे पनि बजेट पारित गरेर अगाडि बढिने छ भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– बजेट बनाउँदा छलफल नभएकाले यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ । बजेट बाँडफाँट पनि अलि एकातिर ढल्किएको जस्तो देखिन्छ । 
संविधानमा नेपाली समाज समाजवाद उन्मुख भनिएको र एमालेको लक्ष पनि समाजवाद रहेको बताउँदै बजेट समाजवाद निर्माणको आधार उन्मुख हुनुपर्ने थियो भन्नुभयो । 
बजेटमा कतिपय विषय सच्याउन सकिने हुँदा कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिन उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो । बैठकमा पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडको पनि उपस्थिति रहेको थियो । उहाँहरूले सांसदहरूलाई बजेटका विभिन्न पक्षका बारेमा जानकारी गराउँदै छलफलका लागि सहजीकरण गर्नुभएको थियो ।