७ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले योग सबै धर्म, जाति, भूगोल र सिङ्गो मानवजातिको साझा सम्पत्ति भएको बताउनुभएको छ ।
दशौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज (जुन २१, २०२४) नेकपा (एमाले)द्वारा राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रवचन दिनुहुँदै अध्यक्ष ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले योग यसै भूमिमा शुरू भएको र सम्पूर्ण मानव जातिको कल्याणमा निर्मित र समर्पित अत्यन्त वैज्ञानिक विधा भएको बताउनुभयो ।
योगले शारीरिक र मानसिक स्वस्थता, पवित्रतासँगै आचरण, व्यवहार, क्रियाकर्महरूको समेत स्वच्छता, पवित्रताको मार्गदर्शन गर्ने चर्चा गर्दै अध्यक्ष ओलीले यो सबै मानवजातिको साझा सम्पत्ति भएको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– योग मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित, व्यापक, विस्तृत हुन जरूरी छ । मानव समाजव्यापी हुन जरूरी छ । यस प्रयासमा हामी जुटेका छौं ।
‘योग परलोक जाने सिँढी नभई मानव समाजलाई सुन्दर बनाउने उपाय हो,’ अध्यक्ष ओलीले भन्नुभयो । योग दिवसले निरोगी नेपाल बनाउन निरोगी नेपाल रहन प्रेरणा देओस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम आरम्भ गर्दै पार्टीका महासचिव शंकर पोखरेलले निरोगी नेपाल निर्माण गर्ने उद्देश्यका साथ योगलाई प्रवद्र्धन गर्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
‘नेपाल योगगुरु पतञ्जलीको तपोभूमिका रूपमा रहेको हुँदा योगको आरम्भ नेपाल भूमिमा भएको मान्ने गरिन्छ’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– खासगरी किरातेश्वर महादेवका रूपमा हिमालय क्षेत्रमा÷ हिमवत् खण्डमा साँस्कृतिक चेतनाको जागरण ल्याउने शिवजीले सप्तऋषिहरूलाई आजकै दिन योगसम्बन्धी दीक्षा दिएको रूपमा लिने गरिन्छ ।
काार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । योगाभ्यासका लागि योगगुरुहरू बालमुकुन्द सुवाल, नवराज काफ्ले, नवराज भट्ट, रमेश पन्त र रेनु दुलालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले दिनुभएको योग प्रवचनको पूर्णपाठः
योग गुरुहरू, योगी/योगिनीहरू
समाजलाई पवित्र र मानवोचित समाज विकासको महान् उद्देश्य बोकेर अगाडि बढिरहनुभएका सबै दिदीबहिनी दाजुभाइहरू !
आज दशौं अन्तर्राष्ट्रिय योग दिवस ! सबै नेपाली तथा सम्पूर्ण मानवजातिमा शुभकामना भन्न चाहन्छु । दशौं अन्तर्राष्ट्रिय योग दिवसमा धेरै धेरै शुभकामना ।
योग यसै भूमिबाट शुरू भएको हो । मैले अघिल्ला मन्तव्यहरूमा पनि योगको शुरुवात र विकासका सम्बन्धमा आफ्ना विचारहरू राखेको थिएँ । योग आदियोगी शिवबाट शुरू भएको, योग कुनै धर्म, जाति वा भूगोलविशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित नरहेको, सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो । बीचको समयमा योग अलिक ओझेल पर्दै गयो । बीचमा विभिन्न प्रकारका भ्रम, भ्रान्तिहरू पनि यसमा मिसिए । अहिले योग भ्रान्तिहरूबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरूरी छ । मानव समाजव्यापी हुन जरूरी छ । यस प्रयासमा हामी जुटेका छौं ।
मैले अघि भनेँ, कुनै धर्मविशेषमा सीमित गरेर समग्र मानव जातिको कल्याणका निम्ति मानवव्यापी रहेको यसको दायरालाई सीमित गर्नुहुँदैन । एउटा धर्मसँग सम्वन्धित छ भनेर अरु धर्मबाट अलग गर्न हुँदैन । यो धर्मसँग होइन, मानवजातिसँग सम्बन्धित छ । हरेक मानिसको शरीर स्वस्थ रहोस्, मन पवित्र रहोस्, मष्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ । स्वस्थ रहेर मात्र होइन, त्यसले सुकर्म गर्नुपर्दछ । शरीर र मष्तिष्क स्वस्थ रहनु एउटा कुरा हो । तर, त्यसको सदुपयोग हुनु आफ्ना निम्ति, परिवारका निम्ति, छिमेकीका निम्ति र सिङ्गो मानवजातिका निम्ति यसको सदुपयोग हुनु फेरि अर्को कुरा हो ।
योगले शारीरिक, मानसिक स्वस्थता, पवित्रतासँगै आचरण, व्यवहार, क्रियाकर्महरूको समेत स्वच्छता, पवित्रताको मार्गदर्शन गर्दछ । तसर्थ, योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन । यो सबै मानवजातिको साझा सम्पत्ति हो । जुन यस भूभागले मानवजातिलाई प्रदान गरेको थियो, गरिरहेको छ ।
योग शिवबाट शुरू, कपिलमुनिबाट सूत्रिकृत, महर्षि पतञ्जलीबाट व्यवस्थित विकास
योग शैवबाट/आदियोगी शिवबाट शुरू भएर पछि यसलाई दार्शनिक तवरमा त्रेता युगमा, पुरानो भाषामा भन्दा सत्य युगमा यसलाई कपिलमुनिले विकास गरेको, साङ्ख्य दर्शनमार्फत् अगाडि बढाएको हो– योगशिक्षा/ योगविद्या/ योगशास्त्र । सत्य युगको अन्त्यतिर, त्रेता युगको शुरुवाततिर सृष्टि कसरी हुन्छ ? विश्व कसरी चल्छ ? यी प्रश्नहरूको बारेमा गहिरो छलफल, विचार विमर्श हुने गथ्र्यो । खासगरी हामीले जनकपुरमा शास्त्रार्थ भएको सुन्न सक्छौं, जानकारी पाउनसक्छौं शास्त्रमा । ति कुराहरूलाई व्यवस्थित गरेर, सृष्टि कसरी भएको थियो भनेर व्यवस्थित शास्त्रको रूपमा व्यवस्थित दर्शनका रूपमा कपिलवस्तुमा जन्मिएर कपिलवस्तुलाई नै तपोभूमि/कार्यभूमि बनाएका महर्षि कपिलमुनिले साङ्ख्य दर्शनको विकास गर्नुभएको थियो ।
साङ्ख्य दर्शन भनेको सङ्ख्यासँग सम्बन्धित होइन, सत्यसँग सम्बन्धित हो । साङ्ख्य भनेको सत्यसँग सम्बन्धित छ । यो सत्य दर्शन, यो प्रमाणित दर्शन हो । अन्धविश्वासमा आधारित होइन अथवा अज्ञानतामा आधारित होइन, प्रयोग परिक्षणबाट परीक्षित दर्शनका रूपमा यो आएको हो । र, यसले सृष्टिको सम्बन्धमा जसरी जीवहरूको उत्पत्ति समय र प्रकृतिको मिलनबाट हुन्छ, त्यस्तै गरेर शरीर र मन, विचार र व्यवहार यिनीहरूको पवित्र योग, यसबाट योगलाई बढी सूत्रिकृत गरियो कपिलमुनिको समयमा ।
पछिल्लो समय आएर इसापूर्व २०० बर्षदेखि अथवा अहिलेभन्दा १८ देखि २२ सयबर्षको बीचमा अर्घाखाँचीका महर्षि ऋषि पतञ्जलीले योगलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्नुभयो । आज प्रचलित योग पतञ्जलीले विकास गर्नुभएको योग हो । जसका चार पाद अथवा चारवटा शाखा छन् । चारवटा अध्याय छन् । चारवटा बाटा छन् । चारवटा चरण छन् । जसलाई हामीले चार पाद भन्ने गरेका छौं ।
–पहिलो पाद गन्तव्य (हामी पुग्ने कहाँ हो ?), समाधि पाद ।
–दोस्रो पाद साधन । कुन बाटो, कुन माध्यम, कुन तरिका, कुन उपायबाट हामी त्यहाँ पुग्न सक्छौं । यसभित्र अष्टाङ्ग योग भनेर हामी भन्छौं, साधनपादभित्र अष्टाङ्ग योग पर्दछ । यसका सूत्रहरूमध्ये अष्टाङ्ग योगका आठ अङ्गहरू यो पादभित्र पर्दछन् ।
–तृतीय पाद भनेको विभूतिपाद हो । जो महानता प्राप्त गर्दछ, अर्थात् साधनापादमा बताइएका कुराहरूको कार्यान्वयनबाट विभूतिपादमा पुगिन्छ ।
–चतुर्थ पाद कैवल्यपाद । जहाँ खासगरी सिद्धिप्राप्तिका कुराहरू छन् ।
चारपादमध्ये पहिलो पादमा ५१ सूत्रहरू छन् । समाधि भनेको के हो ? समाधि प्राप्त कसरी हुन्छ ? भन्ने कुरा यसमा बताइएको छ ।
दोस्रोमा उपायहरूका बारेमा, माध्यमहरूका बारेमा व्यापकरूपमा बताइएको छ । यसमा ५५ सूत्रहरू रहेका छन् । तेस्रो विभूतिपादमा ५६ सूत्रहरू रहेका छन् ।
र, चौथो कैवल्यपादमा ३४ सूत्रहरू रहेका छन् ।
यसरी चार पादमा १९४ सूत्रहरूबाट पतञ्जली योग सूत्रिकृत गरिएको छ ।
यहाँ मैले अलिकति के कुरा उजागर गर्न चाहेको हो भने अहिले अलिकति बढी प्रचलनमा आसन र प्राणायामका कुरा छन् । आसन र प्राणायाम जरूरी छ, तर यदी यम र नियम गरिएन भने आसन र प्राणायाम निष्प्रयोजनिक हुन्छ । योगमा अष्टाङ्ग, आठवटा अङ्ग छन्– यम, नियम आसन, प्राणायाम, प्रत्याहान, धारण, ध्यान र समाधि । समाधि पादलाई माध्यम भनिएको छ तर प्रथमपादमा पनि राखिएको छ । यी अष्टाङ्गमध्ये पहिलो हो– यम । दोस्रो हो– नियम । यममा के–के गर्न हुँदैन, के–के बाट बच्नुपर्छ, हिंसा नगर्ने कुरा बताइएको छ । हामीले ध्यान के राख्नुपर्छ भने योगका १९४ सूत्रहरूमध्ये पहिलो सूत्र ‘योगानुशासनम्’बाट शुरू हुन्छ । दोस्रो योगचित्तनिरोध । यसरी योगका सूत्रहरू अगाडि बढ्छन् । हामीले के गर्न हुने÷के गर्न नहुने भन्ने अष्टाङ्ग सूत्रहरूमध्ये पहिलो नै अहिंसा हो । हिंसा गर्नुहुँदैन, अहिंसा हुनुपर्दछ । असत्य होइन, सत्यको बाटोबाट चल्नुपर्दछ ।
‘असत्य परित्याग गर, सत्य धारण गर । चोरी नगर । आफ्नो अधिकारभन्दा बाहिरको कुरामा लोभ नगर । सम्पत्ति होस् वा अरु चिज आफ्नो अधिकार भन्दा बाहिरको कुरामा लोभ नगर ।’ जस्ता कुराहरू अथवा आफू नियन्त्रित रहुँ । ब्रह्मचर्य भनेको आफूलाई नियन्त्रण हो । आफूलाई नियन्त्रित राख, जसले गर्दा जथाभावी नहोस् । हामी सामाजिक प्राणी हौं, समाजमा सुप्रबन्ध हुन्छ । सामाजिक सुप्रबन्धलाई हामीले तोड्नु हुँदैन । हामीले योगी हुनका लागि यम र नियम जस्ता कुराहरू पालना गर्नुपर्दछ । हामीले योग भनेको आसन र प्राणायाम मात्र बुझ्नुहुँदैन । आसनले शरीरलाई स्वस्थ बनाउँछ, चुस्त दुरुस्त बनाउँछ, हाम्रो जस्तो रक्त सञ्चार गर्छ, मसलहरू दह्रा बनाउँछ, फोक्सोलाई राम्रो बनाउँछ, मुटुलाई दह्रो बनाउँछ । स्टामिना दह्रो बनाउँछ । प्राणायामले अक्सिजन रगतमा, मुटुमा, शरीरका विभिन्न भागमा पुर्याउँछ । मष्तिष्कमा पर्याप्त अक्सिजन पुर्याउँछ । हामीलाई सबैभन्दा धेरै चाहिने चिज भनेको अक्सिजन हो । हामी दिनमा दुई चार किलो अन्न, दुई चार लिटर पानी खर्च गर्छौं होला, तर अक्सिजन दिनमा हजारौं लिटर खर्च गर्छौं । हाम्रो शरीरका सबै अङ्ग, अवयवमा प्राणायामले अक्सिजन पुर्याउँछ । नसामा कतै सानो ब्लक भएको छ भने त्यसलाई खोलेर पनि अक्सिजन पुर्याउने काम गर्छ । त्यसो भएर यसको धेरै महत्व छ ।
निरोगी समाज निर्माणका लागि योग अपरिहार्य
यसरी योग हाम्रो समग्र जीवन पद्धतिसँग जोडिएको छ । हामीले कस्तो जीवन विताउने ? हामी निरोगी हुनुपर्दछ । निरोगी शरीर, निरोगी विचार हुनुपर्दछ अथवा स्वस्थ शरीर, स्वस्थ विचार हुनुपर्दछ । देशले/ हामीले स्वस्थ र उचित कार्य गर्नुपर्दछ, योगको अर्थ यो हो । त्यसकारण अहिंसा नगर्ने कुरा, लोभलालच नगर्ने कुरा, त्याग गर्ने कुरा, मानिस, जीव, बनस्पति सबैप्रति करुणाभाव राख्ने कुरा, शान्तिभाव राख्ने कुरा यि सबै कुराले सिङ्गो समाजलाई सकारात्मक असर पार्दछ । त्यसकारण निरोगी नेपालका लागि योग अत्यन्तै महत्वपूर्ण कुरा हो । निरोगी समाज, विकृतिमुक्त समाज निर्माणका लागि, मानवजातिका लागि योग अत्यन्तै अपरिहार्य कुरा हो ।
योगमा समयक्रममा कतिपय ऐजेरु जस्ता कुरा पलाए हुन्छन् । अज्ञानले कतिपय भ्रम सिर्जना भएका हुनसक्छन् । तर योगले अन्धविश्वासमा विश्वास गर्दैन । यसले प्रमाणमा विश्वास गर्छ । सत्यमा, तथ्यमा विश्वास गर्छ । अहिंसामा विश्वास गर्छ, मित्रतामा विश्वास गर्छ र सर्वकल्याणमा विश्वास गर्छ । त्यसका निम्ति त्यागको भावना यसभित्र हुन्छ । यसर्थ हामीले योगलाई, योगको अभ्यासलाई विश्वव्यापीरूपमा फैलाउने कोसिस गरेका छौं ।
यसको शुरुवात हामी सबैलाई थाहा छ, धेरै हजार बर्ष अगाडि भयो । बीचमा अलि सीमित मात्रामा, सीमित अर्थमा, सीमित व्यक्तिहरूमा खुम्चिएर रहन बाध्य भयो । अब योगलाई हामीले सीमितबाट असीमित, मानव समाजव्यापी बनाउने प्रयास गर्नु छ । यसका लागि सन् २०१५ बाट संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि अहिले विश्वव्यापीरूपमा प्रचारित हुँदै गएको छ ।
योगले स्वस्थ जीवन जिउन सिकाउँछ
हामीले मानिसलाई स्वस्थ र असल बनाउने हो । मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने योग हो भन्ने कुरा बुझ्नुपर्छ । यदी थोरैमा भन्ने हो भने योग भनेको आफूलाई मुक्त गर्नु हो । आफूलाई रोगबाट मुक्त, विकारहरूबाट मुक्त, विकृत चिन्तनहरूबाट मुक्त, लोभबाट मुक्त, अनावश्यक अनुचित कुराहरूबाट मुक्त राख्नु योग हो । तसर्थ हामीले समाज सुधारका लागि, समाजमा देखिने विकृति हटाउनका लागि योगमा जोड दिनुपर्छ । यदी मान्छे विग्रियो भने कानुन जति बनाए पनि, जति सुरक्षा प्रबन्ध गरे पनि, जति हतियार बनाए पनि, हतियारले विश्वमा मानवजातिलाई काबुमा राख्नसक्ने छैन । हतियारले होइन, ज्ञानले, मैत्रीभावले, मानवताले, मानवीय भावले, न्यायले वास्तवमा मानिसलाई स्वनियन्त्रणमा राख्छ ।
हामीले समाजलाई सुधार गर्ने हो
मैले अहिले योगका विभिन्न चार भाग (पाद) को अथवा अष्टाङ् योगका आठवटा अङ्गहरूको अथवा १९४ सूत्रहरूको व्याख्या र वर्णन गर्न लागिरहेको छैन । मैले वर्णन गर्न लागेको, भन्न खोजेको कुरा हो– हामीले समाजलाई सुधार गर्ने हो । त्यसैले हाम्रै योगगुरुहरूसँग के आग्रह छ भने यसमा व्यापारिक उद्देश्य मिसिनुहुँदैन, यसमा गलत उद्देश्यहरू मिसिनुहुँदैन, स्वार्थहरू मिसिनुहुँदैन । मानवजातिको समग्र स्वार्थमात्रै यसको स्वार्थ हुनुपर्दछ । अपवित्र होइन, पवित्रमात्रै यसको उद्देश्य हुनुपर्दछ ।सङकीर्ण र वैयक्तिक स्वार्थहरूका लागि, समूहहरूका स्वार्थहरूका लागि यसलाई दुरुपयोग गरिनुहुँदैन । हामीले समाजमा रहेका विकृतिहरूलाई हाम्रा योगका अभ्यासहरूबाट, हाम्रा प्रवचनहरूबाट मानिसमा रहेका गलत सोचहरू, भ्रान्त र सत्यबाट टाढा रहेका सोचहरू, यथार्थबाट टाढा रहेका सोचहरूबाट मानिसलाई मुक्त गर्नुपर्दछ । कुवाटोबाट सुवाटोमा ल्याउने कोसिस गर्नुपर्दछ । उत्प्रेरणा दिनुपर्दछ । गलत विचारबाट सही विचारमा, गलत सोचबाट सही सोचमा, गलत आचरणबाट सही आचरणमा, गलत व्यवहारबाट सही व्यवहारमा ल्याउने कोसिस गर्नुपर्दछ । खास योगको अर्थ त्यो हो, खास योगाभ्यासको अर्थ त्यो हो ।
मैले अघि पनि भनेँ, योगाभ्यास भनेको आसन र प्राणायाममात्र होइन । योगाभ्यास भनेको दैनिक हाम्रा जीवनमा कस्तो विचार कस्तो व्यवहार अपनाउँछौं र त्यसलाई कार्यान्वयन गर्छौ, त्यो योगाभ्यास हो ।
योगका केही सूत्रलाई पछ्याएर योग हुँदैन
योगका १९४ सूत्रहरूमध्ये केही सूत्रहरूलाई पछ्यायौं र योगी ठान्यौं भने त्यो योग हुँदैन । योग समग्रता हो । योग सद्विचार र सद्मार्ग र सत्कर्मलाई योग भनिन्छ । यदी कोही दुव्र्यसनमा फसेको छ भने उसलाई दुव्र्यसनबाट कसरी मुक्त गर्न सकिन्छ ? उसलाई असल मान्छे कसरी बनाउन सकिन्छ ? योगको काम स्वस्थ मान्छे बनाउने हो असल मान्छे बनाउने हो । समाजका लागि स्वस्थ र असल मान्छे, उपयोगी मान्छे । किनभने हामी सामाजिक प्राणी हौं र मान्छेलाई हामी सामाजिक प्राणी बनाउन चाहन्छौं । सद्गुणी मान्छेमात्रै, सद्विचार बोक्ने मान्छे मात्रै सामाजिक प्राणी हुन सक्छ । मानवतावादी मान्छेमात्रै, परोपकारी, करुणाभाव भएको मान्छेमात्रै योग्य हुन सक्दछ । हामीले भन्ने असल मान्छे योगले बनाउँछ ।
तसर्थ योगका सबै पक्षहरू, अष्टाङ्ग योगका आठैवटा अङ्गहरू, अरु सक्दैनौं भने पनि, हामी गृहस्थ गर्ने मान्छेहरूलाई चाहिने यम, नियम, आसन, प्राणायाम यी चारवटा कुरा अनिवार्य छ । हामी गृहस्थ जीवन विताउनेहरू समाधीमा पुग्न सक्दैनौं होला, त्यसमा केही छैन । स्वस्थ मान्छे हुन असल मान्छे हुन सकिन्छ । यसका लागि योगको यम नियम, आसन र प्रणायाम हो । आसन र प्राणायामले शरीर र मष्तिष्कलाई स्वस्थ राख्दछ, यम र नियमले त्यो स्वस्थ शरीर र मष्तिष्कलाई सही कामका लागि सदुपयोग गर्न मार्गदर्शन गर्दछ । के गर्न हुन्छ, के गर्न हुँदैन यस कुरामा लिएर जान्छ । योग त्यही हो– चित्तनिरोध । त्यसका लागि पहिलो सूत्र नै ‘अथ योगानुशासनम्’ । अर्थात अब योगको अनुशासन शुरू हुन्छ । योग एउटा अनुशासित र पवित्र जीवन हो । पहिलो सूत्रले भनेको छ– अनुशासित र पवित्र हृदयी, त्यही हो योग ।
योगको बाटोमा लागौं, योगलाई फैलाऔं
योगको बाटोमा हामी लागौं । योगलाई फैलाऔं । यस सन्दर्भमा थुप्रै प्रयासहरू भएका छन्, अन्तर्राष्ट्रिय प्रयास भएका छन् । यसको खास अर्थ छ, अघि हामीले ओमकारको उच्चारण गर्यौं । त्यो ओमकारको उच्चारण एउटा बेग्लै प्रकारको ध्वनि सुनिन्छ । यो कुनै धर्मसँग होइन, यो ब्रह्माण्डसँग, अन्तरिक्षसँग, पृथ्वीको वायुमण्डलसँग वायुमण्डलको पवित्रतासँग ओमकार जोडिएको छ र एउटा तरङ्गको रूपमा अहिले पनि हामीबाट टाढा–टाढा ओमकारको ध्वनि गइराखेको छ ।
हाम्रा कर्महरू, हाम्रा विचार र कामहरूको तरङ्ग पनि त्यसै गरेर अगाडि बढ्दै जान्छन् । मान्छेहरुलाई एउटा चिन्ता लाग्छ– योग भनेको के हो, १९४ सूत्र कहिले जान्ने ? अष्टाङ्ग योग कहिले जान्ने ? तसर्थ म आग्रह गर्न चाहन्छु– राम्रो काम गर्ने नराम्रो काम नगर्ने, राम्रा विचार लिने नराम्रा विचार नलिने । शरीर स्वस्थ राख्न विधिवत् आसन गर्ने, आसन सिक्दा राम्रो हुन्छ । जथाभावी आसन भयो भने शरीरलाई नोक्शान पुग्नसक्छ । त्यसकारण विभिन्न आसनबाट गरिने व्यायाम र प्रणायाम आसन गर्दाखेरि जुन अक्सिजन चाहिन्छ, पर्याप्त अक्सिजनसहितको रगत पुगोस्, प्राणवायुसहितको रगत पुगोस् र शरीरका अङ्गका कठिन–कठिन, जटिल–जटिल, अन्तिम– अन्तिम अवयवमा अक्सिजन पुगोस् । नङमा पनि पुगोस् हड्डीमा पनि पुगोस्, केशमा पुगोस् छालामा विभिन्न भागमा पुग्न सकोस् । यो परलोक जाने सिंढी होइन, यो मानव समाजलाई परलोक भन्दा सुन्दर बनाउने उपाय हो । तसर्थ यसलाई हामीले विस्तार गरौं भन्ने आग्रह गर्न चाहन्छु ।
सजिलोसँगले योग सिकौं । नराम्रा काम नगरौं राम्रा काम गरौं । हामीलाई थाहा छ– राम्रो के हो, नराम्रा काम के हुन्, हामी अनुशासन पालना गर्दैनौं, अनुशासन पालना नगरेर समस्या भएको छ । चोर्न हुँदैन भन्ने सबैलाई थाहा छ तर पनि चोरी भइराखेको छ । अरुमाथि अन्याय गर्नुहुँदैन भन्ने सबैलाई थाहा छ, हिंसा गर्नुहुँदैन भन्ने सबैलाई थाहा छ तर हतियारहरू बनेकाबन्यै छन्, थुप्रिएका थुप्रियै छन् । युद्धको तयारी भइराखेकै छ । थाहा नपाएर होइन ।
योगले मानिसलाई अनुशासनमा बस्न प्रेरित गर्छ
तसर्थ, योगले अनुशासनमा बस्न, जिम्मेवार हुन र आफ्ना निम्ति, समाजका निम्ति र समग्र मानवजातिका निम्ति राम्रा काम र राम्रा विचार अपनाएर त्यस अनुसार अगाडि बढ्न प्रेरित गर्छ, आजको दिनले यही प्रेरणा देओस् ।
हामीले २०३६ साल माघ १ गतेबाट योग दिवस मनाउन शुरू गरेर हरेक बर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइरहेका छौं । तर विश्वव्यापी रूपमा सबभन्दा लामो दिन, सूर्य उत्तरायणबाट दक्षिणायनमा जाने दिन, शिवले आफ्ना शिष्यहरू सप्तऋषिलाई ज्ञान दिएको आजको दिनबाट शुरू भएको भन्ने मान्यता अनुसार यसै दिनलाई वडो विचार विमर्श गरिकन संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस भनेर मानेको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले संयुक्त राष्ट्र सङ्घमा यसको प्रस्ताव राख्नुभयो र संयुक्त राष्ट्र सङ्घले सर्वसम्मत निर्णय गर्यो ।
यसभित्र केही परिमार्जित कुराहरू बुद्धिजम्का कुराहरू ध्यानका कुराहरू पनि छन् । तर ध्यान शिवकै पालामा गरिएको थियो । पछि आएर बुद्धका पालामा ध्यानको विशेष अर्थ र महत्व बढ्यो । ध्यानलाई योगले पनि विशेष रूपमा समेटेको छ । यी सबै पक्षहरूलाई ध्यानमा राखेर हामी राम्रा विचारहरू बनाऊँ, राम्रा काम गरौं । यसका निम्ति योग दिवसले सबैलाई प्रेरणा देओस् सबै मानवजातिको कल्याण होस्। योगले हामीसबैलाई निरोगी रहन, निरोगी नेपाल रहन मद्दत पुर्याओस् । धन्यवाद !