NP EN

अध्यक्ष ओलीसँग चिनियाँ उपविदेशमन्त्रीद्वारा शिष्टाचार भेट 

१२ असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा मङ्गलबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय मामिला र आपसी हितका विषयमा छलफल भएको भेटमा सहभागी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले बताउनुभयो ।  
भेटमा अध्यक्ष ओलीले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमि चीनका विरूद्धमा प्रयोग हुन नदिने कुरालाई व्यावहारिक रूपमै कार्यान्वयन गरिरहेको जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले मित्रराष्ट्र चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अख्तियार गरिरहेकोप्रति धन्यवाद दिनुभयो । 
चीनले नेपालको पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष ओलीले आगामी दिनमा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षाका रूपमा अगाडि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य साकार पार्न चीनको अझ बढी सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 
उहाँले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र आफू दुईपटक प्रधानमन्त्री रहेको समयमा चीन भ्रमणका अवसरमा गरिएका सम्झौताहरू कार्यान्वयन होऊन् भन्ने चाहिरहेको बताउनुभयो । अध्यक्ष ओलीले आपसी सम्बन्धलाई आगामी दिनमा अझ बढी सुमधुर बनाउन चाहिरहेको स्पष्ट गर्नुभयो । 
भेटमा चीनका उपविदेशमन्त्री सुनले नेकपा (एमाले)ले एक चीन नीतिको व्यवहारमै कार्यान्वयन गरेकोमा धन्यवाद दिनुका साथै नेपाली भूमि चीनका विरूद्ध प्रयोग हुन नदिएको र नदिने अडानको प्रशंसा गर्नुभयो । 
उपविदेशमन्त्री सुनले अध्यक्ष ओली नेपालको राजनीति बुझेको, स्पष्ट दृष्टिकोण भएको र अडान राख्ने शीर्ष नेता भएको भन्दै अध्यक्ष ओलीको अनुभवबाट नेपाल र दक्षिण एसिया बुझ्न सहयोग पुग्ने बताउनुभयो ।   
उपविदेशमन्त्री सुनले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्न चीन तत्पर रहेको स्पष्ट गर्नुभयो । 
भेटमा अध्यक्ष ओलीका साथमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर भट्टराई र विभाग सचिव डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो । त्यसैगरी चिनियाँ उपविदेशमन्त्री सुनका साथमा नेपालस्थित चिनियाँ राजदूत छङ सोङ लगायत चिनियाँ दूतावासका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।