NP EN

भियतनामको कम्युनिष्ट पार्टीका महासचिवको निधनमा दुःख व्यक्त

८ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भियतनामको कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीलाई समवेदना सन्देश पठाउनु भई महासचिव ट्रोङको निधनको खबर सुनेर अत्यन्त दुःख लागेको जनाउनुभएको छ ।  
सन्देशमा उहाँले आफू, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सम्पूर्ण नेपाली जनताको तर्फबाट  स्वर्गीय नेता ट्रोङको परिवार, भियतनाम कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी र भियतनामका जनतामा समवेदना व्यक्त गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले महासचिव ट्रोङको निधन भियतनामको कम्युनिष्ट पार्टी, भियतनाम सरकार र भियतनामका सम्पूर्ण जनताका लागि एक ठूलो क्षति भएको उल्लेख गर्दै भियतनाममा शान्ति स्थापना र समृद्धिको लागि उहाँको योगदान धेरै पुस्तासम्म सम्झना भइरहने जनाउनुभएको छ । 
प्रधानमन्त्री ओलीले आफू सन् २०१९ मा भियतनामको औपचारिक भ्रमणमा रहँदा महासचिव ट्रोङसँग भएको सौहार्दपूर्ण भेट र उक्त अवसरमा विकासका लागि साझा दृष्टिकोण, आपसी समझदारी, नेपाल र भियतनामबीचको बलियो मित्रताका सम्बन्धमा भएको छलफलको स्मरण गर्नुभएको छ ।