NP EN

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीद्वारा भेट 

८ साउन,(२०८१) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको स्मरण गर्नुभयो । 
उहाँले खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।