NP EN

​प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

९ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 
यसैगरी, मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले सौर्य एयरको विमान दुर्घटनाबारे छानविन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ । 
सौर्य एयरको विमान काठमाडौंबाट पोखरा उडेलगत्तै आज बिहान त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेकोमा पाइलट मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको छ ।
विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जानुभई सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन र जानकारी लिनुभएको थियो । साथै, केएमसी अस्पताल जानुभई त्यहाँ उपचार भइरहेका घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो ।
विमान दुर्घटनास्थल अवलोकनपछि  प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलस्थित  नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभएको  छ ।  
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको जानकारी गराउनुभएको छ । 
मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई तोकिएको छ । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।