NP EN

कला, साहित्यका लागि नेपाल  ऊर्बर भूमिः प्रधानमन्त्री ओली

सल्लाहकार परिषद् सदस्य गौतमका तीनकृति लोकार्पण 
१२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल साहित्य, कला, संस्कृतिका लागि ऊर्बर भूमि भएको बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज पार्टी कार्यालय, च्यासलमा लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उद्गम स्थल र ज्ञान विस्तार गरिएको ठाउँ भएको बताउनुभयो ।
‘मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो’, चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– साहित्य, कला, छन्द, लय यसै भूभागमा सिर्जना भएको हो । भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिए । आज त्यो साहित्य माथि उठ्न खोजेको छ । 
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट सङ्खुवासभा निवासी ८१ बर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ लोकार्पण गरिएको थियो । 
लेखक गौतमका कृतिहरू अनुभव, अनुभूति र यथार्थ भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गौतमको लेखनी अघि बढ्दै जाओस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताले विगतको योगदानलाई बिर्सन नमिल्ने बताउनुभयो ।  
उहाँले नेपालको राजनीति र समाज परिवर्तनको सन्दर्भमा थुप्रै अग्रजहरूको योगदानले महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पार्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– ‘विगतका योगदानहरूको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि वडा कठिन भएको छ, हाम्रा अग्रजहरूले, पुराना पुस्ताले दुःख कष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन, किनकि ऊ विगतको दुःख, कष्टपूर्ण सङ्घर्ष र अभावबाट बाहिर छ । 
आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दाखेरी नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको उहाँले बताउनुभयो । उसले नेपाल परिवर्तन गर्न नसकेको मात्र ठान्ने गरेको महासचिव पोखरेलको भनाइ छ । देश कति परिवर्तन भयो भन्ने कुरा पुरानो पुस्ताको भोगाइलाई पढ्दा थाहा हुने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले यति बेला समाजलाई सही बाटो देखाउने अध्येताको खाँचो रहेको बताउनुभयो । अहिले नयाँ पुस्ता कस्तो सांस्कृतिक मान्यताबाट अघि बढ्ने भन्ने अन्यौलताको अवस्थामा रहेको र जटिल मोडमा उभिएको उहाँको धारणा छ । अहिले समाज सामाजिक अराजकतातर्फ प्रवेश गरेको बताउँदै उहाँले यो देशको लागि सबैभन्दा चुनौतीको विषय भएको बताउनुभयो । सामाजिक अराजकतातर्फ प्रवेश गरेको समाजलाई विचार, साहित्य र सिर्जनाको माध्यमबाट मात्रै सही दिशामा ल्याउन सकिने उहाँको धारणा छ । 
आजको नयाँ पुस्तालाई प्रचारवादले प्रभाव पारेको बताउँदै महासचिव पोखरेलले समाजलाई स्वच्छन्दतातर्फ लैजान लागेको धारणा राख्नुभयो । यसले मौलिक सांस्कृतिक मूल्य मान्यतालाई विघटन गरी मनलाग्दी गर्ने अवस्था बन्ने बताउँदै यसबाट समाजलाई जोगाउने दायित्व पुरानो पुस्ताका सामाजिक अगुवाको भएको भनाइ उहाँले राख्नुभयो ।
महासचिव पोखरेलले लेखक गौतम बयोबृद्ध उमेरमा पनि आफ्ना मान्यता र भौतिकवादी दुृष्टिकोणबाट अविचलित हुनुहुन्छ भन्ने कुरा कृतिबाट बुझ्न सकिने बताउँदै उहाँका पुस्तकबाट विगतलाई वर्तमानसँग जोड्न र भविष्यतर्फ डोर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
कृतिहरूमाथि समीक्षात्मक मन्तव्य राख्नुहुँदै नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्ती लागेको बताउँदै सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको धारणा व्यक्त गर्नुभयो । 
लेखक गौतमका पुस्तक एक पटक पढ्ने हो भने हिजो हामी कहाँ थियौं र आज कहाँ आइपुग्यौं भन्ने कुरा सहजै बुझ्न सकिने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले पुस्तकले नेपाल अघि बढेको यात्रा देखाउने बताउनुभयो । 
उहाँले भन्नुभयो– सही ढङ्गले व्यवस्थापन हुन सकेको भए धेरै अगाडि पुग्न सकिने थियो तर पनि केही भएकै छैन भन्ने कुरा गलत हो ।  
मानिसलाई धेरै कुराले विचलित बनाउने बताउँदै उहाँले निष्ठा जोगाउनु सामान्य कुरा नभएको बताउनुभयो । लेखक गौतम निष्ठा र निरन्तरताका प्रतिक भएकोे भनाइ उपमहासचिव ज्ञवालील राख्नुभयो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोराले गौतमका कृतिले नेपालको राजनीतिक र साहित्यिक क्षेत्रमा इटा थप्ने काम गरेको बताउनुभयो । नेता बोहोराले गौतमका पुस्तक नयाँ पुस्तालाई अग्रजहरूको योगदान थाहा पाउन सहयोगी हुनेछन् भन्नुभयो । पुस्तकबारे समीक्षा गर्दै प्राध्यापक रविन्द भट्टराईले गौतम सफल वाङ्मय साधक भएको बताउनुभयो ।