१४ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाबाट प्रभावित भएर धेरै युवा क्रान्तिमा होमिएको बताउनुभयो ।
देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले ओलीले भन्नुभयो– उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र शहीद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई शहीद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।
‘जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीं युवाहरू जोसिनुपर्छ, चम्किनुपर्छ, चर्चा गर्दै प्रधानमन्त्री ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो– उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु ।
युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई प्रदान गरियो । पुरस्कार राशि नगद रु. एक लाख रहेको छ । त्यस्तै, युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा सम्वाददाता नवराज कार्कीलाई प्रदान गरियो । उक्त पुरस्कार नगद रु ४० हजार राशिको रहेको छ ।
सोही समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गर्नुभयो ।