NP EN

बाघ संरक्षण र बृद्धि देशको क्षमताअनुसारः प्रधानमन्त्री ओली 

१४ साउन, (२०८१), ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बाघको सङ्ख्या वृद्धि गर्दा हुनसक्ने मानवीय विनासलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । 
विश्व बाघ दिवस–२०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासँग बाघका विषयमा सम्वाद गर्दै  प्रधानमन्त्री ओलीले वन्यजन्तुको शिकार र चोरीपैठारी रोकेर  देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताउनुभयो । 
सङ्ख्या वृद्धि गर्ने क्रममा सधै दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी बाघको सङ्ख्यामात्रै बृद्धि गर्दा मानवीय विनास निम्त्याउन सक्छ । यस्तो अवस्था आउन दिनु हुँदैन ।
प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका हुँदा उनीहरूका लागि सहज बासस्थान चाहिने उल्लेख गर्दै मानिसले जङ्गली जनावरसँगको द्वन्द्वको परिस्थिति आउन नदिन सचेत भएर लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।
कार्यक्रममा  विभिन्न पाँच विद्यालयका बालबालिकाहरूले राखेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले प्रकृति सबैको साझा भएको र मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो । 
उहाँले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएको हुँदा वैकल्पिक र उपयुुक्त  स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राख्नुभयो । 
वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको  प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने प्रधानमन्त्रीले बताउनुभयो ।  
तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो– प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैंसी चराउन जङ्गलमा जाँदा प्रकृतिसँग रमाउन थालें, त्यसैबेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सवैसँग प्रेम हुन थाल्यो ।